स्नातक र स्नातकोत्तर तहमा ९० दिन अनिवार्य इन्र्टन गराउन निर्देशन

काठमाडौं /२० साउन-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीनतहको शिक्षालाई जोड्न ९० दिन विद्यार्थीलाई इन्र्टन गर्नुपर्ने नीतिल्याइएको बताएका छन् ।


शुक्रबार विश्वविद्यालय अनुदान आयोगमा ११ विश्वविद्यालयका उपकुलपतिहरुसँगको छलफलमा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरुलाई ९० दिन इन्र्टन गराउनुपर्ने नीति कार्यान्वयन गर्न निर्देशन दिए ।


‘तीन (प्राविधिक, माध्यमिक र उच्च माध्यमिक) तहको शिक्षालाई जोड्न ९० दिन अनिवार्य इन्टनसीप गर्नुपर्ने सरकारको नीति तथा कार्यक्रम छ,’ उनले भने, ‘ कार्यान्वयन गर्न कार्यदल गठन गरौं ।’


बैठकमा शिक्षामन्त्री पौडेलले विश्वविद्यालयहरुको आ–आफ्नो ऐनमा व्यवस्था गरेर लैजान निर्देशन दिए । ‘तालाबन्दीले विश्वविद्यालय थिलथिलो बनाएको छ । त्यसैले तालाबन्दी अन्त्यका लागि आ–आफ्नो ऐनमा व्यवस्था गरेर लैजान निर्देशन दिएको छु ’ उनले भने ।


मन्त्रीपौडेलले ऐनमा व्यवस्था गरेर लानको लागि समय लाग्ने भएकोले ऐनमा व्यवस्था नभएसम्म वार्ताबाट समाधान गर्न, तालाबन्दीको कारण कुनै पनिकाम प्रभावित हुननदिने उपाय अपनाउन निर्देशन दिए ।


शुक्रबार भएको छलफलमा उच्चशिक्षा सम्बन्धी बजेटमा परेका विषयहरु स्नातक र स्नातकोत्तरका विद्यार्थीहरुले ९० दिन इन्टर्न गर्ने, त्रिभुवन विश्वविद्यालयलाई सेन्टर अफ एक्सिलेन्स बनाउने, विदेशमा पढ्न जाने विद्यार्थीहरुलाई नेपालका विश्वविद्यालयले उनीहरुले चाहेको विषय पढाउन पाउने व्यवस्था कार्यन्वयन गर्नको लागि निर्देशन दिएका छन् ।


यस्तै, आंशिक तथा करार कर्मचारीको समस्या विश्वविद्यालय अनुदान आयोग मार्फत समाधान गर्ने विषयमा समेत छलफल भएको छ । आन्तरिक प्रतिस्पर्धा मार्फत नियुक्ति गर्ने र बाँकी रहेकालाई गोल्डेन ह्यान्ड सेक मार्फत मिलान गर्ने गरी छलफल भएको हो ।


छलफलमा सहभागी उपकुलपतिहरुले विश्वविद्यालयले बजेट पास गरेपनि अर्थले भनेजति रकम नदिँदा अप्ठ्यारो पर्दै गइरहेको गुनासो गरेका थिए । विश्वविद्यालयमा भइरहेको तालाबन्दी, कर्मचारीको तलब वृद्धि, कर्मचारी दरबन्दी लगायतका विषयमा उपकुलपतिहरुले आफ्नो धारणा राखेका थिए ।