गैंडाकोट प्याब्सन एजुकेशन एक्स्पो हुँदै


काठमाडौं/२१ माघ–गैंडाकोट प्याब्सनले माघ २७ गते एक दिने गैंडाकोट प्याब्सन एजुकेशन एक्स्पो आयोजना गर्ने भएको छ । प्याब्सन गैंडाकोटको आयोजनामा गैंडाकोट नगरपालिकाको कार्यालय नजिक विद्यार्थीको कला, ज्ञान, सिप र प्रतिभालाई प्रस्पुटन गर्न कार्यक्रमको आयोजना गर्न लागिएको हो ।


गैंडाकोट प्याब्सन एजुकेशन एक्स्पोमा शैक्षिक सामग्रीसहितको विज्ञान प्रदर्शनी, शैक्षिक फुड स्टल र सांस्कृतिक कार्यक्रम हुने प्याब्सन गैंडाकोटका अध्यक्ष गोपेन्द्रकेसरी न्यौपानेले जानकारी दिए । उनले शैक्षिक गुणस्तरका साथ साथै विद्यार्थीहरु अन्य सिप र कलामा पूर्ण छन् भन्ने देखाउन एजुकेशन एक्स्पो गर्न लागिएको बताए । एक्स्पोमा विद्यार्थीले बनाएका विज्ञानका सामग्री, आलुबाट बिजुली उत्पादन, स्मार्ट भिलेज, निकोटि परीक्षण, पानी जहाज, रोवर्ट, केबुलकार, डोजर, ट्रलि बस, लाईफाई लाईट लगायत प्रदर्शन गरिने विज्ञान प्रदर्शनी संयोजक अनिल सापकोटाले जानकारी दिए ।
एक्स्पोमा १९ वटा विद्यालयले रसियन सलाद, चिकेन ब्रगर, सान्धेको गुन्द्रक, सेलरोटी, माछा, चिचर लगायत ५७ थरीका छुट्टाछुट्टै परिकार बनाएर बिक्रिवितरण गर्ने शैक्षिक फुड स्टल संयोजक लक्ष्मी दवाडीको भनाई छ । यसका साथै विद्यार्थीहरुले नृत्यु समेत प्रस्तुत गर्ने छन् ।


प्याब्सन नवलपुरका कार्यबाहक अध्यक्ष दिपक रावतले शिक्षा भनेको व्यवहारको परिवर्तन भएको बताउँदै उनले भने “विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न यस्ता खालका कार्यक्रमले सहयोग गर्छ ।” उनले शैक्षिक क्षेत्रमा संस्थागत विद्यालयले गरेको लगानी र योगदान महत्वपूर्ण रहेको बताए । प्याब्सनका केन्द्रीय सदस्य राजेन्द्र पौडेलले एक्स्पोले विद्यालय, विद्यार्थी र अभिभावकबीचको सम्बन्ध विस्तारमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । एक्स्पोमा एक विद्यालय एक स्टर अन्तर्गत हरेक विद्यालयको छुट्टाछुट्टै स्टल सहितको प्रदर्शनी हुने छ । एक्स्पोमा करिब ५ लाख खर्च हुने अनुमान गरिएको छ । गैंडाकोटमा ३८ वटा सामुदायिक विद्यालय रहेका छन् भने २७ वटा संस्थागत विद्यालय रहेका छन् ।