प्रगतिशील शिक्षण सिकाइ विषयमा छलफल कार्यक्रम सम्पन्न

काठमाडौं/३ भदौं-काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन र जेम्स इन्स्टिच्युट अफ हायर एजुकेसन (जेम्स स्कुल) बिचको समन्वयमा शिक्षकको क्षमता विकासका निम्ति प्रगतिशील शिक्षण सिकाइ तथा प्रामाणिक मूल्याङ्कन विषयमा कार्यक्रम सम्पन्न भएको छ । विश्वव्यापीकरण र एक्काइसौँ शताब्दीको माग अनुसारको शैक्षिक दक्ष जनशक्ति उत्पादनसँग हाम्रो कक्षा सिकाइलाई कसरी जोड्न सकिन्छ भन्ने लगायतका विषयमा कार्यक्रम सम्पन्न भएको हो ।


काठमाडौँ विश्वविद्यालयका सिपिइपी कार्यक्रम संयोजक डा.पार्वती ढुङ्गाना र भिजिटिङ फ्याकल्टी डा.वासुप्रसाद सुवेदीले सो तालिमको सहजीकरण गरेका थिए । तालिममा प्रभावकारी शिक्षण सिकाइ र विद्यार्थीमा सक्षमताको विकास गराउन कार्य अनुसन्धान केन्द्रित विधिको प्रयोग गरी मूल्याङ्कनका विभिन्न विधिहरुका बारेमा छलफल गरिएको थियो । परम्परागत शिक्षण विधि र परीक्षामुखी सिकाइ प्रवृत्तिलाई निरुत्साहित गरी विद्यार्थीको वैयक्तिक क्षमता अभिवृद्धि गर्न उनीहरुमा आलोचनात्मक सोचाइ र समस्याको समाधान, रचनात्मकता र नवीनता, सहकार्य, समूहकार्य तथा नेतृत्व गर्ने सिप, लिखित र मौखिक सूचनाको आदानप्रदान तथा आत्मनिर्भरताको वृद्धि हुने किसिमको सिकाइका बारेमा प्रयोगात्मक छलफल गरिएको थियो ।


वर्तमान परिवेश र विद्यार्थीको रुचि अनुसारको उद्देश्य निर्धारण तथा सोही अनुरुपको शैक्षणिक क्रियाकलाप, प्रश्नपत्र निर्माण र विद्यार्थीको निर्माणात्मक मूल्याङ्कन कसरी गर्ने जस्ता प्रयोगमा आधारित छलफल र मूल्याङ्कनका साधनको निर्माण सम्बन्धमा व्यापक छलफल भयो ।


विद्यार्थीलाई आफ्नो वैयक्तिक क्षमता अभिवृद्धिको अवसर दिन परीक्षा बाहेक सारांश लेखन, परियोजनाकार्य, कक्षा प्रस्तुतीकरण, एकाइ परीक्षा, अवलोकन भ्रमण, निरन्तर मूल्याङ्कन प्रणाली, प्रश्नोत्तर विधि, आत्म मूल्याङ्कन, सहपाठी मूल्याङ्कन, मत सङ्कलन जस्ता महत्त्वपूर्ण विषयमा छलफल गरी निर्माणात्मक मूल्याङ्कनका साधन तथा विद्यार्थीको स्वमूल्याङ्कनलाई समेत समेटेर रचनात्मक मूल्याङ्कन तर्फ उन्मुख हुन सकिने विषयमा विस्तृत छलफल गरिएको थियो ।


प्रामाणिक मूल्याङकनले विद्यार्थीको सिकाइलाई वास्तविक जीवनसँग जोड्न, रचनात्मक र लचिला प्रश्नहरु तयार पार्न, कार्यमा आधारित मूल्याङ्कन गर्न, विद्यार्थीलाई व्यापक सोचाइको अवसर दिन र उत्तरहरु सही वा गलत हुन भन्ने भन्दा पनि प्रक्रिया, तर्क, मौलिकता र रचनात्मकतामा बढी जोडदिन सकिने निष्कर्ष यस छलफलबाट निकालिएको थियो ।


कार्यक्रम प्रचलित, मापदण्द सहितको बहुउपयोगी साधनको रुपमा सावित भएको रुब्रिक्सको उपयोगिता बारेमा छलफल तालिमलाई निरन्तरता दिनेगरी कार्यक्रम सम्पन्न भयो । विद्यालयमा गरिने यस्ता किसिमका तालिम कार्यक्रमले शिक्षकको कक्षा कोठामा हुने शिक्षण सिकाइमा प्रभावकारीता र सो सिकाइ क्रियाकलापमा विद्यार्थीले के सिक्दैछ, कति सिक्नु पर्ने हो, कसरी सिक्दै छ वा कसरी कार्यसम्पादन गर्दैछ भन्ने जान्न पनि यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *