शिक्षक दरबन्दी मिलान : प्राविको विज्ञापन तत्काल नखोल्ने संकेत

काठमाडौँ /२५ जेठ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले मन्त्रालयले दरबन्दी मिलानको विषयमा छलफल गरिरहेको बताएका छन् ।


शनिवार एक कार्यक्रममा मन्त्रालयका पदाधिकारीहरू बसेर दरबन्दी मिलानको रिपोर्टमाथि छलफल गरीरहेको बताउँदै प्राथमिक तहमा २१ हजार दरबन्दी बढी भएको र निमावि तथा माविमा त्यति नै दरबन्दी नपुग भएको निष्कर्ष निकालेको बताएका हुन् ।


उनले प्राथमिक तहमा दरबन्दी बढी भएको र निमावि माविमा अपुग भएकोले योग्य शिक्षकहरूलाई निमावि र माविमा लैजानुपर्ने उल्लेख गर्दै तत्काल प्राथमिक तहको विज्ञापन नखोल्ने मनसाय रहेको संकेत गरे ।


स्थानीय निकायहरूले विद्यालय मर्ज गर्ने र दरबन्दी मिलान गर्ने विषयमा अनुरोध गरेकोले, मन्त्रालयले बढी भएका दरबन्दीका योग्य शिक्षकहरूलाई कसरी निमावि र माविमा लैजान सकिन्छ भन्ने विषयमा कानुनी रूपमा मिल्ने गरी काम गरिरहेको बताए ।


उनले भने ‘हामीलाई दरबन्दी मिलानको रिपोर्ट आएको छ । झन्डै २१ हजार दरबन्दी प्राविधिक तहमा बढी छ । तर झन्डै त्यति २०,२१ हजार नै निमावि र माविमा पुगेको छैन । हामीले के गर्यौ भने अब प्राथमिकको दरबन्दी नखोल्ने होला र त्यसो हुँदा खेरि विद्यालयहरू मर्ज गर्ने कुरा र दरबन्दी मिलान गर्ने कुरालाई अगाडी बढाउन खोजिएको छ । त्यो दरबन्दी मिलान गर्दा खेरि जुन दरबन्दी बढी हुन्छ त्यस मध्येका योग्य साथीहरूलाई कसरी निमाविमा लैजाने कसरी माविमा लैजाने त्यो वर्कआउट पनि कानुनी रूपले कति मिलाउन सकिन्छ रु भनेर मन्त्रालयले त्यो वर्कआउट गरिरहेको छ ।’