झापा/३१ असोज – झापा जिल्लाको गौरादह नगरपालिका वडा न. ९ खजुरबारी स्थित कृष्णे खोलामा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।
विद्यालय विदाको समयमा आज दिउँसो १ः०० बजे तिर खोलामा माछा मार्न गएका ९ वर्षीय स्वीकृति मगर, ७ वर्षीय सुस्मा मगर र ११ वर्षीय रोश्नी परियार खोलामा डुबेका हुन् ।
सँगै गएकी १० वर्षीय युनिसा राईले घटनाबारे तत्काल अभिभावकलाई जानकारी गराएपछि स्थानीयले उनीहरूलाई पानीबाट बाहिर निकालेपनि तीनै जनाको मृत्यु भइसकेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृतक विद्यार्थीहरू जिल्लाको गौरादह नगरपालिका वडा न ९ स्थित लेखनाथ आधारभूत विद्यालयमा स्वीकृति आले मगर कक्षा ६ मा र शुस्मा आलेमगर कक्षा ४ अध्ययनरत थिए ।
उनिहरू अत्यन्तै मेहेनती लगनशील र अनुशासित छात्राहरू रहेको तथा ११ वर्षीय रोश्नी परियार सोही विद्यालयकै पूर्व विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक अर्जुन पौद्वारले जानकारी गराउदै मृतक विद्यार्थीहरू प्रति शोक व्यक्त गरेका छन् ।
हाल गौरादह नगरपालिका अन्तर्गतका सामुदायिक र संस्थागत दुबै विद्यालयहरूमा दसैँ तिहार र छठ पर्वको अवसरमा असोज १२ गते देखि कार्तिक १० गते सम्म १ महिना लामो बिदा दिइएको छ ।