निजी शिक्षा सिध्याउने “ग्य्राण्ड डिजाईन”

काठमाडौं/२३ साउन-सन २००६ मा रिलिज भएको “एलान” नामक हिन्दी फिल्ममा त्यसका कुख्यात खालपात्र बाबा सिकन्दर अर्थात मिथुन चक्रवर्तीले एक नायकलाई मार्नैलाग्दाएउटा सम्वाद बोल्छ, “हामी तँलाई मार्दै छैनौं, वास्तवमाआफैंलाई बचाउँदै छौं ।”निजी शिक्षामाथिको राज्यको निरन्तरको प्रहारको अन्तर्य यो आशयसँग मेल खाने देखिन्छ ।

करीब ५ वर्ष अगाडी आएको उच्च शिक्षा आयोगको प्रतिवेदन र त्यसैको जगमा पटक–पटक बनेरहालै मन्त्रीपरिषदबाट पारित भई प्रतिनिधी सभामा प्रस्तुत हुने तरखरमा रहेको संघीय शिक्षा विधेयकको शिक्षा सम्बन्धी एउटा प्रमुख ध्येय हो, मुलुकमा निजी शिक्षाको अस्तित्वलाई बिना मुअब्जा र बिना राष्ट्रियकरण निमिट्यान्न पार्ने । फरक यति हो, प्रतिवेदनले १० वर्षे समयसीमा तोकेको थियो भने विधेयकले ५ वर्ष तोकेको छ, कम्पनीमा दर्ता भई सञ्चालनमा रहेका निजी विद्यालयहरुलाई शैक्षिक गुठीमा दर्ता हुने ।


यसबाट एकखाले मानिसहरुको ठूलो जमातअत्यन्त धेरै हौसिएका छन् र खुशीले गदगद छन् । सँधैजसो निजी शिक्षालाई दलाल, लुटेरा र माफियाको संगीन आरोप लगाउँदै बदनाम गर्न तल्लिन ती समुह मूख्यतः केही दल र नेताका अन्धभक्त, झोले, बेरोजगार, उद्यमशीलता नभएको र जीवनमा अर्थपूर्ण केही गर्न नसकेका असफल व्यक्तीहरु भएको स्पष्ट देखिन्छ । आफ्नो फ्रस्ट्रेशन निकाल्न त्यो जमात सामाजिक सञ्जालको भरपूर प्रयोग गर्दै आएका “सञ्जालीहरु” छन् ।


नेपाली राजनीतिका लागि भने त्यस्ता व्यक्तिहरुको एकदमै ठूलो रणनैतिक स्थान रहने गर्दछ, खास गरी निर्वाचनको समयमा । हरेक दललाई त्यस्ता सञ्जाली समुहहरुको चरम आवश्यकता हुने गर्दछ । निर्वाचनताका ५–१० लिटर पेट्रोल, २–४ हजार नगद, केही बोतल रक्सी–बियर, केही छाक मासु–भात, केही थान साडी–कुर्ता, आदिमा आफ्नो नेता र दलको प्रचार–प्रसार गर्ने मात्र नभई आईपरे टाउको फोडाफोड गर्ने र बुथ क्याप्चर गर्नेसम्मको सामथ्र्य राख्ने ती सञ्जालीहरु बुद्धि–विवेक कम तर वीरता बढी प्रयोग गर्ने भएकाले अधिकांश निर्वाचन क्षेत्रमा विजयका निर्णायक शक्ति समेत हुन् । यस अर्थमा धेरै नेताहरुको राजनिती बचाउँदै आएकाहरुको जमात हो यो ।


स्वतन्त्र रुपले विश्लेषण गर्ने हो भने त्यो सञ्जाली जमात त्यस्तो हुनुमा उनीहरुको आफनै दोष केही छैन । ती मध्ये अधिकांश राम्रो विद्यालयमा पढ्न नपाएको, पढाई बिचमै छोड्नु परेको, पारिवारिक समस्या, चरम आर्थिक संकट, बेरोजगारी, आदि कारणहरुबाट त्यस्तो बन्न पुगेका हुन् । उनीहरु त्यस्तो बन्नुका कारणहरुको जड कारण चाहिँ निश्चित रुपमै स्वार्थी, भ्रष्ट र निष्ठाविहिन राजनिती नै हो । तर त्यही राजनीतिको चंगुलमा उनीहरु रहन बाध्य भएका छन् । अर्थपूर्ण छ, अपवाद बाहेक उनीहरुको असफल स्कूलिङ राजनैतिक कारणले लथालिङ्ग सरकारी विद्यालयहरुमै भएको पाईन्छ । यस अर्थमा विद्यालयहरुको वरवादी र समाजले चुल्ठे–मुन्द्रेको उपमा दिएको त्यो विशाल जमातको जीवनको वर्वादीको कारण पनि त्यही राजनीतिनै हो । चरम आर्थिक संकटका कारण अधिकांश उनीहरु खाडीक्षेत्रमा अदक्षश्रमिकका रुपमा बिदेशिन बाध्य छन् ।


