काठमाडौँ /१६ माघ – शिक्षाविद् मेदिनी लामिछानेले विद्यालय तहमा सिकाई राम्रो नभएको बताएका छन् । विद्यार्थीको नतिजाका आधारमा हेर्दा सामुदायिक र संस्थागत विद्यालयमा पढेका विद्यार्थीहरूमा मात्र नभई, सहर र गाउँमा पढ्ने विद्यार्थीहरूको नतिजामा समेत ठुलो भिन्नता देखिएको उल्लेख गर्दै विद्यार्थी वा लक्ष्यित वर्गले सिक्न सकिरहेको छ कि छैन भनेर अब मूल्याङ्कन गर्न आवश्यक रहेको बताएका हुन् ।
“विद्यार्थीको नजिताको आधारमा हेर्दा सामुदायिक र संस्थागत विद्यालयमा पढेका विद्यार्थीहरूमा मात्र होइन, सहर र गाउँमा पढ्ने विद्यार्थीहरूको नतिजामा समेत भिन्नता देखिएको छ । विद्यार्थीहरूको आधारभूत तह कक्षा –३ सम्म, कक्षा ८ को र माध्यमिक तहको नतिजा हेर्दा प्राथमिक तह समेत उत्तीर्ण हुन नसके पाइएको छ । यसको अर्थ हाम्रोमा विद्यालय तहमा सिकाई गतिलो भएको छैन “उनले भने ।
लामिछानेले वार्षिक एक लाख भन्दा बढी विद्यार्थीहरूले एनओसी लिइरहेको, जनगणना २०७८ अनुसार ६१ प्रतिशत घरधुरीबाट वैदेशिक रोजगारीका लागि विदेश गइरहेको र सन् २०२१ र ०२२ मा मात्र पढ्नका लागि नेपाली विद्यार्थीहरूले १० खर्ब रुपियाँ विदेश लगेको तथ्याङ्क प्रस्तुत गर्दै यसबाट नेपाली विद्यार्थीहरूलाई पढाउने शैली र विषयमा समेत परिवर्तन गर्नुपर्ने आवश्यकता स्पष्ट भएको बताए। ।
निजि र सरकारी विद्यालयका फरक सिकाई पद्धतिमा एकरूपता ल्याउन, अभिभावकले आफ्ना नानीबाबुलाई पढाउन सरकारी विद्यालय रोज्ने स्थिति बनाउन सबैको साझा पहल हुन आवश्यक रहेको उनको सुझाब छ ।
साथै विद्यार्थीका सिकाई पद्धतिमा परिवर्तन ल्याउन उनीहरूका रुचिका विषय समावेश गर्नुपर्ने विचार व्यक्त गरे । त्यसका लागि नेपाली सांस्कृतिक, भौगोलिक र भाषिक विषयतर्फ उन्मुख पाठ्यक्रम तयार गर्नुपर्ने, कसैलाई पनि पछि नपार्ने, नछोड्ने नारा सफल बनाउन विद्यालयस्तरको सिकाई पद्धतिमा राम्रो सुधार हुनुपर्नेमा जोड् दिए ।
विद्यालयको अध्यापनमा पद्धतिमा सानो कक्षादेखि नै सिकाई र परीक्षामा ध्यान दिनुपर्ने, एकै पटक ठूलो कक्षामा पुगेर मात्र कडाई गर्ने परम्पराको अन्त्य हुनुपर्ने बताए ।
“विद्यार्थीले स्कुलमा अध्ययन गर्ने विषयहरू आफ्नो घरमा अभ्यास भइरहेका विषयसँग मेल खायो भने उनीहरूले सिक्दा, पढ्दा छिटो बुझ्न सक्छन् । अपनत्व जनाउँछन् । पढाई एकतिर भोगाई गराई अर्कोतिर भएकोले नेपालका विद्यालयको सिकाई पक्ष कमजोर साबित भइरहेका छन् । विद्यालयले गर्ने विभिन्न निर्णयमा विद्यार्थीहरूलाई सहभागी गराउदै उनीहरूलाई जोड्दै सिकाई पद्धति सुधारका लागि कुनै वाह्य उपायले काम गर्दैन, विद्यालयको आन्तरिक कोसिसले मात्र सफल हुन्छ । साथै अभिभावक र समुदायलाई पनि रूपान्तरणसँग सक्रिय रूपमा जोड्न आवश्यक छ ” उनले भने ।



