विश्व शिक्षक दिवस : शिक्षक र शिक्षाको एक समिक्षा

चितवन /२१ असोज -विश्व शिक्षक दिवसको उद्देश्य संसारका शिक्षकहरूको प्रशंसा, मूल्याङ्कन र सुधारमा ध्यान केन्द्रित गर्नु र शिक्षक र शिक्षणसँग सम्बन्धित मुद्दाहरू वहस गर्ने अवसर प्रदान गर्नु हो । UNESCO, EI, UNICEF, UNDP, ILO आदि विभिन्न संस्थाहरूले यो लक्ष्य हासिल गर्न अभियान र सम्मेलनहरू आयोजना गर्छन् । विश्वका एक सय भन्दा बढी देशहरूले विश्व शिक्षक दिवस मनाउँछन् । विश्व शिक्षक दिवस शिक्षण पेशालाई प्रवर्द्धन गर्ने अवसर हो । UNESCO ले प्रत्येक दुई वर्षमा विश्व शिक्षक दिवसको अवसरमा उत्कृष्ट शिक्षकहरूका लागि अमेरिकी डलर तीन लाख राशीको हमदान बिन रसिद अल पुरस्कार प्रदान गर्दछ । यस वर्ष पेरिसमा विश्व शिक्षक दिवस मनाईने कार्यक्रम रहेको छ ।


UNESCO ले हरेक वर्ष यो दिवसको लागि एक थिम छुट्याउँछ । यस वर्षको नारा – ‘ शिक्षाको रूपान्तरण शिक्षकबाट सुरु हुन्छ’ भन्ने शिर्षकको छ । जोन डीवेले भनेका छन् – “ तपाईले हिजो पाढाएको शैलीले भोलिको भविष्यको विद्यार्थीलाई पढाउँन सक्नु हुन्न ” । विश्व तीव्र गतिमा अगाडि बढ्दै जाँदा शिक्षाको मोडल परम्परागत शिक्षणबाट प्राविधिक, दक्ष, व्यावसायिक र भर्चुअल शिक्षामा परिवर्तन भएको छ । यसै अनुसार शिक्षकहरूको ज्ञान, सीप र क्षमता पनि अध्यावधिक हुनु अपरिहार्य छ । शिक्षकहरुले हरेक दिन आफ्नो ज्ञानलाई नवीकरण गर्न स्वअध्ययन गर्नुको विकल्प हुँदैन ।


एउटा असल शिक्षक हुनु सबै भन्दा जटिल काम हो । किनकी शिक्षकसँग आशा, विश्वास, आदर्श र अपेक्षा उच्च गरिएको हुन्छ । एउटा वालकलाई हर कुरामा सक्षम वनाउनु छ शिक्षकले । ल हेर्नु त, कति जटिल छ शिक्षकको काम । प्रकृतिवादले भने जस्तो केवल वालकको अवलोकन कर्ता र मञ्च निर्माता मात्र हो या यथार्थवादले भने जस्तो कक्षा कोठामा वास्तविक ज्ञान प्रदान गर्ने व्यक्ति या आदर्शवादले भने जस्तो विचार खन्याउन सक्ने व्यक्ति या प्रयोगवादले भने जस्तो समस्या समाधानको परामर्शदाता या अस्तित्वादले भने जस्तो विद्यार्थीहरुलाई आत्मअनुभूति प्राप्तिका कार्यमा सहयोग पुर्याउने हो या प्रतीकात्मकवादले भनेजस्तो चेतना र अभिप्रायमा केन्द्रीत हुने व्यक्ति या निर्माणवादले भने जस्तो सिकारुलाई सिर्जनशील बनाउने ? असल शिक्षकमा हुनुपर्ने के हो ?


अत्याधुनिक सूचना, सञ्चार, विज्ञान र प्रविधिको उच्च विकासले शिक्षकको भूमिकामा चुनौती थपिदिएको छ । अत्याधुनिक प्रविधिहरु कम्प्यूटर, मोवाइल, रोवोट, ल्यापटप, ट्यावलेट, पाल्मटप, फ्यावलेट, ओएचपी स्मार्ट वोर्ड जस्ता मल्टिमिडियाहरु वालवालिकाको आवश्यकता, चाहना र रुचिहरु पूरागर्ने साधन वनेर आउँदा शिक्षकहरूमा त्यसको ज्ञान नहुँदा के हाल होला ? गुगल, विकीपिडिया, युट्युव, एप्स टेक्स्ट बनेर आउँदा अनि इन्टरनेट वालकको मनोसामाजिक ब्रमाण्ड बनेर आउँदा शिक्षकले पहिला आफूले सिकेर मात्र कक्षा छिर्नु पर्ने भएन त ? एउटा मेमोरी कार्ड भित्रको वाइट नै शिक्षकको पुरै विकल्पमा र विद्यार्थीको सपोर्टमा उभिदा, अनलाइन लर्निङ (भाइवर, इमो, ह्वाट्सअफ, फेसबुक, लाइभच्याट, ट्वीटर) भर्चुअल लर्निङ्ग, सुपर रियालिटी, भिडियो एजुकेशन जस्ता पछिल्ला सिकाइ शैली, विधि र पद्धतीले शिक्षक कतै आफै कन्फुयूज भएकोत छैन ?


त्यस्तै अझ पछिल्ला जीनोथेरापी, डिजाइन र शिशु, कृत्रिम बौद्धिकताले शिक्षक को हो भन्ने छिनोफानो गर्ने हो की ? के हाम्रो भुमिका सम्पूर्णरुपमा बदलिएको हो त ? कि सिद्दिएको हो ? यी र यस्ता धेरै चुनौतिका वीचमा हामीले नै शिक्षाको रुपान्तरण गर्नु छ । हामीले नै गर्ने हो । ब्राण्ड हेनरीले भनेझैं हामीले एक अशल शिक्षकको रुपमा विद्यार्थीमा आशा जगाउँने, कल्पना उद्दिप्त गर्ने र सिकाइमा बिस्तारै प्रेम भर्ने काममा निरन्तर लागिरहने छौं ।


बिलगेट्सले भनेझैँ बालबालिकासँग खेल्ने र उत्प्रेरणा जगाउने भूमिका गर्छौं अनि स्वामी विवेकानन्दले भनेझैं बालबालिकालाई भित्रबाट बाहिर वृद्धिहुने अवसर निर्माण गर्नेछौं । हामी हाम्रो काममा समर्पित छौं , अझ बढी लागि परौला । हाम्रा समस्याहरू पनि छन् । तिनीहरूको समाधानमा राज्यस्तरवाट शैक्षिक कानून, नीति ,नियमको निर्माण र पर्याप्त लगानीको वातावरण तयार गर्नु अत्यावश्यक छ ।


१. शिक्षकहरू हाम्रो शिक्षा प्रणालीको केन्द्रबिन्दु हुन् । तिनीहरूको कामबिना प्रत्येक शिक्षार्थीलाई समावेशी, समता मूलक र गुणस्तरीय शिक्षा प्रदान गर्न असम्भव छ । हामीले शिक्षकहरूको अवस्था परिवर्तन नगरेसम्म शिक्षाको वाचा सबै भन्दाबढी आवश्यक पर्नेहरूको पहुँचबाट टाढा रहनेछ ।


२. शिक्षामा रुपान्तरणका लागि सही संख्यामा सशक्त, उत्प्रेरित र योग्य शिक्षकहरू र शिक्षाकर्मीहरूको माग पूरा गर्नु पर्दछ ।


३. अत्याधिक कार्यबोझ र न्यूनतम तलवभत्ताका कारण शिक्षकहरू निराश छन् ।


४. शिक्षण पेशामा रहेकाहरू विस्तारै अरु पेशा गर्नका लागि जागिर छोड्ने दर बढ्दो छ । संगै शिक्षक हुने उदेश्यले पढ्ने नयाँ पिढि पनि आकर्षित छैनन् । यदि यो समस्या समाधान गरिएन भने क्म्न्द्ध को शिक्षा सम्बन्धि लक्ष्य पूरा हुन निकै कठिन देखिन्छ ।


