त्रिवि सेवा आयोगको निष्पक्षतामा प्रश्न उठेको भन्दै अन्तर्वार्ता नलिन माग

काठमाडौं/१५ साउन-नेविसंघले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको निष्पक्षतामा प्रश्न उठेको भन्दै प्राध्यापक तथा सहप्राध्यापकको अन्तर्वार्ता नलिन माग गरेको छ । एमाले निकटलाई सेवा आयोगले जागिर दिन खोजेको भन्दै अन्तर्वार्ता नलिन माग गरेको हो ।


नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलले सयौंको संख्यामा विज्ञापन गरिने तर लिखित परीक्षामा अधिकांश फेल हुने प्रवृत्ति देखिएको र पाठ्यक्रममै समस्या रहेको बताए । अवकाशमा जान लागेका त्रिवि सेवा आयोगका अध्यक्षले अब अन्तर्वार्ता लिन नमिल्ने पनि उनले बताए । ‘अवकाश हुनुभन्दा एक महिनाअघि बिदामा बस्नुपर्ने हो,’ उनले भने, ‘तर अध्यक्षले अन्तर्वार्ता लिन खोजिरहेका छन् । हामीले साउन १ मै अन्तर्वार्ता नलिन ध्यानाकर्षण गरेको हो।’


त्रिवि सेवा आयोगले आजदेखि चार दिनसम्म लिखित परीक्षा पास गरेकाहरूको अन्तर्वार्ता सुरू गर्ने भनेको थियो। सेवा आयोगले अन्तर्वार्ता गरे प्रतिवाद गर्ने चेतावनी नेविसंघको छ ।


नेविसंघले गत साउन १ मा आयोगका अध्यक्ष प्रा.डा. लालुप्रसाद पौडेललाई विभिन्न पदमा लिखित परीक्षा पास गरेका उम्मेदवारलाई अन्तर्वार्ता नलिन ज्ञापन पत्रसमेत बुझाएको थियो। त्यस्तै नेविसंघले सेवा आयोग कार्यालयमा शुक्रबार तालाबन्दी पनि गरेको थियो ।