काठमाडौं/११ असार-राष्ट्रिय परीक्षाबोर्डले एसईई २०७९ को नतिजा २०८० असार तेस्रो साता प्रकाशन गर्ने समाचार सार्वजनिक भएसँगै जोडिएर आएको अर्को समाचार हो, नयाँ अथवा पुरानो कुन ग्रेडिङ पद्दति अपनाउने भन्ने टुङ्गो नलागेको विषय । सरसर्ती हेर्दा सामान्य लागे पनि नतिजा प्रकाशन पूर्व यसबाट विद्यार्थीहरुमा परिरहेको मनोवैज्ञानिक असर र कथंकदाचित नयाँ पद्दति अपनाइयो भने त्यसले विद्यार्थीहरुको पढाई र जीवनमा पार्ने दूरगामी असरलाई समेत केलाउन जरुरी छ ।
राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङकन परिषदले पहिलो चोटी २०७२ मङसिर २३ मा अक्षराङ्कन पद्धति कायान्वयन कायविधि, २०७२ जारी भई लागू भएको र पटक–पटक परिमार्जन हुँदै आएको अक्षराङ्कन अर्थात लेटर ग्रेडिङ पद्दति आफैंमा अस्थिर र विवादस्पद रहँदै आएको सबैलाई विदितै छ । यसै बिच राष्ट्रिय शिक्षानीति, २०७६ अनुरुप विद्यालय शिक्षाको राष्ट्रिय पाठयक्रम प्रारूप, २०७६ (नयाँ पाठ्यक्रम) को कार्यान्वयनसँगै शिक्षामा निर्माणात्मक तथा निर्णयात्मक मल्याङकन प्रणालीको पूनरावलोकन गरी सुधार गर्ने क्रममा लेटर ग्रेडिङ निर्देशिका, २०७८ जारी भएको देखिन्छ ।
स्मरणीय छ, एसईई २०७९ का विद्यार्थीहरुले पुरानै पाठ्यक्रम अनुसार आफ्नो अध्ययन पूरा गरेका हुन् र उनीहरुको एसईईको प्रश्नपत्र पनि पुरानै पाठ्यक्रम र विशिष्टिकरण तालिका अनुसार तयार पारिएको हो । त्यसैले उनीहरुको नतिजापनि पुरानै लेटर ग्रेडिङ पद्दती अनुसार हुनेमा दुईमत नहुनु पर्ने हो, तर पाठ्यक्रम विकास केन्द्र र परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको एसईई २०७८ को नतिजा समेत नयाँ पद्दती अनुसार हुने जानकारी दिई नतिजा प्रकाशनको अघिल्लो दिन मात्र पुरानै अक्षराङ्कन पद्दती अनुसार हुने निर्णय गरेको हुँदा यो साल पनि अन्योल सिर्जना भएको हो । गत साल यसबाट थुप्रै खालका त्रास, आशंका, अन्योल, हल्ला र विवाद समेत पैदा भएको थियो । तसर्थ, एसईई २०७९ को नतिजा किन पुरानै गे्रडिङ पद्दति जारी गर्नुपर्दछ, मनन गरौं :
१. पाठ्यक्रम अनुसारकै ग्रेडिङपद्दति निर्बिकल्प :
एसईई २०७९ को पूरै पढाई पुरानै पाठ्यक्रम अनुसार भएको हुँदायसको मूल्यांकन पनि त्यही पाठ्यक्रमका लागि बनाइएको पुरानै लेटर ग्रेडिङ पद्दति अनुसार हुन जरुरी छ । नत्र अभ्यास चाहिँ वर्ष भरी क्रिकेटको गराउने तर विजेता छान्ने बेलामा चाहिँ “कतिगोल हाने?” भनेर फूटबलको पद्दतिमा हेर्न खाजेजस्तो हुन जान्छ । तसर्थ, एसईई २०७९ को नतिजामा पुरानै ग्रेडिङ पद्दतिको अरु कुनै बिकल्प छैन ।
२. नयाँ ग्रेडिङ पद्दति नयाँ पाठ्यक्रमकै लागि बनाइएको हो :
नयाँ लेटर ग्रेडिङ निर्देशिका, २०७८पहिलो पटक २०७८पौष ७गते जारी हुँदा त्यसको परिच्छेद १ को १ (३) मा“यस निर्देशिकाको प्रावधान देशभरका विद्यालयमा राष्ट्रिय पाठयव्रmम प्रारूप, २०७६ बमोजिमका पाठयव्रmमको कार्यान्वयनसँगै लागु हुनेछ ।” भनेर स्पष्ट रुपमा लेखिएको थियो । तर कार्यान्वयन अगावै २०७८ फागुन १८मा पहिलो संशोधन हुँदा परिच्छेद १ को १ (३) को उक्त बुँदामा खाली स्पेस मात्र राखिएको थियो । यो संशोधन थियो कि थिएन, वा कस्तो खालको र के भन्न खोजिएको थियो, स्पष्ट थिएन । तर सायद यसैका आधारमा एसईई २०७८ को नतिजा समेत नयाँ पद्दती अनुसार हुने जानकारी सम्बन्धित निकायबाट सर्कुलर गरिएको थियो, जुन अन्तिम घडीमा रद्द भयो । तसर्थ, नयाँ ग्रेडिङ पद्दति नयाँ पाठ्यक्रमकै लागि निर्माण गरिएको हुँदा एसईई २०७९ को नतिजामा यसको प्रयोग गरिए सर्वथाअनुचित र अनुपयुक्त हुनेछ ।

३.परीक्षाको लागि निर्धारित समय र उत्तीर्णाङ्कमा ठूलो भिन्नता :
