विश्वविद्यालयको आयोजनामा “दिगो शहरहरूमा आजीवन शिक्षा” विषयमा प्रशिक्षण सम्पन्न

कास्की/१८ असार-पोखरा विश्वविद्यालयले रजत जयन्तीको अवसर पारेर “दिगो शहरहरूमा आजीवन शिक्षा” विषयमा एक हप्ते प्रशिक्षण तालीम सम्पन्न गरेको छ । पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायको आयोजनामा र इजिइए तथा यूरोपियन यूनियनको इरास्मस प्लस प्रोग्रामको सहयोगमा प्रशिक्षण तालीम सम्पन्न गरेको हो ।


यही असार ११ गतेदेखि १७ गतेसम्म सञ्चालित उक्त कार्यक्रमको उद्घाटन राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. बिनायक भद्राले गर्नु भरेका थिए । तालिममा पोखरा महानगरपालिका, जिल्ला प्राविधिक कार्यालय कास्की, भिमाद नगरपालिका, शक्ला गण्डकी नगरपालिका, ब्यास नगरपालिका, पोखरा विश्वविद्यालय स्कूल अफ ईञ्जिनियरिङ्ग, मध्य नेपाल नगरपालिका एवम् विभिन्न अनुसन्धान एवम् प्राविधिक परामर्शदाता इञ्जिनियर एवम् आर्किटेक्टहरू गरी २३ जनाको उपस्थिति थियो ।


कार्यक्रमका प्रमुख प्रशिक्षकहरूमा योजनाकार एवम् त्रिभुवन विश्वविद्यालय, पुल्चोक क्याम्पसका सह–प्रा. डा. सञ्जय उप्रेती, पोखरा विश्वविद्यालय स्कूल अफ ईञ्जिनियरिङ्गका उप–प्रा. एवम् विज्ञान तथा प्रविधि सङ्काय पोखरा विश्वविद्यालयका पूर्व डीन बुद्धिराज जोशी र योजनाकार वर्षा श्रेष्ठ थिए । प्रशिक्षण कार्यक्रम २ दिन भौतिक उपस्थिति र ५ दिन अनलाइन विधिबाट सञ्चालन भएको थियो ।


प्रशिक्षण अवधिमा प्रशिक्षार्थीहरूलाई सहरी परिभाषा, सहरी योजनाको परिचय, क्षेत्रीय योजना, दिगो विकासको अवधारणा, लक्ष्य, उद्देश्यका बारेमा प्रस्तुति दिइएको थियो । यसका साथै सहरीकरण, सहरी वृद्धि प्रवृत्ति र चुनौतीहरू, सहरीकरणको विश्वव्यापी र क्षेत्रीय सन्दर्भ, दिगो शहर र प्रकारहरू, कम कार्बन सिटी÷हरित सहर÷स्मार्ट सिटी, दिगो भूमि प्रयोग, पानी, यातायात, फोहोर, हरियो भवन÷आवासको सन्दर्भमा समेत प्रशिक्षार्थीहरूलाई प्रस्तुतिकरण गरिएको थियो ।


नेपालमा दिगो सहर योजना, दृष्टिकोण, दिगो भूमि प्रयोग, ल्याण्ड पूलिङ्, दिगो पानी, आपूर्ति, फोहोर व्यवस्थापन र आवासका आधारभूत तथ्यहरूको अवस्थालाई समेत प्रशिक्षणमा प्रस्तुति गरिएको थियो ।


कार्यक्रमको समापन समारोहमा पोखरा विश्वविद्यालयका रजिष्ट्रार सह–प्रा. डा. दिपकबहादुर भण्डारी, पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन सह–प्रा. राजेशकुमार ठगुराठी, पोखरा विश्वविद्यालय स्कूल अफ ईञ्जिनियरिङ्गका स्कूल निर्देशक उप–प्रा. ओम प्रकाश गिरी, योजनाकार एवम् त्रिभुवन विश्वविद्यालय, पुल्चोक क्याम्पसका सह–प्रा. डा. सञ्जय उप्रेती, नेपाल ईञ्जिनियरिङ्ग एसोसिएशनका गण्डकी प्रदेश सदस्य ई. रविन्द्र लाल मुल र प्रशिक्षार्थी कृष्ण घिमिरेले कार्यक्रमको महत्वका बारेमाबोलेका थिए ।


जलवायु परिवर्तनका विषयमा सेमिनार सम्पन्न :

