काठमाडौं/३१ साउन-प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा पूर्ण शुल्कीय विद्यार्थी भर्नाका लागि आवेदन खुला गरेको छ । स्विकृत पाएका शिक्षालयहरुको नाम, स्विकृत कार्यक्रम, स्विकृत कोटा र निशुल्क छात्रवृत्ति कोटाको विवरण सहित विद्यार्थी भर्नाका लागि आवेदन खुला गरेको हो ।
परिषद्ले एक विज्ञापन प्रकाशित गर्दै विद्यार्थीलाई आफूले अध्ययन गर्न चाहेको शिक्षण संस्थामा आवेदन दिन सक्ने जनाएको छ । सिटिइभिटीले यो पटक चिकित्सा शिक्षा ऐन अनुसार मापदण्ड पुगेका ३३ वटा कलेजलाई मात्र अध्यापनको अनुमति दिएको छ ।
आयोगले भर्नाका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एसईई परीक्षामा अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषयमा न्युनतम सि ग्रेड प्राप्त गरी न्युनतम जिपिए २ प्राप्त गरेको हुनुपर्ने जनाएको छ ।
आयोगले निर्धारण गरेको कोटा अनुसार १,२४० जनाले पूर्ण शुल्कमा पढ्नुपर्ने छ भने ९१ जनाले निःशुल्क नर्सिङ पढ्न पाउने भएका छन् । इच्छुक योग्यता पुगेका विद्यार्थीहरुले भदौ ९ गतेसम्म आवेदन दिन सक्नेछन् भने प्रवेश परीक्षा भदौ १७ गते दिउँसो ३ बजेदेखी सञ्चालन हुने जानकारी दिएको छ ।






