एसईईमा सहभागी हुने विद्यार्थीलाई विज्ञान विषयको अभिमुखीकरण

भक्तपुर/२६ मंसिर – नेशनल प्याब्सन भक्तपुरले आगामी एसईई–२०८२ मा सम्मिलित हुने विद्यार्थीहरूका लागि आयोजना गरेको अनिवार्य विज्ञान विषय परीक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाभरका दर्जनौँ स्कुलका विद्यार्थी र शिक्षकहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।


कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ भक्तपुरका प्रमुख कमला ज्ञवालीले विद्यार्थीहरूलाई योग र अध्यात्मसँग जोडेर सिकाई क्रियाकलाप गर्नु पर्ने बताउदै हरेक दिन पढ्नु अघि ध्यान गर्ने, तनावबाट मुक्त हुने, स्वतन्त्र हुने तर बदमास नगर्ने, नतिजा परीक्षाको लागि नभई जीवन जिउने कला सिक्न अध्ययन गर्नु पर्ने विचार व्यक्त गरिन । परीक्षा तयारीमा वैज्ञानिक विधि, आत्मविश्वास र नियमित ध्यान सँगसँगै अभ्यास गर्न विद्यार्थीहरूलाई सुझाब थियो ।


त्यस्तै, विज्ञान विषयका विज्ञ डा। चिन्तामणि पन्थीले विद्यार्थीहरूलाई प्रभावकारी अध्ययन सीप, मनोबल र समय व्यवस्थापन तथा परीक्षामा विज्ञान विषयको कस्ता प्रश्नहरूमा कसरी उत्तर लेख्ने, उत्कृष्ट नतिजाको लागि विज्ञान विषयको सिकाईमा शिक्षकले विद्यार्थीहरूलाई कसरी सहभागी गराउने जस्ता प्रेरणादायी अभिमुखीकरण गरेका थिए ।


नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले आफ्ना सदस्य विद्यालयका विद्यार्थीहरूको एसईई तयारीलाई प्रभावकारी बनाउने उद्देश्यसहित गत कार्तिक महिनामा अनिवार्य गणित विषयको र आगामी पौष महिनामा अनिवार्य सामाजिक विषयको अभिमुखीकरण गरिने बताए ।