ललितपुर/२३ मंसिर-ललितपुरको नख्खु अवस्थित सुदेशा माध्यमिक विद्यालय विद्यार्थीको परियोजना कार्य प्रदर्शन कार्यक्रम गत बुधबार सम्पन्न गरेको छ । सो कुराको प्रयोग कसरी गरिएको छ ? बालबालिकाको सिकाइमा यसले कसरी सहजीकरण गर्छ ? र पाठ्यक्रममा आधारित रहेर सिकाइ वा क्रियाकलापलाई कसरी जीवनोपयोगी बनाउँदै मूर्त रुप दिन सकिन्छ भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।
अभिभावक, शिक्षक, प्रधानाध्यापक साथै केही विज्ञ समेतको उपस्थिति रहेको उक्त परियोजनामा कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरुको सहभागि रहेको थियो । विद्यालयले हरेक त्रैमासिकमा भिन्न भिन्न शिर्षकमा सबै विषयसँग सम्बन्धीत परियोजना कार्यहरूमा केन्द्रित रहेर विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिई क्रियाकलापमा आधारित प्रयोगात्मक सिकाईको सिद्धान्त अवलम्वन गर्दै आएको छ ।
आफैँले अनुभव गरेर, भोगेर वा कुनै कार्य गरेर सिकेको सिकाइ अरुले भनेर सुनेको भन्दा प्रभावकारी र दिगो हुन्छ भन्ने मान्यतामा आधारित भई परियोजना कार्य मार्फत विद्यार्थीलाई विषयवस्तु सिकाउनु आजको आवश्यकता भएको विद्यालयले जनाएको छ ।

यस अन्तर्गत विद्यार्थीलाई सिकाइमा समान सक्रिय सहभागिता गराउने एउटा उद्देश्यपूर्ण क्रियाकलाप हो जसमा विद्यार्थीको मानसिक र शारीरिक दुवै किसिमका क्रियाकलाप संलग्न हुन्छन् र बालबालिकाहरू वास्तविक र अनुभव जन्य सिकाइका लागि उत्प्रेरित भई कार्य गर्दछन् ।
परम्परागत कक्षाकोठाको शिक्षण भन्दा एक्काइसौँ शताब्दीका सिकाइ सिपहरु जस्तै : समालोचनात्मक सोचाइ, समस्या समाधान, सहकार्यात्मक सिप, सञ्चार सिप, व्यवहार कुशल सिपहरू, सिर्जनात्मक सिपहरू आदिमा परियोजना कार्यले महत्त्वपूर्ण भूमिका खेल्दछ । यसको प्रदर्शन र समुचित मूल्याङ्कन पनि उत्तिकै महत्त्वपूर्ण रहन्छ ।
परियोजना कार्य प्रदर्शनको औचित्य :
१. विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालयमा कस्ता आयामहरू प्रयोग गरिएका छन् भन्ने प्रस्तुत गर्न,
२. यही त्रैमासिकका परियोजना कार्यहरूलाई एकीकृत गरी विद्यार्थीहरूले निरन्तर गरिरहेका कामहरू अभिभावक र शुभचिन्तकसम्म पुर्याउँदै थप रचनात्मक र सुधारात्मक पृष्ठपोषणका लागि,
३. स्टेम एजुकेसनमा आधारित सिकाइका क्रियाकलापलाई प्रत्यक्ष रुपमा वास्तविक वस्तुहरुको निर्माण गरेर दैनिक जीवनमा कहाँ,कसरी जोडेर प्रयोग गरी मूर्त रुप दिन सकिन्छ भन्ने जानकारी दिन,
४. पाठ्यक्रमका हरेक विषयमा विविध क्षेत्रसँग सम्बन्धित सिकाइका कार्यकलाप सञ्चालन गरी व्यावहारिक बनाउन सकिन्छ भन्ने कुरा दर्शाउन,
५. विद्यालय,शिक्षक,विद्यार्थी र अभिभावकबिचको सम्बन्धलाई सुमधुर बनाउँदै विद्यालयका नियमित क्रियाकलापबारे अवगत गराउन,
६. एक्काइसौँ शताब्दीका सिकाइ सिपहरु जस्तैस् समालोचनात्मक सोचाइ,समस्या समाधान, सहकार्यात्मक सिप, सञ्चार सिप, व्यवहार कुशल सिपहरू,सिर्जनात्मक सिपहरू सिकेर कसरी आफूलाई सवल र सक्षम नागरिक नागरिक बनाउँदै छन् भन्ने कुरामा ध्यान केन्द्रित गर्न,

आजको शिक्षा व्यावहारिक र दैनिक जीवनको समस्या समाधान गर्न सक्ने हुनुपर्छ । गुणस्तरीय शिक्षा त्यसलाई मान्न सकिन्छ जसले सिकाइलाई जीवन,जगत ,प्रकृति र विश्वलाई जोडेर सोच्न सक्ने क्षमता विकास गर्ने व्यावहारिक हुन्छ । परियोजनामा आधारित सिकाइ अभ्यासले विद्यालयका सम्पूर्ण कक्षाकोठा सिकाइका वास्तविक प्रयोगशालाका रुपमा विकास हुने निश्चित छ तसर्थ सुदेशा विद्यालयले यसका लागि निरन्तर जोड दिँदै र अभ्यास गर्दै आइरहेको छ ।
योसँगै सुदेशा माध्यमिक विद्यालयले काठमाडौँ विश्वविद्यालयसंग शिक्षकको पेशागत क्षमता अभिबृद्धि गर्न केहि समयदेखि सहकार्य गर्दै आएको छ ।
(यो समाचार खबर एजुकेशनका लागि सुदेशा माध्यमिक विद्यालयले तयार पारेको हो ।)



