प्रिमियर स्कुलमा विद्यार्थीको सिर्जनात्मकता र सीप प्रदर्शनी सम्पन्न

काठमाडौं/८ मंसिर – प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूलको आयोजनामा अन्वेषण एमवाईपी स्टिम प्रदर्शनी २०२५’ सम्पन्न भएको छ । उक्त प्रदर्शनीमा कक्षा ६, ७ र ९ का विद्यार्थीहरूले तयार पारेका ३५ भन्दा बढी परियोजना कार्य, जिज्ञासा, सिर्जनात्मकता र प्रविधिगत सीपको प्रदर्शन गरेका थिए ।


साधारण तथा जटिल मेसिन, ऊर्जा रूपान्तरण, र प्रणाली जस्ता विषयमा विद्यार्थीहरूले गरेको अनुसन्धान र प्रयोगले स्टिम शिक्षाले कसरी बाल–विद्यार्थीलाई आलोचनात्मक सोच, उद्देश्यपूर्ण डिजाइन र वास्तविक समस्याको समाधानतर्फ उन्मुख गराउँछ भन्ने स्पष्ट रूपमा देखिएको थियो ।


स्वचालित प्रणालीदेखि दिगो प्रविधिसम्म विद्यार्थीहरूले स्वचालित पानी डिस्पेंसर, हाइड्रोलिक ब्रेकिङ सिस्टम, पिजोइलेक्ट्रिक प्लेट गुरुत्वाकर्षण – पतन विद्युत जेनरेटर, स्मार्ट गेस्चर–आधारित प्रोस्थेटिक हात, आपतकालीन स्थितिमा रिमोट–सञ्चालित कार, स्मार्ट स्ट्रीट लाइटहरू तथा नवीकरणीय ऊर्जा मोडेलहरू जस्ता पूर्ण रूपमा कार्य गर्ने प्रोटोटाइप प्रस्तुत गरेका थिए ।


स्टिम शिक्षकहरूको मार्गनिर्देशनमा विद्यार्थीहरूले एमवाईपी डिजाइन टेक्नोलोजीको प्रक्रियाअनुसार अन्वेषण, विकास, सृजना र मूल्याङ्कन लगायतका कक्षागत अवधारणालाई व्यवहारिक र उपयोगी परियोजनामा परिणत सफल भएका छन् ।


प्रदर्शनीले विद्यार्थीहरूलाई वैज्ञानिक बुझाइ मात्र नभई २१ औं शताब्दीमा आवश्यक पर्ने महत्त्वपूर्ण सीपहरू सिक्न सहयोग गर्नुका साथै सिएडी ३डी मोडलिङ, सर्किट निर्माण र सोल्डरिङ,आर्डुइनो आधारित कोडिङ, ब्लक÷टेक्स्ट कोडिङ, कार्यशाला सुरक्षा, परियोजना योजना, टिम वर्क, समस्या निवारण, पुनरावृत्ति समस्या समाधान जस्ता जीवनभर उपयोगी हुने सीपहरू अभ्यास गर्न पाएका थिए ।


आफ्ना परियोजनामा समस्या आए पनि नछोडी बारम्बार सुधार गर्दै अघि बढ्ने उनीहरूको प्रयास प्रिमियरको विद्यार्थी–केन्द्रित शिक्षण पद्धतिको उत्कृष्ट उदाहरण बन्यो ।


कार्यक्रमका विशेष अतिथि तथा हिप्को इन्फ्राका निर्देशक हितेश गोल्छाले विद्यार्थीहरूको आत्मविश्वास, सिर्जनात्मकता र प्रविधि उपयोगले आफू अत्यन्त प्रभावित भएको बताए ।


विशेषगरी उमेरले साना विद्यार्थीहरूबाट देखिएको कामको स्तर असाधारण रहेको उनको प्रतिक्रिया थियो ।


अन्वेषण एमवाईपी स्टिम प्रदर्शनी २०२५’ ले प्रिमियरले दीर्घकालदेखि अँगालेको प्रयोगात्मक/इनक्वाएरी शिक्षण दर्शनलाई उजागर गरेको विद्यालयले जनाएको छ । विद्यार्थीलाई आफ्ना विचारहरू डिजाइन गर्न, प्रोटोटाइप बनाउन, परीक्षण गर्न, सुधार्न र आत्मविश्वासका साथ प्रस्तुत गर्न अवसर दिनु नै भविष्यका आविष्कारक र समस्या समाधानकर्ता तयार गराउने मार्ग रहेको विद्यालयको भनाई छ ।