काठमाडौं/३० कार्तिक-नेपाल कमर्स क्याम्पस मिनभवनका क्याम्पस प्रमुख ध्रुवप्रसाद सिलवाललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) को तर्फबाट काठमाण्डौं जिल्ला प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १ का उम्मेदवार किरण पौडेलको प्रचारप्रसारमा सहभागी भएको श्रव्यदृश्य सामग्री समेत संलग्न गरी उजुरी परेको सन्दर्भमा बुधबार क्याम्पस प्रमुख सिलवाललाई स्पष्टीकरण सोधिएको हो ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १०, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा “कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने” र ऐ. दफाको खण्ड (ज) मा “सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने” व्यवस्था छ ।



