काठमाडौं/२३ मंसिर-काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन संकायले कर्मचारीहरूको लागि दश दिने एक्सेल कार्यशाला सम्पन्न भएको छ । हातिवन स्थित स्कूलको सिएलइसी ल्याबमा दश दिने एक्सेल कार्यशाला सञ्चालन भएको हो ।
कार्यशाला नोराड–रुपान्तरणको सहयोगमा नेपाल खुला विश्वविद्यालयमा कार्यरत निर्मलमणि बज्राचार्यको नेतृत्वमा सम्पन्न भएको छ । उक्त कार्यशालामा २० जना कर्मचारीहरूको सहभागी रहेको थियो ।
पाठ्यक्रम रूपरेखा बाट सुरु भएको कार्यशाला पूर्णतया प्रयोगात्मक क्रियाकलापमा आधारित थियो । त्यसैगरी प्रशिक्षकले कार्यपुस्तिका खोल्ने, फाइल ट्याब खोज्ने, स्टेटस बारसँग काम गर्ने र खोलिएको कार्यपुस्तिकाहरू बीच स्विच गर्ने जस्ता आधारभूत सीपहरूसहित पाठ्यक्रमहरू सुरु गरिएको थियो ।
सहभागीहरू डेटा प्रविष्ट गर्ने र सूत्रहरूसँग धेरै परिचित भएकाले कार्यशालाको अर्को सत्र स्थिर मानहरू र सूत्रहरू, ढाँचा कार्यपत्रहरू, ढाँचा परिवर्तन, कक्ष सामग्रीहरू, हालको डेटा, कार्यपुस्तिका सम्पादन आदिको साथ सम्पन्न भयो ।
कार्यशालाको अन्तिम सत्रमा काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशनका डीन प्राध्यापक डा.बालचन्द्र लुँइटेलको प्रमुख आतिथ्यमा प्रशिक्षक बज्राचार्यलाई मायाको चिनो र सहभागीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम सहित कार्यशाला सम्पन्न भएको थियो ।



