काठमाडौं/२४ कार्तिक-रुब्रिक्स विद्यार्थीको सिकाइलाई मूल्याङ्कन गर्ने प्रभावकारी साधन हो । रुब्रिक्सद्वारा विद्यार्थीको सिकाइस्तर कुन तहको छ भनेर पत्ता लगाउन सजिलो हुन्छ । विद्यार्थीहरू स्वयंले पनि रुब्रिक्सको प्रयोग गरेर आफ्नो क्षमता पत्ता लगाउन सक्छन् । रुब्रिक्समा आधार, अङ्कनको तह र सूचक गरी तीन अङ्गहरू रहेका हुन्छन् । आधारले कुनै पनि विषयसँग सम्बन्धित मुख्य सिकाइ उपलब्धिलाई समेट्दछ ।
अङ्कनको तहले कुन तहको सिकाइ उपलब्धि हासिल गर्दा कति अङ्क प्राप्त गर्ने भन्ने बारेमा स्पष्ट पार्दछ, जस्तै : उत्कृष्ट तहको सिकाइ उपलब्धि हासिल गर्नेले ५ अङ्क प्राप्त गर्दछ । त्यसैगरी विद्यार्थीले प्राप्त गरेको सिकाइ उपलब्धिको आधारमा अङ्क निर्धारण गरिन्छ । सूचक आधार वा तह जनाउन प्रयोग गरिन्छ । सूचक बुझिने, मापनीय र वस्तुनिष्ठ हुन्छ । विद्यार्थीले उत्कृष्टदेखि कमजोरसम्म रहेका अङ्क प्राप्त गर्नको लागि रुब्रिक्समा राखिएका सूचकहरू पूरा गर्नुपर्दछ । जस्तै : १ अङ्क ल्याउने विद्यार्थी कमजोर हुन्छ र उसले मुख्य सिकाइ उपलब्धि हासिल गर्न सक्दैन भन्ने कुरा सूचकले प्रस्ट पार्दछ । निर्णयात्मक र निर्माणत्मक दुवै मूल्याङ्कनका लागि महत्वपूर्ण रहेको रुब्रिक्सको प्रयोगद्वारा शिक्षण सिकाइमा अपेक्षित सुधार गर्न निकै सहज हुन्छ ।
रुब्रिक्सको आधारमा विद्यार्थीले पृष्ठपोषण प्राप्त गरी आफ्नो सिकाइमा आफै सुधार ल्याउन सक्दछन् । मूल्याङ्कनमा पारदर्शिता पनि हुने भएकाले शिक्षण सिकाइ उपलब्धिमूलक बन्दछ । तसर्थ, रुब्रिक्स विद्यार्थीको सिकाइ जाँच्ने भरपर्दो र आधिकारिक साधन हो । यसले विद्यार्थीको सिकाइको सही लेखाजोखा गर्छ । उनीहरूलाई सिकाइप्रति उत्सुक र जागरूक बनाउन मदत गर्दछ । प्रयोग गर्न सकेमा शिक्षा क्षेत्रमा सिकाइ सुधारका लागि रुब्रिक्स वरदान सावित हुन सक्दछ ।
रुब्रिक्सको नमुना :
कक्षा : ९, विषय : नेपाली, पाठ : एक (१)
पाठशीर्षक : दुई मितको कथा, विधा : कथा अनुमानित घण्टी : १०
अपेक्षित सिप विकास : भाषिक सिप (सुनाइ, बोलाइ, पढाइ, लेखाइ), शब्दभण्डार वृद्धि, सिर्जनात्मक क्षमता आदि ।


यो कक्षा ९ को नेपाली विषयको पाठ एकमा रहेको दुई मितको कथा शिक्षण गर्ने क्रममा बनाइएको रुब्रिक्स हो । रुब्रिक्स बनाउनका लागि सबैभन्दा पहिले शिक्षक आफूले अध्यापन गर्ने विषयमा दक्ष हुनुपर्दछ । शिक्षकले पाठ्यक्रम, निर्देशिका र पाठ्यपुस्तकको राम्रो अध्ययन गर्नुपर्दछ । पाठ्यक्रममा खेल्न जानेका शिक्षकका लागि रुब्रिक्स बनाउन कुनै अप्ठेरो पर्दैन । तर शिक्षण भनेको पेशा मात्र हो, आफूलाई तोकिएको विषय पढाएर घर फर्कनु हो र जागिर पकाउनु हो भनेर सोच्नेहरूका लागि भने रुब्रिक्स निर्माण गर्न सहज हुँदैन ।
समय बदलिँदो छ । हिजो हामीले अध्ययन गरेको जसरी अध्यापन गर्न थाल्यौँ भने हामीले शिक्षण सिकाइमा सुधार गर्न सक्दैनौँ । शिक्षण सिकाइमा सुधार गर्न कक्षाकोठालाई बालमैत्री र प्रविधिमैत्री बनाउनुपर्छ । आजका बालबालिका प्रविधिमा निकै अगाडि छन् । उनीहरू प्रविधिमा रमाउन खोज्छन् । शिक्षकले आफ्नो अध्यापन कार्यमा सन्तुष्ट रहनका लागि समयअनुसार परिवर्तित र परिष्कृत भएर कक्षाकोठामा उपस्थित हुन जरुरी छ । कक्षाकोठामा जतिसक्दो विद्यार्थीलाई सक्रिय बनाउनुपर्दछ । एकोहोरो रूपमा व्याख्यान विधि अपनाएर शिक्षण गर्न खोज्ने शिक्षकमैत्री परिपाटी भत्काउनुपर्दछ । शिक्षकले आफू एक सहजकर्ता भएको आभास विद्यार्थीहरूलाई दिलाई उनीहरूसँग घुलमिल हुनुपर्दछ । अनि मात्र शिक्षण सिकाइमा विस्तारै उपलब्धि बढ्दै जान्छ ।
साथै, रुब्रिक्सम्बन्धी जानकारी नभएका शिक्षकहरूका लागि स्थानीय तहमा रहेका शिक्षा शाखाहरूले तालिमको व्यवस्था गर्नुपर्दछ । शिक्षकले रुब्रिक्स प्रयोग गरेर अध्यापन गर्यो भने कक्षाकोठामा विद्यार्थीहरूको सक्रियता बढ्छ । विद्यार्थी सक्रिय भएर अध्ययन गर्नु भनेको शिक्षण सिकाइ उपलब्धिमा परिवर्तन हुनु हो ।
(सरस्वती सरस विगत आठ वर्षदेखि शिक्षण पेशामा आबद्ध हुनुहुन्छ ।)



