काठमाडौँ /२९ असोज – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विज्ञान तथा प्रविधि मन्त्रालयलाई शिक्षा मन्त्रालयबाट हटाएर छुट्टै मन्त्रालय बनाउने गरी छलफल अगाडी बढाएको बताएका छन् । विज्ञान प्रविधि, नवप्रवर्तन, सूचना प्रविधि, जल तथा मौसम विज्ञान सम्बन्धी कामहरू सोही मन्त्रालय मार्फत गर्ने गरी छलफल सुरु गरिएको बताएका हुन् ।
उनले सामाजिक सञ्जाल मार्फत तत्काल ५ विषयमा छलफल अगाडी बढाए जानकारी दिएका छन् ।
उनले भनेका छन् “विज्ञान तथा प्रविधि मन्त्रालयलाई शिक्षा मन्त्रालय बाट हटाएर छुट्टै मन्त्रालय बनाउने र विज्ञान प्रविधि, नवप्रवर्तन, सूचना प्रविधि, जल तथा मौसम विज्ञान सम्बन्धी कामहरू सोही मन्त्रालय मार्फत गर्न गराउने कुराको फाईदा बारे छलफल सुरु गरियो ।”
यसैगरी सिटिइभिटीको २०६९ देखि सम्बन्धनका लागि निवेदन दिएका तर अहिले सम्म सम्बन्धन नपाएका आवेदनहरूको छानबिन गरि मंसिर महिना भित्र रिजल्ट निकाल्न कार्यदल गठन गरिएको जानकारी दिए ।
मन्त्री पुनले नेपाल खुला विश्वविद्यालयको रिक्त रहेको १० जना र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको ७ जना सिनेटरहरूको रिक्त रहेको पदमा बिना कुनै राजनैतिक दबाब नियुक्त गरियो र सिनेटरहरू नभएर रोकिएका कामहरू अगाडी बढाइएको र विश्वविद्यालयहरूमा पहिलेका सरकारको पालामा राजनैतिक भागबन्डा नमिलेर रिक्त रहन गएका निकै धेरै पदहरूमा निष्पक्ष तरिकाले योग्य पदाधिकारीहरू छान्ने काम अगाडी बढाएको बताएका छन् । साथै नियुक्तमा कुनै भनसुन नलाग्ने दाबी गरे ।