काठमाडौं/२७ जेठ – शिक्षक सेवा आयोगले प्राथमिक तहको रिक्त दरबन्दी विवरण शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आयोगमा नपठाई पहिला मन्त्रालयमा पठाउँदा तत्कालका लागि विज्ञापन रोक्नु परेको जनाएको छ । मन्त्रालयले प्राथमिक तहको दरबन्दी मिलान गर्नुपर्ने भन्दै तत्काल विज्ञापन नगर्न भनेपछि प्राथमिक तहको विज्ञान रोकिएको हो ।
स्रोतले उक्त विवरण मन्त्रालय नपठाई आयोगमा पठाएको भए अहिलेसम्म विज्ञापन गरिसकिने बताएको छ । स्रोतले भन्यो ‘अहिलेसम्म हामीले विज्ञापन गरि सक्थ्यौँ । तर शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हामीलाई रिक्त दरबन्दीको विवरण नपठाई मन्त्रालयमा पठाएपछि रोकियो । अब दरबन्दी मिलान भएपछि मात्रै खुल्छ । कहिले खुल्छ अहिले नै भन्न सकिदैन ।’
यता मन्त्रालयले प्राथमिक तहको दरबन्दी मिलान गर्नुपर्ने अवस्था आएकोले केही समयका लागि रोकिएको बतायो । धेरै समय नरोकिने संकेत गर्दै कम्तीमा एक महिना जति पर धकेलिन सक्ने मन्त्रालयको भनाई छ । तर यति नै समय पछि खुल्छ भन्ने विषयमा आयोग र मन्त्रालय कसैले पनि समय भने एकिन गर्न सकेका छैनन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले मन्त्रालयका पदाधिकारीहरू बसेर दरबन्दी मिलानको रिपोर्टमाथि छलफल गरीरहेको बताउँदै प्राथमिक तहमा २१ हजार दरबन्दी बढी भएको र निमावि तथा माविमा त्यति नै दरबन्दी नपुग भएको निष्कर्ष निकालेको बताए ।
उनले प्राथमिक तहमा दरबन्दी बढी भएको र निमावि माविमा अपुग भएकोले योग्य शिक्षकहरूलाई निमावि र माविमा लैजानुपर्ने उल्लेख गर्दै तत्कालका लागि प्राथमिक तहको विज्ञापन रोकिएको जानकारी दिए ।
स्थानीय निकायहरूले विद्यालय मर्ज गर्ने र दरबन्दी मिलान गर्ने विषयमा अनुरोध गरेकोले, मन्त्रालयले बढी भएका दरबन्दीका योग्य शिक्षकहरूलाई कसरी निमावि र माविमा लैजान सकिन्छ भन्ने विषयमा कानुनी रूपमा मिल्ने गरी काम गरिरहेको बताउँदै दरबन्दी मिलान गरेर मात्रै विज्ञापन गरिने उनको तर्क छ ।
प्राथमिक तहको विज्ञापन रोकिएसँगै शिक्षक सेवा आयोगको तयारी गरिरहेका हजारौँ परीक्षार्थी मर्कामा परेका छन् । उनिहरूले आयोगले निकालेको तालिका अनुसार तयारी गरिरहेको र यसरी विज्ञापन रोकिदाँ अलमलमा पर्नुका साथै समय खेर जाने हो की भन्ने तनाबमा रहेको बताउँछन् ।



