काठमाडौँ /११ फागुन – काठमाडौँ विश्वविद्यालयले स्प्रीङ्ग डेल एकेडेमीका शिक्षकहरूको पेसागत विकास कार्यक्रम पूरा गरी प्रमाणपत्र हस्तान्तरण गरेको छ । शिक्षकलाई तालिम प्रदान गरी पेसागत दक्षता बढाउने र विद्यालयको उद्देश्य अनुसार बाँके जिल्लाभरी शैक्षिक अभ्यासलाई रूपान्तरण तथा विस्तार गर्दै विद्यार्थीलाई समग्र शिक्षा प्रदान गरी विद्यालयलाई जिल्लाकै एक नमुना विद्यालय बनाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा सहभागी शिक्षकहरूलाई प्रमाण पत्र वितरण गरिएको हो ।
एक वर्ष अघि सम्झौता पत्रबाट सुरु गरिएको ३ क्रेडिट बराबरको क्रेडिट सञ्चय ढाँचा अन्तर्गत रहेको तालिम कार्यक्रम यही फाल्गुनमा सम्पन्न भएको विश्वविद्यालयले जनाएको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन अन्तर्गत रहेको निरन्तर व्यावसायिक शिक्षा केन्द्र (सिपिइसी) का तर्पmबाट विद्यालयका शिक्षकहरूलाई तालिम दिइएको थियो ।
काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका प्रा. डा. हेमराज काफ्लेले प्रमुख अतिथिका रूपमा रही सहभागी शिक्षकहरूलाई प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा विद्यालयका तर्फबाट प्राचार्य शरद चन्द्र रावलले शिक्षक पेसागत तालिम कार्यक्रमले आफूहरूको शक्ति एकबाट अनेक बन्न पुगेकोमा गौरवान्वित बनेको कुरा व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्षले सिकाइ निरन्तर चलिरहने साथै निरन्तरताले नै निखार्दै जाने कुरा औँल्याए ।
साथै तालिममा सहभागी शिक्षकले आफ्नो भविष्य सुनौलो र सुनिश्चित बनाउन कक्षामा उपस्थित विभिन्न भौगोलिक, आर्थिक तथा सांस्कृतिक विविधता भएका र विद्यालयमा विभिन्न सिकाइ तथा बहु बुद्धिमता बोकेका र फरक सिकाइ क्षमताको सामना गरिरहेका बालबालिकालाई शिक्षाको मूल धारमा समावेश गर्ने बेला आएको बताउँदै आफुुुहरूको हातमा हतियार आएको धारणा व्यक्त गरेका थिए ।
काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनले स्प्रीङ डेल एकेडेमी नेपालगन्जका जम्मा २३ जना शिक्षक जसले पाठ्यक्रममा निरन्तर सिकाइ गर्नुहुनेलाई शिक्षक पेसागत तालिम प्रमाणपत्र हस्तान्तरण गरेको थियो । प्रा. डा. हेमराज काफ्लेले शिक्षण विधिमा नवीनतम प्रविधिहरूको उपयोग र गुणस्तरीय शिक्षाको आवश्यकताबारे प्रकाश पार्दै कार्यक्रमको सफलताप्रति सन्तोक व्यक्त गरे ।



