शिक्षक कर्मचारीको तलव अविलम्व निकासा गराउन नेपाल शिक्षक महासंघले आग्रह

काठमाडौं/४ पुस-विभिन्न पालिकाले शिक्षक कर्मचारीको तलव निकासा नगराए पछि तलव–भत्ता अविलम्व निकासा गराउन नेपाल शिक्षक महासंघले आग्रह गरेको छ । नगर तथा गाउँ परिषद् नभएका नाममा श्रावण महिना देखि कार्यरत शिक्षक कर्मचारीको तलव निकासा नगरिएकोले अविलम्व निकासा गराउन महासंघले आग्रह गरेको हो ।


नेपाल शिक्षक महासंघले आज एक विज्ञप्ति जारी गर्दै साउन देखि रोकिएको शिक्षक कर्मचारीहरुको तलव–भत्ता अविलम्व प्राप्त हुने व्यवस्था गर्न तथा आगामी दिनमा यस्तो अवस्था दोहोरिन नदिन आवश्यक कानुनी एवम् नीतिगत प्रबन्ध मिलाउन नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायत सबै सम्बन्धित निकायलाई आग्रह गरेको छ ।


विज्ञप्तिमा भनिएको छ “नगर तथा गाउँ परिषद् नभएका नाममा २०७९ श्रावण महिना देखि कार्यरत शिक्षक कर्मचारीको तलव निकासा नगरिएको कारण त्यहाँ कार्यरत शिक्षक कर्मचारी आन्दोलित भएको विषय प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हरेक महिना नियमितरुपमा तलव पाउनु पर्ने शिक्षक–कर्मचारीको महिनौंको तलव भत्ता रोकिनु सम्बन्धित पालिकाको नेतृत्वको अक्षमता हो भन्ने कुरा जग जाहेर छ । यस घटनाले विद्यालय शिक्षालाई सविधानको अनुसूची–८(पालिकाको एकल अधिकार) मा राख्ने प्रबन्ध वेठिक छ भनी शिक्षकका पेसागत संस्थाहरुबाट निरन्तर उठाइएको मुद्दाको औचित्य थप पुष्टि गरेको छ ।”


साथै गाउँ/नगर परिषद हुनु/नहुनु एउटा पेशाकर्मी शिक्षक–कर्मचारीको सरोकारको विषय नभएको भन्दै समयमै तलव–भत्ता निकासा नभए यस ज्यादतीको विरुद्घ नेपाल शिक्षक महासङ्घ विरोधका सशक्त कार्यक्रम लिएर अघि बढ्न बाध्य हुने समेत चेतावनी दिएको छ ।