कोरोनाको त्रासका बीचमा परीक्षा दिँदै विद्यार्थी

काठमाडौं/२८ फागुन–आजदेखि अधिकांश निजी तथा सामूदायिक विद्यालयहरुमा कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सुरु भएको छ ।
चैतको पहिलो र दोस्रो हप्तामा वार्षिक परीक्षा सञ्चालन गर्ने तयारीमा रहेका विद्यालयहरुले परीक्षा मिति अघि सारी परीक्षा सञ्चालन गरेका हुन् । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ५ गते भित्र परीक्षा सक्न निर्देशन दिएसँगै विद्यालयहरुले परीक्षा मिति सारेका हुन् । कति विद्यालयहरुले कोर्ष नै नसकिएको अवस्थामा परीक्षा सञ्चालन गरिरहेका छन् भने कति विद्यालयले शनिबार समेत परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेका छन् ।
विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको प्रतिवेदन सार्वजनिक गरेसँग अहिले मानिसहरुमा कोरोनाको सन्त्रास फैलिएको छ । यदापि, नेपालमा अहिले सम्म कसैलाई संक्रमण भने भईसकेको छैन । तरपनि मानिसहरुमा एक किसिमको डर र सन्त्रास भने छँदैछ । यस्तो सन्त्रासको बीचमा परीक्षा गराउँदा विद्यार्थीहरुको मनोविज्ञानमा असर परेको एन–प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाको भनाई छ । मन्त्रालयले विद्यार्थीहरुको मनस्थिति नबुझि परीक्षा सक्ने ध्यये राखी परीक्षा मिति अगाडि सार्नु अव्यवहारिक भएको बताउँदै उनले भने, “यस्तो अनुचित परिस्थितिमा परीक्षा स्थगित गरी केही समय पछि मात्र सञ्चालन गर्नुपथ्यो ।” हामीले सरकारसँग यस्तो माग गरेको भएपनि सरकारले वेवस्ता गरेको उनको आरोप छ । यस्तो भयपूर्ण वातावरणमा परीक्षा दिँदा विद्यार्थीहरुको मनोविज्ञान र परीक्षा दुवैलाई असर परेको उनको भनाई छ ।
परीक्षाको मिति अगाडि सार्दा परीक्षा व्यवस्थापनमा कुनै समस्या नभएपनि त्रासका बीच विद्यार्थीहरुले परीक्षा दिई रहेका छन् । प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोपाल आचार्यले विद्यार्थीहरुमा कोरोनाको त्रास भईरहेको बेला परीक्षा मिति पनि अगाडि सर्दा मानसिक असर परेको बताए । जनस्वास्थ्यलाई ख्यालमा राखी सरकारले गरेको निर्णय राम्रो भएपनि परीक्षाका लागि भनि विद्यार्थीहरु जुन रुपमा तयार हुुनुुपर्ने थियो । त्यसरी तयार हुन नसकेको उनको भनाई छ ।
चैतको पहिलो/दोस्रो साताबाट सुरु हुने परीक्षा फागुनको अन्तिम सातामा हुँदा विद्यार्थीहरुले आवश्यक तयारी गर्न नपाउँदा विद्यार्थीहरुमा परीक्षाको प्रेसर बढी पर्छ । त्रिविका मनोविज्ञान प्रोफेसर शिशिर सुुब्बाले त्रासका बीचमा परीक्षा हुँदा विद्यार्थीहरुको मनोविज्ञानमा असर पर्ने भएकाले विद्यालयहरुले विद्यार्थीलाई सचेत गराउनुु पर्ने बताए । ६० वर्ष भन्दा माथिका मानिसहरुमा संक्रमण हुने सम्भावना बढी भएकाले बालबालिका डराउनुु पर्ने अवस्था नरहेको भएपनि सतर्कता भने अपनाउनु पर्ने उनको भनाई छ ।
परीक्षा भयरहित भएर दिनुुपर्छ । तर, भाइरसको त्रास एकातिर र अर्कोतिर छिटै परीक्षा दिनुुपर्दा विद्यार्थीहरुको मनोविज्ञानमा असर पारेको छ । तयारीको अभाव र त्रास पूर्ण वातावरणका बीच विद्यार्थीहरुले परीक्षामा के लेख्छन् ? यसले उनीहरुको परीक्षालाई प्रभाव पार्छ । निजी विद्यालयका छाता संगठन प्याब्सन र एन–प्याब्सनले यस्तो भयपूर्ण अवस्थामा परीक्षा सञ्चालन नगरी केही समयपछि गर्न सरकारलाई आग्रह समेत गरेको भएपनि मन्त्रालयले महामारीको रुप नलिएको भन्दै परीक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो । तर, भयपूर्ण वातावरणमा परीक्षा हुँदा बाल मनोविज्ञानमा असर परेको धेरैको बुुझाइ छ ।
मन्त्रालयले स्थानीय तहले लिने कक्षा ५ र ८ को जिल्लास्तरीय परीक्षाका लागि भने परीक्षा केन्द्र निर्धारण नगरी आ–आफ्नै विद्यालयमा परीक्षा लिने पाउने व्यवस्था गरेको थियो । जस अनुसार अधिकांश विद्यालयहरुले आ–आफ्नै विद्यालयमा परीक्षा सञ्चालन गरेका छन् ।
यस्तै, चैत ६ गतेबाट माध्यमिक तह कक्षा १० (एसईई) काे परीक्षा हुँदैछ । कोरोनाको त्रासकै बीचमा हुन लागेको एसईई परीक्षाले पनि विद्यार्थीको मनोविज्ञानलाई असर परेकाे छ । यस्तो अवस्थामा विद्यालयहरुले विद्यार्थीहरुलाई सही र उचित परामर्श दिने काम गर्नुपर्छ । हल्लाका पछि नलागी सावधानी अपनाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न विद्यालयले तत्परता देखाउन आवश्यक छ । भाइरसको प्रभाव विद्यार्थीको परीक्षामा नपरोस् । परीक्षा दिने सम्पूर्ण विद्यार्थीलाई भयरहित भई परीक्षा दि ई राम्रो गर्नुहोस् शुभकामना ।