अर्कोतिर २०४६ को राजनैतिक परिवर्तन पछि नीजिकरण र खुल्ला अर्थनितीका कारण हालसम्म आइपुग्दा देशमा करिबन विश्व स्तरको शिक्षा दिने निजी विद्यालयहरु यत्रतत्र सर्वत्र बिकास भैसकेका छन् । न्यून, मध्यम र उच्च शुल्कका त्यस्ता विद्यालयहरुमध्ये सबैजसोकोे शैक्षिक गुणस्तर भने प्रशंसनीय रहँदै आएको छ । सबैभन्दा महत्वपूर्ण पक्ष भनेको यस्ता विद्यालयहरुबाट उत्पादित जनशक्तिले नेता र दलहरुको अन्धभक्त हुन अस्वीकार गर्न थाल्नु होर आफ्नो पेशा तथा व्यवसायमा उल्लेख्य सफलता हासिल गर्न सक्षम हुनु हो । ठूला सपना र भविष्यप्रतिको सजगताले यो पुस्ता सम्पन्नता तर्फ उन्मुख भए र अवसरको खाजीमा अमेरिका, यूरोप र अष्ट्रेलियाजस्ता देशहरुमा समेत दक्ष जनक्तिको प्रतिष्पर्धामा खरो उत्रीन सफल भए । उनीहरुका लागि खोक्रो आदर्शवादी राजनिती भन्दा सम्पन्नता तथा वैभवपूर्ण अर्थवादी समाज प्रिय भयो । नेताहरुले सिङ्गो नयाँ पुस्ताको विशाल हिस्सा यसरी आफ्नो प्रभाव र नियन्त्रण भन्दा बाहिर जाँदै गरेको देख्यो ।


उनीहरुको यो सोचमा आएको परिवर्तनको स्पष्ट रुप पछिल्लो पटकको स्थानीय निर्वाचनमा काठमाडौं महानगर प्रमुख बालेन शाह र आम निर्वाचनमा रास्वपा अध्यक्ष रबि लामिछानेको उम्मेद्वारी र शान्दार विजयमा देखियो । यी निर्वाचनहरुमा बिदेशमा रहेका युवाहरुले आफ्ना माता–पिता र आफन्तहरुलाई समेत कन्भिन्स गरेर उनीहरुलाई मतदान गराएको जगजाहेर छ । बालेन र रबिको क्रेज भोलि कस्तो हुने भन्ने त समयले बताउला तर परिवर्तनप्रतिको नयाँ पस्ताकोआकांक्षामा बढोत्तरी हुँदै जाने चाहिँ निश्चित छ । यो परिवर्तनलाई पुराना पार्टी र पुराना पुस्ताका नेताहरुले बिनाशकारी प्रलयको रुपमा बुझेको हुनु पर्दछ । अनि त्यसपछि यस्तै अवस्थाको निरन्तरता भयो भने आफ्नो राजनैतिक जीवन चाँडै सकिँदै गएको परिदृष्य आँखामा छाउन थाल्दछ ।

यो अनपेक्षित तर युगान्तकारी घटनाक्रमबाट अत्तालिएका राजनैतिक दलहरु र तिनका नेतृत्वले अब अगाडि के गर्ने भन्ने सवालमा धेरै कोणबाट सोच्ने क्रममा निजी विद्यालयहरुको कारणबाट शिक्षामा आएको निरन्तरको गुणस्तरको स्तरोन्नती मूल कारण भएको निश्कर्ष निकालिएको बुझ्न गाह्रो भएन । यस बिचमा उच्च शिक्षा आयोगका केही शिक्षाविद र विज्ञहरुको केही ठूला शैक्षिक उद्यमीहरुसँगको वैरभाव, व्यक्तित्वको टकराव र बदलाभावले समेत काम गरेको छ । अब कसरी सुरक्षित हुने त? एउटै सजिलो उपायको रुपमा त्यही “एलान” फिल्मको सम्वादलाई सिरोपर गर्ने कृत्य हुन खोज्दैछ, “हामी तँलाई मार्दै छैनौं, वास्तवमा आफैंलाई बचाउँदै छौं ।”अर्थात,“हामी निजी शिक्षालाई सिध्याउँदै छैनौं, हामी हाम्रो राजनिती, कुर्सी,शक्ति र वर्चश्व बचाउँदै छौं ।”वास्तवमा यो एउटा राजनैतिक अभिष्ट साँध्न गरिएको अघोषित आम सहमतिको “ग्य्राण्ड डिजाइन” नै हो ।


यदि यसलाई गलत सावित गर्ने हो भने अबको १५ देखि ३० वर्षसम्मनिजी शिक्षालाई निर्वाध रुपमा संचालन गर्न दिईयोस र नयाँ पुस्तालाई आत्मनिर्णयको अधिकार सहित उनीहरुको युग अनुसारको आर्थिक स्वतन्त्रता दिइयोस् । त्यसपछि आदर्शवादी राजनितीको अन्त भएर वैभवशाली अर्थवादी युगको सुरुवात हुनेछ । छ सरकारसँग यो हिम्मत ?


यसबीचमा सरकारले आफ्ना सामुदायिक विद्यालयहरु सुधार्ने हरसम्भव प्रयास पनि गरोस तर भित्री सत्य त यो हो की नेपालको राजनितीले त्यो चाहँदैन किनकी उनीहरुलाई कतै न कतैबाट अन्धभक्त र झोलेहरुको उत्पादन हुनु परेको छ । यसका लागि पाठ्यक्रम परिवर्तनको नाममा नीजि विद्यालय लक्षित गरेर शैक्षिक गुणस्तरमा घातक आक्रमणको थालनी भईसकेको छ । त्यसमाथि अहिलेको जस्तो अनेक तिकडम अपनाएर निजीमा पढेका विद्यार्थीहरु थुपारेर एसईईमा राम्रो जिपिए देखाउनु चाहिँ कहिँ कतैबाट सही पनि हैन, यसको कुनै अर्थपनि छैन । यो जनतालाई दिइएको धोकामाथिको पनि झन ठूलो धोका हो ।


(लेखक सिङ्ग लामा शिक्षाकर्मी तथा नेपालमा एमआई पिबिएल पद्दतिका प्रवर्तक हुन् ।)