शैक्षिक सत्र गाभ्ने तयारी की देशको वर्वादी?


सिङ्ग लामा

सत्तारुढ नेकपा फूटको संघारमा पुग्दै गर्दा शैक्षिक सत्र सुरु भएर साँढे सात महिना भन्दा बढि बितिसके पछि अहिले आएर सरकारले शैक्षिक सत्र गाभ्ने तयारी गरेको समाचार आएको छ (ईकान्तिपुर, कार्तिक १८) । कोभिड–१९ को संक्रमण बढेसँगै बेलायत, फ्रान्स, जर्मनी, ईटली, नेदरल्याण्ड, आदि जस्ता देशहरुमा अर्को चरणको लकडाउन घोषणा गर्दा समेत विद्यालयहरु संचालन हुन पाउने समाचार आउँदै गर्दा नेपालमा भने यस्तो पश्चगमनको संकेत आएको हो ।नेपालमा महामारी सुरु भए यता मन्त्रालय र सरकारबाट भएकायस्तै अनगिन्ति अन्यौलतापूर्ण निणयहरुबाट सिर्जित अस्थिरताको बीचमा पनि थुप्रै विद्यालयहरुले ईमान्दारिताका साथ सरकारले नै निर्धारण गरेको बैकल्पिक बिधीहरुबाट शिक्षण सिकाईका कार्यक्रमहरु निरन्तर रुपमा अगाडि बढाउँदै आएको पनि सत्य हो ।


यदि साँच्चै शैक्षिक सत्र गाभ्ने निर्णय गरियो भने सरकारको योएउटाऐतिहासिक भूल मात्र हैन, वर्तमान शिक्षा मन्त्रीयही अक्षम्य भूलका कारण कलंकित हुने सम्भावना पनि देखिन्छ । मुलुकको शिक्षा नीति क्षणिक आवेग र विज्ञहरुको मौसमी चापलुसीको आडमा निरन्तर फेर्दै जाने बचकाना धेरै भैसकेको हो, क्लाईमेक्समा शैक्षिक सत्र नै गाभ्ने स्टन्ट मन्चन हुन लागेको छ । यो जग हसाउने र देश रुवाउने कदम हो ।


वास्तवमा शिक्षाको बिनाश भनेको नै मूलुकको अवसान हो । दक्षिण अफ्रिकाको एक विश्वविद्यालयको प्रवेशद्वारमा लेखिएको भनिएको एक सन्देशले भन्छ, “कुनै देशलाई ध्वस्त बनाउन एटम बम वा क्षेप्यास्त्र प्रयोग गर्न आवश्यक छैन, केवल शिक्षाको गुणस्तर घटाए र परीक्षामा चोर्न दिए पुग्छ किनकी यस्ता अदक्ष चिकित्सकहरुका हातबाट बिरामीहरु मर्नेछन्, यस्ता ईन्जिनियरले बनाएका संरचनाहरु ढल्नेछन्, यस्ता अर्थशास्त्री र बंैकरबाट पैसा स्वाह हुनेछ, यस्ता धर्मगुरुहरुबाट मानवताको मृत्यु हुनेछ भने यस्ता न्यायाधिशहरुले न्याय समाप्त पार्नेछन् ।” सरसर्ती हेर्दा शिक्षा बिनाशमा नेपालको तयारी द्रुत गतिमा देखिन्छ चाहे त्यो उदार कक्षोन्नतीको कुरा होस् वा कोही अनुत्तीर्ण नहुने लेटर ग्रेडिङ प्रणाली नै किन नहोस् । झन यो शैक्षिक सत्र नै गाभ्ने स्टन्टले के गर्ला, गहिरो विश्लेषण जरुरी छ ।


शिक्षा र सिकाई भौतिक मात्रहैन, विद्यार्थीको मानसिक, भावनात्मक, साँस्कृतिक रसामाजिक बिकास समेत हो । औपचारिक शिक्षणमा ज्ञान, बोध, प्रयोग, विश्लेषण, मूल्यांकन र निर्माणबाट यो हासिल हुने हो ।त्यसैले त बुझ्न जरुरी छः

