पोखरा विश्वविद्यालयको सम्बन्धन र कार्यक्रम थपको निर्णय प्रति प्राध्यापक संघको विरोध

कास्की/६ असोज-पोखरा विश्वविद्यालयले सम्बन्धन र कार्यक्रम थपका लागि गरेको निर्णय प्रती पोखरा विश्वविद्यालय प्राध्यापक संघले विरोध जनाएको छ । विश्वविद्यालयको शैक्षिक गुणस्तर र भविष्य संकटमा परेका बेला चुनाव र नेताका दबाब र प्रभावलाई वाहाना बनाई सम्बन्धन र कार्यक्रम थप दिने निर्णय गलत रहेको भन्दै विरोध जनाएको हो ।


पोखरा विश्वविद्यालय प्राध्यापक संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ “महामारीले आक्रान्त सम्पुर्ण शौक्षिक क्षेत्रलाई चुनौति दिदै पोखरा विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार र कार्यकारी परिषद्का सदस्यहरूले मृर्त सभाको हवला दिदै अमुक कलेज सञ्चालकको मिलेमतोमा विश्वविद्यालयको आवश्यकता र प्राथमिकतालाई आर्थिक प्रलोभनमा संलग्न रहि सम्बन्धन र कार्यक्रम थप गरि दिने निर्णय गरेको प्रती हामी पोखरा विश्वविद्यालय प्राध्यापक संघ घोर निन्दा र भर्सना गर्दछ ।”


विगतमा सय वटा कार्यक्रम बाडेर विश्वविद्यालयलाई शैक्षिक गुणस्तर र भविष्य नै संकटमा परेका बेला , नेताको सिफारिसका भरमा नियुक्ति थापेका उपकुलपति र रजिस्ट्रारले विद्यार्थी नपाएर भताभुङ्ग रहेका कलेजहरूलाई चुनाव र नेताका दबाब र प्रभावलाई वाहाना बनाई सम्बन्धन र कार्यक्रम थप दिने कुरा कुनै हालतमा मान्य नहुने भन्दै संघले विरोध जनाएको छ ।


“विश्वविद्यालयको छात्रवृत्तिमा समेत विद्यार्थी भर्ना नभएको नाजुक स्थितिमा संस्थाको दिगो विकास र सम्वृद्धि मा लाग्नु पर्ने आजको आवश्यकता हो । तर यस्ता गलत निर्णयले कर्मथलो बनाएका हामी सबै पक्षलाई पीडा दिएको छ । कुनै वैज्ञानिक आधार र आवश्यकता विना सम्बन्धन र राजिनामालाई संगै राखेर विश्वविद्यालय परिवार र समुल शैक्षिक क्षेत्र लाई नै चुनैति दिने गरि अगाडि बडेको यस निर्लज्ज अभिप्राय प्रती हाम्रो खेद छ विज्ञप्तिमा उल्लेख छ ।”


साथै संघले निर्णय तत्काल फिर्ता लिन विश्वविद्यालय प्रशासनसँग माग गरेको छ । तत्काल फिर्ता नलिए हदैसम्मका चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।