रूपन्देही/१६ मंसिर- रुपन्देहीको तिलोत्तमा–१३ मधबलियामा रहेको लुम्बिनी वर्ल्ड स्कुलको आयोजनामा राष्ट्रिय फुटसल प्रतियोगिता सम्पन्न भएको छ । “साना पाइला ठुला गोल“ भन्ने मूल नाराका साथ आयोजना गरिएको फुटसल प्रतियोगिता सम्पन्न भएको हो ।
यही मंसिर १२ र १३ गते पहिलो लुम्बिनी वर्ल्ड स्कुल अन्डर ११ ५ ए साइड फुटसल प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा १५ समूहको सहभागीता रहेको थियो ।
माघ १२ गते भएको उद्घाटन समारोहको अध्यक्षता विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद ढकालले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका शैक्षिक निर्देशक एवं अनुसन्धान विभाग प्रमुख डा. मीन प्रसाद खनालले राखेका थिए । समारोहको औपचारिक उद्घाटन रूपन्देही फुटबल संघका अध्यक्ष लोक पूनले गरेका थिए । विशेष अतिथिको रूपमा प्रायोजक संस्था स्पोर्ट हब, यसोदा फुडस र ड्याडिज किचनका प्रतिनिधि तथा सहभागी विद्यालय परिवारको उपस्थिति रहेको थियो ।
विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक अनिल घोतानेले प्रतियोगिताले बालबालिकामा खेल भावना, आत्मविश्वास र सामाजिक दायित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
यसैगरी दीप बोर्डिङ स्कुलले उत्कृष्ट खेल प्रदर्शन गर्दै कान्ति माविलाई ४–१ गोल अन्तरले पराजित गर्दै प्रथम स्थान हासिल गर्यो भने कान्ति माविले द्वितीय स्थान मै चित्त बुझाउनु पर्यो । प्रथम हुने विद्यालयलाई पुरस्कार स्वरूप नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी द्वितीय हुने विद्यालयलाई नगद रु १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो ।
उत्कृष्ट खेलाडी कृषब राई, दीप बोर्डिङ हाई स्कुल उच्च गोलकर्ता आदित्य निरौला, ग्रीन प्लान्ट इङ्गलिस बोर्डिङ स्कुल, उत्कृष्ट गोल रक्षक दिशान्त थापा, कान्ति मावि अनुशासित समूह बनेर ट्रफि, मेडल, गिफ्ट ह्याम्पर र प्रमाण पत्र प्राप्त गर्न सफल भए ।
पुरस्कार वितरण समारोहका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद ढकालले यु–११ राख्नुको उद्देश्य ११ वर्ष मुनिका बालबालिकालाई फुटसल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नु तथा सामान्यतया मावि तहका विद्यार्थीलाई मात्र अवसर मिल्ने परम्परालाई तोड्दै सानै उमेरका बालबालिकालाई प्रतिस्पर्धामा उभ्याउनु रहेको बताए ।
फुटसल खेलको महत्वबारे प्रमुख अतिथि एवम् रूपन्देही फुटबल संघका अध्यक्ष लोक पुन र खेल संयोजक अनिल घोतानेले प्रेरणादायी बिचार राखेका थिए ।
पुरस्कार वितरण समारोहमा स्वागत मन्तव्य प्रशासन प्रमुख प्रकाश चन्द्र आचार्यले राखेका थिए भने स्कुलका खेल शिक्षक ओम प्रकाश थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।