एसईई २०७९ का विद्यार्थीहरुले परीक्षा दिँदा पुरानो पाठ्यक्रमको लागिजारी गरिएको विशिष्टिकरण तालिका अनुसार सैद्धान्तिक परीक्षाको समय १०० पूर्णाङ्कको लागि३ घण्टा र ७५ पूर्णाङ्कको लागि २ घण्टा १५ मिनेट समय पाए । तर नयाँ पाठ्यक्रमको लागि अहिले भर्खर जारी हुँदै गरेको विशिष्टिकरण तालिका (सबै विषयको आईसकेको समेत छैन) ले ७५ पूर्णाङ्कको लागि ३ घण्टा र १०० पूर्णाङ्कको लागि ४ घण्टा समय निर्धारण गरेको छ । परीक्षादिने विद्यार्थीहरुकालागि यो धेरै ठूलो अन्तर हो किनकी उनीहरुलाई मिनेट र सेकेण्डको पनि ठूलो महत्व हुन्छ ।
त्यसैगरी पुरानो ग्रेडिङ पद्दति अनुसार उत्तीर्णाङ्क अर्थात कक्षा ११ मा पढ्न पाउने गरी ग्रेड प्राप्तगर्न सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको अंक जोडेर डी प्लस अर्थात जम्मा ३० प्रतिशत अंकल्याए पुग्थ्यो भने नयाँ पद्दतिमा सैद्धान्तिकमा छुट्टै ३५ प्रतिशत र प्रयोगात्मकमा छुट्टै ४० प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान बनाएको छ । तसर्थ कम समयमा पुरानो मोडेल अनुसार परीक्षादिएर बढि समय छुट्टयाइएको नयाँ ग्रेडिङ पद्दति अनुसारको उत्तीर्णाङ्क निर्धारण गर्नु भनेको विद्यार्थीहरु माथिको राज्यले दिएको एक धोका मात्र नभएर अपराध पनि हो किनकी यसैको कारणबाट हजारौं–लाखौं विद्यार्थीहरुको शिक्षाको यात्रा समाप्तहुनेछ र उनीहरु अशिक्षित, अयोग्य र अदक्षनागरिक बन्नुमास्वयं राज्यजिम्मेवार हुनेछ ।
४. सिकाईको स्खलन र अपेक्षा :
स्मरणीय छ, एसईई २०७९ मा सहभागि विद्यार्थीहरु कक्षा ८ को अन्तमा हुँदा विश्वव्यापी कोरोना महामारी फैलिएको थियो । महामारीको कारण भएको पहिलो लकडाउनकै अवधिमा केही बैकल्पिक माध्यमको भर्चुअल, अनलाईन, आदि कक्षाहरुको अनुभवसहित उनीहरुको कक्षा ८ को अन्तिम परीक्षा अर्थात आधारभूत तह उत्तीर्ण परीक्षा वा बिएलई सकियो । तत्पश्चात छोटो समयको भौतिक कक्षाको अनुभवपछि भएको दोस्रो चरणको लकडाउनमै उनीहरुको कक्षा ९ को अन्तिम परीक्षा पनि सकिएको थियो । यस हिसाबले करीब दुई वर्ष उनीहरुको पढाई र परीक्षा नाम मात्रको भयो जसबाट उनीहरुको सिकाई नराम्रोसँग स्खलित हुनपुग्यो । हरेक तहका शिक्षक–शिक्षिकाहरुलाई थाह छ, कोरोना कालमा भएको सिकाई स्खलनको प्रभावकति धेरै भयावह छ भनेर । त्यससँगै उनीहरुले आफूभन्दा ठूला दुई ब्याच बिना परीक्षा उत्तीर्ण भएको पनि देखे । तसर्थ, चरम सिकाई स्खलनको बीचमा संघर्षरत पुरानो पाठ्यक्रम अन्र्गतको अन्तिम ब्याचका यी विद्यार्थीहरुलाई हतारमा के के न बित्ला जसरी नयाँ पाठ्यक्रमको लागि तयार पारीएको ग्रेडिङ पद्दतिको आधारमा नतिजा निकाल्नु कुनै पनि दृष्टिकोणबाट जायज र सही देखिंदैन ।
सुरुवातमै “कोही फेल नहुने र नपढे पनिपास हुने”भन्ने अर्थसहित शिक्षा सुधार्ने जादूको छडीको रुपमा ल्याइएको लेटर ग्रडिङ पद्दतीले विगत ८ वर्षसम्म शिक्षाको गुणस्तर ध्वस्त बनाउन ठूलो भूमिका खेलेको सबैलाई विदितै छ । फलस्वरुप यसले आजको समयमा समाजमा “कम नम्बर ल्याउने विद्यार्थी फेल हुन्छन्” भन्ने शास्वत तथ्य समेत नपत्याउने विद्यार्थी र अभिभावकहरु समित सिर्जित ग¥यो । त्यसैगरी केही निश्चित विषयहरुमा मात्रै राम्रो ग्रेड ल्याएमा पनि त्यस्ता विद्यार्थीहरुलाई त्यस क्षेत्र र विधाको उच्चशिक्षा लिनबाट बञ्चित नगराइने लेटर ग्रडिङ पद्दतीको विश्वव्यापी दर्शनलाई पनि नयाँ ग्रेडिङ पद्दतीले लत्याएको देखिन्छ । तसर्थ, नयाँ ग्रेडिङ पद्दतीलाई एसईई २०७९ मा जबरजस्ती लादेर विध्वंशक नतिजा निकाल्नु भन्दा नयाँ पाठ्यक्रमको मर्म अनुसार लागू गर्दै जानु नै श्रयस्कर हुने देखिन्छ ।
(लेखक लामा शिक्षाकर्मी तथा नेपालमा एमआई पिबिएल पद्दतिका प्रवर्तक हुन् ।)



