रुपन्देही/१३ असोज-बुटवल उपमहानगरपालिकाले शिक्षा र स्वास्थ्यमा केही ठूला योजनाहरु सञ्चालनका लागि प्रक्रिया अघि बढेका जनाएको छ । बुटवललाई आर्थिक, स्वास्थ्य र शिक्षाका हिसाबले अग्रणी बनाउने गरी केही योजनाहरु अघि बढेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।
बुटवल उपमहानगरपालिकाले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले बुटवललाई आर्थिक, स्वास्थ्य र शिक्षाका हिसाबले अग्रणी बनाउने गरी केही योजनाहरु अघि बढेको र ती योजनाले छिटै मुर्त रुप लिने बताए ।
उनले शिक्षाका क्षेत्रमा आम्दा अस्पतालमा प्रवीणता प्रमाणपत्र तहको नर्सिङ, बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई)मा सिभिल इन्जिनियरिङतर्फ स्नातक, अटो भिलेजमा स्नातक तहको अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि प्रक्रिया अघि बढेको बताए ।
नगरप्रमुख पाण्डेले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को स्तरोन्नति गरी ३ सय बेडको बनाइने जानकारी दिए । वडा नं. १३ र १७ मा १६/१६ बेडका अक्सिजन सहितका दुई अस्पताल स्थापनाका लागि प्रक्रिया अघि बढेको बताए ।
४ महिनामा गरेका उपलब्धि तथा प्रयासहरु
१. बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताललाई ३ सय बेडमा स्तरोन्नति गर्ने गरी बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघबीच आम्दा इन्टरनेशनलका अध्यक्ष डा. सिगेरु सुगानामीको विशेष उपस्थितिमा निर्णय भएको छ ।
२. मोतीपूर औद्योगिक क्षेत्रको जग्गा यकिन गर्न बुटवल उपमहानगरपालिकाको अगुवाईमा माननीय गृहमन्त्री बालकृष्ण खाँणज्यूको उपस्थितिमा गठन भएको कार्यदलले ड्रोनबाट जग्गा नापजाँचको काम सम्पन्न गरेको छ । अब प्राविधिकहरुले तथ्यांक प्रशोधन गरी जग्गा यकिन गरेर प्रतिवेदन बुझाएपछि कार्यपालिका बैठकबाट औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाउन सिफारिश गरिनेछ ।
३. एशिया प्रशान्त क्षेत्रका देशहरुका मेयरहरुको सम्मेलनमा बुटवल उपमहानगरपालिकाको प्रमुखका रुपमा सहभागी भई अन्तरराष्ट्रिय रुपमा सम्पर्क र सहकार्यको वातावरण तयार भएको छ । जसले आगामी दिनमा बुटवलको विकासका लागि अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्न सजिलो बनाउनेछ ।
४.बुटवल–१५ सेमलारमा १९ बिगाहा जग्गामा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्न जग्गा प्राप्तिको लागि प्रक्रिया अघि बढेको छ ।
५. बुटवल १२ ट्रान्सपोर्ट सिटी नजिक राष्ट्रिय सूचना केन्द्र निर्माणका लागि १७ कठ्ठा जग्गा सिफारिश सहित आवश्यक प्रक्रिया अघि बढेको छ ।
६. ज्योतिनगर पहिरोको अल्पकालीन रोकथाम र नियन्त्रणको काम निरन्तर जारी रहेको छ र स्थायी समाधानका लागि संघ र प्रदेश सरकारसँग छलफल तथा सहकार्य भइरहेको छ ।
७. बुटवल उपमहानगरपालिका वडा नं।७ र ८ मा रहेको धागो कारखानादेखि उत्तरतर्फको २५ विगाहा जग्गा प्रदेश स्तरको हरियाली बसपार्क निर्माणका लागि शिवनगर सामुदायिक वनबाट सहमति प्राप्त भएपछि जग्गा प्राप्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।
