विद्यालय कर्मचारीको आन्दोलन : अधिकांश सामुदायिक विद्यालयमा तालाबन्दी


काठमाडौ/१२ भदौं-विद्यालय कर्मचारी परिषद्ले देशभरका सामुदायिक विद्यालयमा तालाबन्दी गरेको छ । आन्दोलनको कार्यक्रम अनुसार परिषद्ले आजदेखि देशभरका सामुदायिक विद्यालयमा ताला बन्दी गरेको हो ।


देशभरका ७५ प्रतिशत सामुदायिक विद्यालयमा तालाबन्दी भएको नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए । उनले सरकारले आफ्ना मागको सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने बताए । तिवारीका अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले वार्तामा बोलाएपनि आधिकारीक रुपमा पत्र नआएसम्म औपचारी छलफल नहुने र पत्र पठाउने तयारी भएको खबर आफुले पाएको समेत जानकारी दिए ।


त्यसैगरी उपत्यकाका केही विद्यालय सञ्चालन रहेकोमा परिषद्ले बन्द गर्न आग्रह गरेको र केही विद्यालयमा तालाबन्दी गरेको छ । भदौं १ गतेदेखि सुरु भएको परिषद्को आन्दोलन केही दिन यता माइतीघर मण्डलमा धर्ना दिईरहेको छ । भदौ १ गते शिक्षा तथा मानव स्रोत केन्द्रमा धर्ना, दुई गते केन्द्रको मुलगेटमा ताला समेत लगाएको थियो ।


परिषद्ले ९ गते खुला मञ्चदेखि माइतीघर सम्म विरोध ¥याली आयोजना गरेसँगै १० र ११ गते डिजिटल आन्दोलन गरेको थियो । १२ गते देखि १८ गते सम्म देशैभरका सामुदायिक विद्यालय बन्द गर्ने, १९ गते काठमाडौंमा बृहत प्रर्दशन गर्ने कार्यक्रम तय गरेको छ ।


शिक्षा ऐन २०२८ को संशोधन गरी विद्यालय कर्मचारीलाई दरबन्दीमा समायोजन गरेर एक पटकको लागि प्रक्रिया पुर्याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने, सरकारले पूर्ण सेवासुविधाको ग्यारेन्टी, विद्यालय कर्मचारी सहायक (लेखापाल) हरूका लागि रू ३४ हजार ७३० मासिक तलब र दुई हजार रूपैयाँ महंगी भत्ता गरि जम्मा रू ३६ हजार ७३० पारिश्रमिक, विद्यालय सहयोगीलाई रू २४ हजार २१० र महंगी भत्ता दुई हजार गरि रू २६ हजार २१० तलब दिनुपर्ने लगायतका माग रहेका छन् ।