“गारो थप्नु जस्तो हैन शिक्षा,
यो साल सकिएन, अर्को वर्ष जहाँ छोडेको हो, त्यहीँबाट थाल्छु भन्नलाई !
यो त कलिला बोटबिरुवा हुर्काउनु जस्तै हो,
एक वर्ष मलजल गर्दिन, अर्को वर्षदेखि हेरचाह गर्छु भनेर कहिँ सम्भव हुन्छ?”

यति सरल सत्य पनि बुझ्न नसक्दाको परीणाम हो, यस्तै मनपरी निर्णय र अन्योल । यसलाई अझ सजिलोसँग बुझ्न १९औं शताब्दीका महान जर्मन मनोवैज्ञानिक हर्मन एबिङ्गसको खोजलाई अगाडी राखौं । उनले मूलतः सिकाई, स्मरण, समय र विष्मरणको खोजी गरेका हुन् जुन फर्गेटिङ कर्भ र स्पेसिङ ईफेक्टको रुपमा प्रख्यात छ । सबैलाई विदितै छ, नेपालको शिक्षा र परीक्षा प्रणालीमा सबैभन्दा महत्वपूर्ण कुरा हो, स्मरण वा मेमोरी । हाम्रो शिक्षाले नाप्ने भनेकै त्यही मात्र हो । यसमा रुपान्तरण त सुरु नै भएको छैन ।


एबिङ्गसले सन १८८५ मा प्रकाशित उनको “मेमोरीः अ कन्ट्रिब्युशन टु एक्स्पेरिमेन्टल साईकोलोजी” पुस्तकमा यसको रहस्य उजागर गरेका हुन् तर हाम्रो सरकारले सन २०२० मा पनि यो कुरा बुझ्न नसकेको आभाष दिलाएको छ ।

उनले २० मिनेटदेखि ३१ दिनसम्म गरेको बैज्ञानिक अध्ययनमा सिकाई, समय र विष्मरणको अन्र्तसम्बन्ध निम्नानुसार पत्ता लागेको थियोः

उनको अध्ययनले कुनै नयाँ सिकाई पूरा भएपछि तत्कालको लागि त्यसलाई शतप्रतिशत सम्झिन सकिने भएपनितुरुन्तै बिर्सने प्रकृया सुरु हुने देखाएको छ । जसअनुसार सिकेको २० मिनेटमै बिर्सने प्रकृया सुरु भएर ५८.२% मात्र सम्झिन सकिने रहेछ । बिर्सने क्रम यसैगरी बढ्दै जाँदा १ घण्टा पछि ४४.२%, ९ घण्टा पछि ३५.८%, २ दिन पछि २७.८%, ६ दिन पछि २५.४% र ३१ दिनपछि २१.१% मात्र स्मृति बाँकी हुने देखाएको छ । उनले समयको अन्तराल मिलाएर ५ चोटी दोहोर्याउने अभ्यास गराउन सकिएमा स्मरणलाई उच्च राख्न सकिने पनि पत्ता बताएका छन् ।