५. योग्य, सक्षम र उत्प्रेरित शिक्षकहरूलाई कक्षा कोठामा ल्याउने र उनीहरूलाई त्यहाँ टिकाउनु आजको चुनौती हो । ६. शिक्षकहरूले गर्ने यो बहुमूल्य कामलाई सम्मान गर्न उच्च तलवमान र अन्य सेवासुबिधाहरू थपेर आकर्षित वनाउन अपरिहार्य छ ।


७. विश्व भर प्राथमिक शिक्षामा थप २४.४ मिलियन शिक्षक र माध्यमिक शिक्षाका लागि लगभग ४४.४ मिलियन शिक्षकहरूको आवश्यकता औंल्याएको छ । शिक्षकको संख्या थपेर शिक्षक विद्यार्थीको सन्तुलित अनुपात कायम गर्नुपर्द छ ।


८. शिक्षकहरूलाई ज्ञान उत्पादकहरू, चिन्तनशील अभ्यास कर्ताहरू र नीति साझेदारहरूको रुपमा विश्वस्तरमा मान्यता प्राप्त जनशक्ति हुन भन्ने प्रत्याभूति गर्न राज्यले शिक्षकलाई उच्च सम्मान र प्राथमिकता दिनु पर्दछ ।


९. नेपालको सन्धर्भमा बहुवर्गिकृत शिक्षक अवस्थाको अन्त्य , कर्मचारीहरूको दरवन्दी सृजना र संबैधानिक शिक्षक आयोगद्वारा बिद्यालय शिक्षाको जनशक्ति व्यवस्थापन गर्ने व्यवस्था आवश्यक छ ।


वर्णमाला नै उक्काउन नजान्ने एउटा बालक विद्यालय छिर्छ र विस्तारै वर्णमाला उक्काउँदै, बाह्रखरी सिक्दै विस्तारै उ कुनै विश्वविद्यालयबाट एउटा शिक्षित वयस्क नागरीक भएर निस्कन्छ । शिक्षकहरु बिना यो मानव रुपान्तरण सम्भव छ त ? एउटा अशल शिक्षकले सिकाउँदैनन मात्र, उनले त सिकारूलाई सिक्ने जागंर र उत्साह भरि दिन्छन । उनीहरुले प्रज्जवल गरेका उत्सुक्ता कतै गणीतका साध्य बनेर रहन्छन्, कतै विज्ञानका सिद्धान्तहरु भने कतै कला र साहित्यका रुपमा विद्यार्थीको विचार अनि जीवनशैलीमा रहेर यो संसारलाई अझ उत्कृष्ट बनाइरहेको हुन्छ ।


जसरी फलामलाई तताएर अनि त्यसलाई तातो छँदै अर्को फलामले हानेर शिल्पकारले फलामलाई आकार दिन्छ, किसानले पनि सधैं वालीनालीलाई एकै प्रकृतीले लगाउने, रोप्ने, गोड्ने गर्छ तर शिक्षकले एउटै पाठ र अभ्यास सिकाउन फरक फरक विद्यार्थीलाई फरक फरक तरिका प्रयोग गर्नु पर्दछ । हामी सबैको कुनै पनि कुरा बुझ्ने आ–आफ्नै तरिका छ र शिक्षकले त्यही अनुसार विद्यार्थीलाई सिकाएका हुन्छन । एक जना दार्शनिकले भनेका छन ‘शिक्षक त्यस्तो पेशा हो जसले अरु सबै पेशालाई पढाउँछ ।’वस्तु त समकालिन मानवजातिको सम्पूर्ण उपलब्धि शिक्षकको देन हो । एउटा मानिसको जीवनलाई निश्चित आकार दिन शिक्षकको देन ठुलो छ भन्ने कुरामा दुईमत छैन । हामी मध्ये कतिपय विद्यार्थी हौँ या शिक्षक नै हौं, एउटा असल विद्यार्थी र असल शिक्षक हुने प्रेरणा हामीबाट नहटोस्, सदियौं सम्म यो सम्मानको संस्कार बसिरहोस् । सवैमा विश्व शिक्षक दिवसको हार्दिक शुभकामना !


(लेखक डा.हरिप्रसाद कडेल भीमोदय नमूना मावि चितवनका प्रधानाध्यापक हुन् )