८. बुटवल–बेलहिया सडकअन्तरगत बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम अलपत्र परेपछि निर्माण कार्यको अनुगमन र सहजीकरण गर्न बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा नेपाल विद्युत प्राधिकरण, नेपाल खानेपानी संस्थान, उद्योग वाणिज्य संघका प्रमुखहरू, नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष, निर्माण कम्पनीका सञ्चालक र सडक आयोजनाका प्रमुख सदस्य सचिव रहने गरी समिति गठन गरी निरन्तर छलफल, समन्वय र सहकार्य गरी अस्पताल लाईन क्षेत्रको सडक पक्की भइसकेको र अन्य बाँकी क्षेत्रमा छिटै पक्की गर्ने तयारी रहेको छ ।
९. बुटवल बसपार्क, लुम्बिनी प्रादेशिक अस्पताल, आम्दा अस्पताल र मुख्य राजमार्ग क्षेत्र तथा वडास्तरमा तीनदिने विशेष सरसफाई अभियान शुरु भएको छ ।
१०. छाडाचौपाया व्यवस्थापन गर्नका लागि बुटवल ७ मा गौशाला व्यवस्थापन गर्न तयारी गरिएको छ ।
११. बुटवललाई पर्यटकीय स्थलको रुपमा समेत थप परिचित बनाउनका लागि तिनाउ नदी किनारमा आरती गर्ने कार्यको शुरुवात गरिएको छ । जसलाई व्यवस्थित गर्नका लागि चालु आर्थिक वर्षमा बजेट समेत विनियोजन गरिसकिएको छ ।
१२. बुटवल उपमहानगरपालिका वडा नं। १३ र १७ मा १६÷१६ बेडका अक्सिजन सहितका दुई अस्पताल स्थापनाका लागि प्रक्रिया आरम्भ गरिएको छ ।
१३. आम्दा अस्पतालमा प्रविणता प्रमाण पत्र तहको नर्सिङ अध्ययनका लागि सम्बन्धन तथा आवश्यक शैक्षिक पूर्वाधार तयार गर्न प्रक्रिया अगाडि बढाईएको छ ।
१४. बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भका लागि प्रक्रिया अगाडि बढाइएको छ ।
१५. अटो भिलेजमा स्नातक तहको अटो इन्जिनियरिङ कलेज स्थापना गर्न सम्भाव्यता अध्ययनका लागि प्रारम्भिक बजेटको व्यवस्था गरिएको छ ।
१६. बुटवल उपमहानगरपालिका, नगर विकास कोष र मल्टिडेफोर्ट हार्मोनिक जेभीसँग बहु तले पार्किङ भवन निर्माणका लागि परामर्शदातासँग सम्झौता भई अध्ययन कार्य शुरू भएको छ ।
१७. लामो समयसम्म बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बसोबास गरेकाहरू तर बसोबासको कुनै प्रमाण नभएकाहरूलाई बसोबासको प्रमाण पत्र प्रदान गर्न सूचना प्रकाशित गरी बसोबासको प्रमाणपत्र दिनका लागि तयारी भएको छ ।
१८. डेंगु रोग नियन्त्रणका लागि निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गरी लामखुट्टेका लार्भा नष्ट गर्ने कार्य र फगिङ गर्ने कार्य निरन्तर सञ्चालन गरिएको छ ।
१९. तिनाउ नदीकिनारका बस्तीमा बाढीले जोखिम पु¥याउनबाट रोक्नका लागि नदीको विभिन्न स्थानमा च्यानलाइज गरिएको छ र नदीको विभिन्न ठाउँमा तारजाली लगाउने कार्य गरिएको छ ।
२०. न्यायिक समितिद्वारा विवाद निरुपण तथा विवादमा मेलमिलापको कार्य निरन्तर सञ्चालन भइरहेको छ ।
२१. गृहणी महिला रोजगार कार्यक्रम सञ्चालनको तयारी रहेको छ ।
२२. बुटवलस्थित बसपार्कमा यात्रु तथा यातायात मजदुरको स्वास्थ्य परीक्षण तथा सहजीकरणका लागि सहायता कक्ष स्थापना गरिएको छ । जसमा हालसम्म करीब १ हजारजनाले सेवा लिइसक्नुभएको छ ।
२३. इरिक्सा व्यवस्थापनको कार्य शुरु भई १४४० इरिक्सालाई अनुमति दिने भनिएकोमा १२२८ वटा इरिक्सामात्रै अनुमतिका लागि आएको र थप व्यवस्थापनको कार्य जारी छ ।



