कास्की/२३ असार-पोखरा विश्वविद्यालयको असार १४ गते बसेको २२ औं साधरण सभाले विशेष मौका परीक्षाको व्यवस्था गर्ने निर्णय गरेको छ । विशेष मौका परीक्षामा सहभागी विश्वविद्यालयको १८ औं साधारण सभाको वैठकबाट भएको निर्णय बमोजिम विद्यार्थीको योग्यता, विद्यार्थीका सीमा, सर्त र परीक्षा सञ्चालनका विधि र प्रकृयाहरु अवलम्बन गर्नु पर्ने व्यवस्था सहित परीक्षाको व्यवस्था गर्ने निर्णय गरेको हो ।
२२ औं सभाबाट स्विकृत भएपनि विशेष मौका परीक्षा व्यवस्थापन र सञ्चालनका लागि छिटै अध्ययन समिति गठन गरेर समितिको प्रतिवेदनका आधारमा विद्यार्थीको योग्यता, विद्यार्थीका सीमा, सर्त र परीक्षा सञ्चालनका विधि र प्रकृयाहरु निर्धारण गरीने रजिष्टार डा. दिपकबहादुर भण्डारीले बताए ।
विश्वविद्यालयले तोकेको समयसिमा भित्र पास हुन नसकेका र तोकिएको ग्रेड नपुगेका विद्यार्थीहरुका लागि विशेष मौका परीक्षाको व्यवस्था गर्न लागिएको भण्डारीले खबर एजुकेशनलाई जानकारी दिए ।
“मास्टर्सको पढाई सक्न दुई वर्ष लाग्छ र विद्यार्थीले दुई वर्षमै नियमित पास गर्न नसके थप दुई वर्ष मौका परीक्षाका लागि समय तोकिएको छ । त्यस्तै व्याचलर्सका लागि नियमित पढाई हुने समय चार वर्षको छ, चार वर्षभित्र पास हुन नसके मौका परीक्षाका लागि अर्को चारवर्ष थप गरीएको छ” भण्डारीले भने ।
तर, विश्वविद्यालयले तोकेको समय सिमा भित्र विद्यार्थीले सबै विषय पास गर्न सकेन र ग्रेड पुरा गर्न सकेन भने उसले परीक्षा दिन नपाउनुका साथै पढाइनै विचमा रोक्नु पर्ने व्यवस्था छ । त्यसैगरी मास्टर्समा पास हुनका लागि तिन ग्रेडा र व्याच्लर्सका लागि दुई ग्रेड अनिवार्य ल्याउनै पर्ने व्यवस्था छ ।
त्यसकारणले पनि विश्वविद्यालयले तोकेको समय सिमा भित्र पास गर्न नसकेका र ग्रेड पुरा गर्न नसकेका विद्यार्थीहरुका लागि विशेष मौका परीक्षाको व्यवस्था गरी पढाई पुरा गर्न मौका दिन लागिएको विश्वविद्यालयका रजिष्टार भण्डारीले जानकारी दिए ।



