अनुभवकै आधारमा पाठ्यक्रम तयार गर्न सक्नुपर्ने समय आएको छ : युवराज शर्मा

काठमाडौँ /१३ माघ – सिकाई पद्धतिमा सुधार ल्याउन पढाउने तरिकामा परिवर्तन गर्नुपर्छ आवश्यक रहेको हिसानका अध्यक्ष युवराज शर्माले बताएका छन् । पेडागोजीबाट अब ह्युटागोजीको समय आईसकेको उल्लेख गर्दै कक्षाकोठामा पढाउने तरिकालाई परिवर्तन गर्नुपर्ने बताएका हुन् ।


खबर एजुकेशनको आयोजनामा विद्यालय शिक्षा रूपान्तरणमा नीतिगत सवाल सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै शिक्षकले कक्षाकोठामा पढाउँदै गर्दा आफ्ना विद्यार्थीको आवश्यकता, उनीहरूले सिक्न चाहेको, बुझ्न सिक्न चाहेको विषय बस्तुहरू समेटेर अनुभवकै आधारमा पाठ्यक्रम तयार गर्न सक्नुपर्ने समय आएको विचार व्यक्त गरे ।

हालको पाठ्यक्रमबाट विद्यार्थीले सिक्न नचाहेकै कारण सिकाई पद्धति राम्रो नभएको र उनीहरूले सिक्न चाहेको विषय र सोही विधिबाट समेत पढाउन सकियो भने मात्र विद्यार्थीको सिकाईमा सुधार आउन सक्छ उनको भनाई छ ।


उनले भने “पढाउने शिक्षक र पढ्ने विद्यार्थीबिच नै ग्याप छ । विद्यार्थीको रुचि अनुसार पढाउन सके हरेक विषयको प्राविधिक तयार गर्न सकिन्छ, होइन भने प्राविधिक विषय पढ्ने पनि बेरोजगार हुने वा फेल हुने समस्या आउँछ ।”


यसैगरी हाल विद्यार्थीहरूलाई नेपाली शिक्षा पद्धतिमा विश्वास नभएका कारण कक्षा १२ पछि विदेश रोजिरहेका बताए । अहिले विद्यार्थीलाई एआई प्रविधिसँग जोडिने शिक्षा चाहिए पनि हामी पाठ्यक्रममा भएका विषयलाई घोकाइरहने कारणले आजका युवा पुस्ताले यो देशमा पढेर केही हुन्न, पढ्दै काम पनि गरौँ भन्दै देश छोडिरहेको बताए ।