सबै विद्यार्थी विद्यालय वा कक्षाकोठाभित्र आइपुग्ने नीति बनाउन आवश्यक छ

काठमाडौँ /१३ माघ – ज्ञानोदय माध्यमिक विद्यालयकी प्रधानाध्यापक विष्णु रिमालले शिक्षा नीति बनाउँदा सबै विद्यार्थी विद्यालय वा कक्षाकोठाभित्र आइपुग्ने गरी बनाउनु पर्ने सुझाब दिएकी छन् । पढ्ने उमेरका विद्यार्थीहरूले पढ्न चाहेर पनि पढ्न नपाएको उल्लेख गर्दै शिक्षा मन्त्रालय तथा नीति निर्मातालाई सो सुझाब दिएकी हुन् ।

खबर एजुकेशनले आयोजना गरेको विद्यालय शिक्षा रूपान्तरणमा नीतिगत सवाल सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै पढ्ने उमेरका विद्यार्थीहरूले पढ्न नपाएका विद्यार्थीहरूको सङ्ख्या एकिन गर्नुपर्ने र त्यसलाई नीतिसँग जोड्न आवश्यक रहेको बताइन ।
उनले भनिन् “पढ्ने उमेरका विद्यार्थीहरूले पढ्न नपाएका विद्यार्थीहरूको सङ्ख्या कति छ ? त्यसको नीति कहाँ बन्छ होला ? विद्यार्थी दुई प्रकारका छन्, एउटा पढ्न पाएर पनि पढ्न चाहदैनन् र अर्को पढ्न चाहेर पनि पढ्न पाउँदैनन् यसलाई नीतिसँग जोड्नु पर्छ ।”


यसैगरी पाठ्यक्रमले सबै विद्यार्थीलाई समेट्न नसकेको उनको भनाई छ । विद्यार्थीले पाठ्यक्रम पढ्न नसेको उदाहरण दिँदै कस्ता नीति बनाउँदा सबै विद्यार्थीलाई समेट्न सकिन्छ विचार गर्न आग्रह गरिन । साथै रिमालले प्राविधिक धार भएपनि त्यस भित्र सबै विद्यार्थी अट्न नसकेको बताइन ।


“विद्यार्थी विद्यालय छोडेर बाहिर जाने गरेको बताउँदै त्यसको कारण र उनिहरूको अवस्थाको खोजी गर्नुपर्नेमा उनको जोड् छ । जति विद्यार्थीहरू विद्यालय छोड्छन् बाहिर जान्छन् त्यसको कारण के र त्यसको तथ्याङ्क को सँग छ ? ती विद्यार्थी कहाँ पढ्छन् ? हामीले कुनै कारणले विद्यार्थी विद्यालयबाट निकाल्यौँ भने ति विद्यार्थी कहाँ जान्छन् ? ति विद्यार्थी कस्ता बनिरहेका छन् ? यो नीति कहाँसम्म समावेश हुन्छ होला र कहाँबाट ल्याउन सकिन्छ ? ” उनले भनिन् ।