काठमाडौँ /२७ जेठ – त्रिभुवन विश्वविद्यालय, कानून संकाय, डीनको कार्यालयले बीए.एलएल.बी. तहको प्रथम सेमेष्टरमा नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षाको आवेदन फाराम खुला गरेको छ ।
कानून संकाय अन्तर्गतका आंगिक क्याम्पसहरू नेपाल ल क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा १६० सिट, पृथ्वीनारायण क्याम्पस, पोखरामा ८० सिट, बुटवल बहुमुखी क्याम्पस, बुटवलमा ७० सिट, महेन्द्र बहुमुखी क्याम्पस, बाँके, नेपालगन्जमा ७० सिट, महेन्द्र बहुमुखी क्याम्पस, धरानमा ७० सिट र सम्बन्धन प्राप्त नेशनल ल कलेज, ललितपुरमा १२० सिट गरी जम्मा ५७० सिटका लागी आवेदन खुला गरेको हो ।
त्रिभुवन विश्वविद्यालय सेमेष्टर प्रणाली सञ्चालन विनियम, २०७४ अनुसार बीए. एलएल. बी. तहमा सेमेष्टर प्रणालीद्वारा दश सेमेष्टर (५ वर्षे) कार्यक्रम अन्तर्गत प्रथम सेमेष्टरमा भर्ना हुन इच्छुक विद्यार्थीहरूको निमित्त शैक्षिक सत्र २०८२/०८३ का लागि मिति २०८२/३/१ गतेदेखि अनलाईन मार्फत प्रवेश परीक्षाको फाराम भर्न सकिने जनाएको छ ।
यस सम्बन्धी अन्य विस्तृत विवरण यहाँबाट हेर्न सकिन्छ ।
www.fol.edu.np



