काठमाडौँ /६ साउन – बङ्गलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणालीको खारेज गर्न माग गर्दै भएको आन्दोलनका कारण समस्यामा परेका नेपाली विद्यार्थीलाई नेपाल ल्याइने भएको छ । अध्ययनमा गएका नेपाली विद्यार्थीहरूले आफूहरू असुरक्षित भएको बताएपछि नेपाल फर्कने व्यवस्था मिलाइएको हो ।
समस्यामा रहेका विद्यार्थी तथा उनीहरूका अभिभावक एवं आफन्तहरूले अनलाइनमार्फत आवेदन दिन सक्ने भएका छन् । परराष्ट्र मन्त्रालयले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि अनलाईन निवेदन दिन सकिने व्यवस्था मिलाएको शनिवार जानकारी गराएको छ । निवेदन नेपालबाट सम्बन्धित परिवारका सदस्यहरूले समेत दिन सक्नेछन् ।
मन्त्रालयले आवश्यक विवरण भरी फाराम सबमिट गरी प्रत्यक्ष सम्पर्क गर्नका निमित्त परराष्ट्र मन्त्रालय, काठमाडौँ शाखाका अधिकृत महेश्वरमणि त्रिपाठी, बङ्गलादेशस्थित नेपाली राजदूतावासका द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्रीलाई सम्पर्क गर्न भनेको छ ।
त्यसैगरी शनिवार नै विद्यार्थीहरूका अभिभावकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समस्यामा परेका विद्यार्थीहरूलाई नेपाल ल्याउन सहयोग गरिदिन आग्रह गरेका छन् । उनिसँगको भेट पछि इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीलाई आज बिहान ४ बजे ढाका एयरपोर्टमा ल्याएर काठमाडौँ आउने प्रबन्ध गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
साथै नेपाल फर्कन चाहाने अन्य विद्यार्थीहरूको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले नेपालस्थित परिवारबाटै अनलाईन फाराम भर्न सकिने सूचना जारी गरिसकेको जनाएका छन् ।