यो त भयो ३१ दिनसम्मको अवस्था । शैक्षिक सत्र गाभ्ने योजना ल्याएर सरकार के गर्न खोज्दैछ, विश्लेषण गरौं । उदाहरणका लागि योजना अनुसार अहिले शैक्षिक सत्र २०७७ मा कक्षा ३ मा पढिरहेको विद्यार्थी शैक्षिक सत्र २०७८ मा पनि कक्षा ३ मै पढ्नु पर्ने हुन्छ । विचारणीय छ, कुनै पनि माथिल्लो कक्षाको सिकाई भनेको विद्यार्थीको अघिल्ला कक्षाहरुको सिकाईको जगमा नै निर्मित हुन्छ । यसको अर्थ त्यो विद्यार्थीले २०७८ सालको बैशाखमा २०७६ सालको बैशाखमा कक्षा २ मा सिकेका कुराहरु याद गरी सिकाई अगाडी बढाउनु पर्ने देखिन्छ जुन करीब ७०० दिन पुरानो सिकाई हो । ३१ दिनमा २१.१% मा झर्ने सिकाई ७०० दिनमा कति प्रतिशत याद होला? कुनै अवशेष रहला?अहिले नै शिक्षक–शिक्षिकाहरुलाई अनुभव भैसक्या छ, ५–६ महिना पढाई छुटाएर आएका विद्यार्थीहरुको सिकाई करीब शून्यमा भरेको देखिन्छ ।


तसर्थ, दुई शैक्षिक सत्र गाभेर एक वर्षको मात्रै सिकाई अवरुद्ध हुन्छ भन्ने सोच्नु भनेको शिक्षा र सिकाईको प्रकृया नबुझ्नु हो, गारो लाउने जस्तै भौतिक कुराको रुपमा मात्र लिनु हो । यसरी त कक्षा ३ को विद्यार्थी शैक्षिक सत्र २०७८ मा कक्षा ३ हैन, कक्षा २ वा १ खोज्दै जानुपर्ने देखिन्छ, चरम विष्मरणको कारणले । यस्तो अवस्थामा सिकाई उपलब्धी कस्तो हुने हो ? बालसुलभ मनोविज्ञानमा कस्तो प्रभाव पर्ने हो?कक्षा दोहो्याउन वा घटेर कक्षामा बस्न नचाहने विद्यार्थीहरुको ड्रपआउटको जिम्मा कसले लिने?


सरकार सचेत हुन जरुरी छ । आशा गरौं, शिक्षालाई ध्वस्त पारेको र मूलुकलाई अवसानउन्मुख बनाएको कलंक यो सरकारले कदापि बोक्ने छैन । ग्रामीण तथा दुर्गममा रहेका र प्रविधिमा पहुँच नरहेका विद्यार्थीहरु छुट्नुमा सिङ्गो सरकार मात्रै दोशी हो । उनीहरुले न्याय पाउनै पर्छ, त्यसका लागि सरकारले विशेष योजना ल्याओस् र आवश्यक भए क्षतिपूर्तिको व्यवस्था समेत गरिनु पर्दछ । तर त्यही बहानामा बाँकी सबैको शिक्षा अबरुद्ध पार्नु पनि न्यायसंगत हुँदैन । विद्यार्थीहरुको जीवनमा १–२ वर्षको कति ठूलो महत्व हुन्छ, अहिले त्यो बुझ्न नसकेको अवस्था हो । एकाध वर्ष थप काम गर्ने अभिलाषामा प्रधान न्यायाधिश जस्तो गरीमामय पदमा पुगेको व्यक्तिले समेत नक्कली नागरिकता पेश गरेको विवाद धेरै पुरानो हैन । सेना, प्रहरी, लोक सेवा आयोग, संस्थान, आदिका प्रतिस्पर्धात्मक छनोट परीक्षाहरु होस् वा सक्रिय पेशागत जीवन, सबैमा १–२ वर्षको समय भनेको अमूल्य हो । भावी पुस्ताको वर्वादी भनेको देशकै वर्वादी हो । सरकार नचुकोस्, देश नडुबोस् ।


(महाकालिस्थान, भक्तपुरस्थित गोल्डेन गेट इङ्गलिश सेकेण्डरी स्कूलका प्रिन्सिपल, कान्तिपुर भ्याली कलेज र हिकास्टका एडजंक्ट फ्याकल्टी तथा क्वेष्ट नेपालका सचिव रहेका लामा नेपालमा मल्टिपल ईन्टेलिजेन्सेजमा आधारित पिबिएल (एमआई पिबिएल) पद्दतीका प्रवर्तक समेत हुन् ।)