व्यवस्थापिका र विद्यालयलाई जोड्दै न्यु मिलेनियम स्कुल

ललितपुर/१४ भदौ – ललितपुरको सितल हाइटमा रहेको न्यु मिलेनियम स्कुलले विद्यार्थीलाई व्यवस्थापिका अन्तर्गत सङ्घीय संसदको अभ्यास बारे सिकाउने उदेश्यले नमुना सङ्घीय संसद आयोजना गरेको छ ।


भदौ १४ र १५ गते आयोजना हुने उक्त अभ्यासमा विद्यार्थीहरूले राजनीतिक दल खोल्ने, निर्वाचनमा जाने, आफ्नो निर्वाचन क्षेत्रमा गएर भोट माग्ने, विभिन्न विषयमा नीति कसरी बन्छन् छलफल गर्ने लगायत तल्लो सभामा हुने अभ्यासहरू गर्नेछन् ।


विद्यालयका रविन्द्र फुयाँलले पहिलो दिन निर्वाचन सम्बन्धी अभ्यास गर्ने र त्यस अन्तर्गत विद्यार्थीले दल दर्ता गर्ने, आफ्नो निर्वाचन क्षेत्रमा गएर मोट माग्ने लगायतको कार्यतालिका रहेको बताए । त्यसैगरी दोस्रो दिन व्यवस्थापिका अन्तर्गत सङ्घीय संसदको तल्लो सभामा अभ्यास गरिने र त्यसमा नीति कसरी बन्छन्, संसदभित्र प्रस्तुत कसरी हुन्छन्, संसदको मर्यादा र भूमिका के हुन्छ र देशको नेतृत्व कसरी चयन गरिन्छ लगायतका विषयमा अभ्यास गरिने जानकारी दिए ।


कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेकपा एमालेकी सांसद तथा पूर्व शिक्षामन्त्री विद्या भट्टराईले अहिले स्कुलमा पढ्दै गरेका विद्यार्थी, विद्यार्थी मात्रै नभई मुलुकको भोलिका सांसद हुने व्यक्ति भएको उल्लेख गर्दै विद्यालय तहबाटै संसदको अभ्यास हुनुले भोलिको समाज न्यायपूर्ण र समानता मूलक निर्माणको परिकल्पनामा सहयोगी भूमिका हुने बताइन ।


उनले राजनीतिलाई नीतिसँग जोड्ने थलो व्यवस्थापिका रहेको तथा संसद भित्र छलफल र विवादबाटै निचोडमा लगिने विद्यार्थीलाई जानकारी गराइन । संसदीय बैठकले राष्ट्रपतिदेखी जनतासम्म एउटै कानुन बनाउने थलो रहेको उल्लेख गर्दै विद्यालयमा भएका यस्ता अभ्यास महत्वपूर्ण मात्रै नभई यसले व्यवस्थापिका र विद्यालयलाई जोड्ने काम गरेको बताइन ।


विद्यार्थीहरू संसद भवनमै गएर अवलोकन गर्ने गरेको बताउँदै उनले भनिन् “हिजो सम्म विद्यार्थीले हाम्रो राज्य व्यवस्था को हो ? राज्य व्यवस्थाभित्रका प्रणालीहरू के हुन् ? भन्ने कुरालाई किताबमा पढे पनि त्यसरी प्रत्यक्ष भौतिक रूपमा एक अर्कासँग संवाद गर्ने अवसर पाउँदैनथ्यौँ। अहिले संसद भवनमै गएर अवलोकन गर्ने तथा विद्यालयमा हुने यस्ता अभ्यासहरूले एक अर्काबिच भेट गर्ने, आफ्ना विचारहरू आदान प्रदान गर्ने र एक अर्कासँग सिक्नका लागि उत्प्रेरणा प्रदान गरेको छ ।”


न्यु मिलेनिम स्कुलले गरेका यस्ता कार्यक्रमहरूले विद्यार्थीको रचनात्मकता तथा सिर्जनालाई वृद्धि मात्रै नगरी राज्यसँग विद्यार्थीहरूलाई जोड्ने गरेको र जुन कुरा पाठ्यपुस्तकमा मात्रै सीमित थियो, त्यसलाई व्यवहारमा प्रयोग गरेर अगाडी बढ्ने गरेको प्रयत्नको प्रशंसा गरिन ।

विद्यालयका संस्थापक निर्देशक प्रविज्ञ रेग्मीले सामाजिक शिक्षाको महत्वपूर्ण पक्ष रहेकोले ज्ञानसँगै व्यवहारिक शिक्षा सिकाउन यस्ता अभ्यास विद्यालयले गर्दै आएको बताए । उनले अहिलेका विद्यार्थी भविष्यका नेता, बिजनेसका नेता, ज्ञानका नेता भएकाले भोलिका दिनमा जीवनयापन मात्रै नगरी आफूलाई नेतृत्व तहमा उभ्याउनु पर्ने विद्यार्थीलाई सुझाए । विद्यार्थीले कुनै क्षेत्रमा गएर सफल भएर आउँछ भने आफ्ना लागि र विद्यालयका लागि सबै भन्दा ठुलो अवार्ड त्यही भएको उनको भनाई थियो ।