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको सक्रियतामा जलवायु परिवर्तनः कारणहरू, प्रभावहरू र न्यूनिकरणका लागि आर्थिक साधनहरू विषयमा सेमिनार सम्पन्न भएको छ । अनुसन्धान केन्द्रको एपिसोडको ८ औं श्रृंखलाअन्तर्गत रहेको उक्त सेमिनारका प्रमुख वक्ता डा. गोविन्द राज तिमिल्सिना थिए । उनी विश्व बैंक, वाशिङ्टन, डिसीको विकास अनुसन्धान समूहका वरिष्ठ अनुसन्धान अर्थशास्त्री हुन ।


सेमिनारमा पृथ्वीमा बढ्दै गएको तापमानले कसरी जलवायु परिवर्तन गरेको छ भन्ने विषयमा व्याख्या भयो । विश्वमा बढ्दै गएको जनसङ्ख्याले हरितगृह ग्याँस उत्सर्जन र जलवायु परिवर्तनमा ठूलो योगदान पु¥याएको देखिन्छ । मानवीय क्रियाकलापका कारण वनजङ्गलको विनाश, कोइला, खनिजजन्य इन्धनको अत्याधिक प्रयोग, औद्योगिकरण आदिमा वृद्धि हुँदै गएको छ र यसले मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइडजस्ता हरित गृह ग्याँस र ओजन तह विनास गर्ने क्लोरोफोरो कार्बन जस्ता अन्य विषाक्त ग्याँसको उत्सर्जन दिन प्रतिदिन वायुमण्डलमा बढ्दै गइरहेको छ ।


विषाक्त ग्याँस उत्सर्जनका कारण परावर्तित विकिरणहरू वायुमण्डलमै रोकिनाले पृथ्वीको तामक्रममा क्रमिक वृद्धि भइरहेको छ । जलवायु परिवर्तनले समाज, अर्थव्यवस्था र पारिस्थितिक प्रणाली (इकोसिस्टम) को सन्तुलनलाई अस्थिर तुल्याइ दिएको छ । जसले प्राकृतिक विपत्ति, जैविक विविधतामा ह्रास, मानव स्वास्थ्यमा जोखिम सिर्जना गरेको छ ।


हरित गृह ग्याँस उत्सर्जनको लागि चीन, संयुक्त राज्य अमेरिका, भारत, रसिया, जापान, जर्मनी, ईरान, दक्षिण कोरिया, साउदी अरेयिबा, इन्डोनेसिया आदि देश प्रमुख जिम्मेवार देखिन्छन् । डा. तिमिल्सिनाका अनुसार नेपालमा जलवायु परिवर्तनका कारण अतिवृष्टि, अनावृष्टि, लामो खडेरी, भू–क्षय, बाढी पहिरो, हिमताल विस्फोट, शितलहर, धेरै दिनसम्म कुहिरो लाग्ने, पानीका स्रोत सुक्ने, बन डढेलो लाग्ने आदि देखिएको छ । जलवायु परिवर्तनले रैथाने वनस्पतिहरूको लोपोन्मुखता, बासस्थानको क्षयीकरण, नयाँ मिचाहा प्रजातिका वनस्पतिहरूको फैलावट तथा रोग र किराको प्रकोपमा वृद्धि देखिएको छ ।


सेमिनारमा जलवायु परिवर्तनलाई न्यूनिकरण गर्न प्राकृतिक स्रोत तथा जैविक विविधताको संरक्षण र सम्बर्धन गर्ने, दिगो वातावरणीय सेवा सुनिश्चित गर्ने, कार्बन सञ्चिति बढाउने र हरितगृह ग्यास उत्सर्जन कम गर्ने खालका कार्यक्रमहरूको पहिचान गरी ज्ञान र सीप अभिवृद्धि गर्ने, अनुसन्धान र प्रविधि विकासका कार्यहरू पहिचान गर्न जोड दिइयो ।


सेमिनारमा जलवायु परिवर्तनलाई अनुकूलनसहित न्यूनीकरण गर्न सिओटू उत्सर्जन कम गर्न कार्बनको मूल्य निर्धारणसम्बन्धी विभिन्न नीति र उपायहरूको प्रस्तुतिकरण भयो । नेपालमा स्वदेशी रूपमा उत्पादित जलविद्युतसँग आयातित जीवाश्म इन्धनलाई प्रतिस्थापन गर्न कार्बन कर एक साधन हुनसक्ने विषयमा समेत छलफल र प्रस्तुतिकरण भएको थियो ।


सेमिनार गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान जिपास्ट र पोखरा यूनिभर्सिटी काउन्सिल अफ म्यानेजमेन्ट स्टुडेन्ट्स, स्कूल अफ बिजनेससँगको सहकार्यमा आयोजना भएको हो । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक, सह–प्राध्यापक डा. नमराज धामीले कार्यक्रमको उपादेयता र महत्वका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा पोखरा विश्वविद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *