विद्यार्थी भर्ना गर्दा अतिरिक्त शुल्क लिएपछि कागजात अख्तियारको नियन्त्रणमा

सुर्खेत/२ भदौं-सूर्खेतका सामुदायिक विद्यालयले विद्यालय भर्ना गर्दा शुल्क लिएको पाइएको पछि अख्तियार अनुसन्धान आयोगले कागजातहरु नियन्त्रणमा लिएको छ ।


वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थित श्री जननमूना माविले २०७९ साउन २६ गते प्रकाशित कक्षा ११ को प्रवेश परीक्षाको नतिजामा उत्तीर्ण विद्यार्थीलाई भर्ना शुल्क लिएको पाइएपछि कागजातहरु नियन्त्रणमा लिएको हो ।


विद्यालयले विद्यार्थी भर्ना गर्दा बिना रसिद विभिन्न विद्यार्थीबाट लिइएको रु. २ लाख ७६ हजार ६९० रुपियाँ सहित सो सँग सम्बन्धित कागजातहरु नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


नेपालको संविधान, उच्च अदालत सुर्खेतको २०७८ मंसिर १ को परमादेश र २०७८ जेठ २३ को अन्तरिम आदेश विपरीत विद्यार्थी भर्ना गर्दा रकम असुल गरी बिलसमेत नदिएको पाइएको छ । यसअघि अदालतले गएको वैशाख २३ गते अन्तरकालीन र जेठ २३ गते अन्तरिम आदेश जारी गरेको थियो । अदालतको फैसलामा रिट निवेदकको मागबमोजिम विद्यार्थीबाट कुनै प्रकारको शुल्क नलिन फैसला गरेको थियो ।