नेविसंघले माग्यो परीक्षामा लापर्बाही गर्ने पदाधिकारीको राजीनामा

काठमाडौं/२६ असार-नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गरेको छ । परीक्षामा लापरबाही गरेको भन्दै पदाधिकारी र ‘बिचौलिया’को राजीनामा माग गरेका हुन् ।


नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै शनिबार बिबिए छैटौँ सेमेस्टरको नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स विषयको परीक्षामा पाँचौँ सेमेस्टरको सोसोलोजीको प्रश्न सोधिएपछि राजीनामा माग गरीएको छ । साथै पटकपटक भएका यस्ता घटनाको छानबिन गर्न गठित समितिले तयार पारिएको प्रतिवेदन अझै सार्वजनिक नगरी दोषीलाई उम्काउन खोजिएको विज्ञप्तिमा उल्लेख छ ।


‘परीक्षाजस्तो संवेदनशील विषयमा लापरबाही गर्दै पटकपटक विद्यार्थीको भविष्य कुल्चने दुष्प्रयास गरिरहेका यी पदाधिकारीहरू रहिरहे विश्वविद्यालय अस्तव्यस्त हुने निश्चित भइसकेकाले पदमा बस्न उपयुक्त देखिँदैन । प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन तथा परीक्षाफल प्रकाशनलगायतका विषयहरूमा संवेदनशील बन्दै परीक्षामा विश्वसनीयता तथा वैधता कायम गर्न नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । यस्ता घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा नल्याए त्रिविविरुद्ध जस्तोसुकै कदम चाल्न बाध्य हुने नेविसंघको चेतावनी दिएको छ ।