हिमालयन कलेजमा हल्ट प्राइज प्रतियोगिता हुँदै

काठमाडौँ /१५ माघ – हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका विद्यार्थीहरुले हल्ट प्राइज प्रतियोगिताको आयोजना गर्ने भएका छन् । विद्यार्थीमा पढाईसँगै नेतृत्व विकास तथा क्षमता अभिवृद्धि, व्यवहारिक शिक्षा र विश्व परिवेशमा देखिएका विभिन्न समस्याका समाधान कसरी गर्ने भन्ने बारे यस्ता कार्यक्रमहरूले विद्यार्थीलाई सिकाउने उदेश्य सहित प्रतियोगिताको आयोजना गरिएको आयोजक विद्यार्थीले बताएका छन् ।


हल्ट प्राइज कार्यक्रम विश्वका १ सय २५ भन्दा बढी देशमा आयोजना हुने र नेपालमा ४० भन्दा बढी कलेजहरूले यसको आयोजना गर्दै आएका छन् । हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान बाहेक व्यवहारिक ज्ञान दिने उदेश्यले विगत तीन वर्षदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


प्रतियोगितामा उत्कृष्ट बन्ने विद्यार्थीहरूले राष्ट्रिय स्तरमा आयोजना हुने प्रतियोगितामा सहभागी हुन पाउने छन् भने राष्ट्रिय स्तरको प्रतिस्पर्धाबाट विजयी हुने टिम अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन पाउने छन् ।


विश्वव्यापी रूपमा देखिएका जुनसुकै समस्याहरूको समाधान कसरी गर्न सकिन्छ भन्ने बारे सहभागी विद्यार्थीहरूले आइडियासहित आफ्नो विचार प्रस्तुत गर्नुपर्ने हल्ट प्राइज ह्वाइट हाउस इन्टरनेशनल कलेजका डाइरेक्टर विकास ज्ञवालीले बताए ।


प्रतियोगितामा सहभागीताका लागि १४ टिमले नाम दर्ता गराएको जानकारी दिँदै प्रतिस्पर्धाबाट छानिएका ५ टिमलाई फाइनल राउण्मा लगिने हल्ट प्राइज ह्वाइट हाउस इन्टरनेशनल कलेजका अध्यक्ष स्मृति खडकाले जानकारी दिइन । उनले विजयी टिमलाई क्रमशः १५ हजार, फस्ट रनरअपलाई ७ हजार र सेकेन्ड रनरअपलाई ५ हजार नगर पुरस्कार दिइने बताइन ।