काठमाडौं /१६ बैशाख – सिटिइभिटी अन्तर्गत प्रविधिक शिक्षा तालिमहरु सञ्चालन गरिने हो । यस अन्तर्गत चार वटा स्ट्रिमबाट तयार पारी कार्यक्रमहरु सञ्चालित छन् । तीमध्ये सिटिइभिटीको आफ्नै ६२ वटा आंगिक कलेजहरु रहेका छन् । निजीलाई सम्बन्धन दिएका चार सय २९ वटा छन् ।
साझेदारीका लागि मात्र भनेर सिटिइभिटीले केही नगरपालिकाहरु र केही गैह्रनाफामूलक संस्थाहरुसँग साझेदारी रुपमा काम गरिरहेको छ । त्यस्ता संस्थाहरु चाहिँ ३८ वटा छन् । साथै, सामुदायिक स्कूलमा प्रविधिक कार्यक्रम भनेर पाँच सय ७२ ठाउँमा काम गरिरहेका छन् । सिटिइभिटीको पछिल्लो अवस्था,गतिविधि,आगामि योजनाबारे सिटिइभिटीका उपाध्यक्ष खगेन्द्र अधिकारीसँग खबर एजुकेशन अनलाइनले गरेको संवाद :
कोभिड १९ का कारण सिटिइभिटीका शैक्षिक गतिविधिमा पारेको प्रभावलाई कसरि मिलाउदै हुनुहुन्छ ?
गत सालको कोभिड १९ का प्रभावका कारण तराईमा जति पनि क्षेती पुगेको छ त्यसको पूर्ति गर्नका लागि बल्ल बल्ल प्रयास गरेका छौं जस्तै, त्यो बेला थुप्रै परीक्षहरु रोकिएका थिए । ती परीक्षाहरु सकेर परीक्षाफल पनि निकालिसकेका छौं । गएको हफ्ता मात्र हामीले कोभिडका कारण अवरुद्ध भएका परीक्षाहरुको परीक्षाफल प्रकाशित गरीसकेका छौं । अब निरन्तर परीक्षा सञ्चालन गर्ने र परीक्षाफल पनि प्रकाशित गर्ने चरणमा पुगेका थियौं । तर, फेरि महामारीले गर्दा निषेधाज्ञाको कारणले आज मात्र सरकारले निर्णय गरे अनुसार सिटिईभिटी अन्तर्गत सञ्चालन भईरहेका सैद्धान्तिक एवं प्रयोगात्मक परीक्षा स्थगन गरेर भर्चुअल विधि अपनाउने भनेर सूचना प्रकाशित गरिसकेका छौं । भर्चुअल विधिबाट सैद्धान्तिक कक्षा त सम्भव छ तर, प्रयोगात्मक अभ्यास भने सम्भव छैन त्यसैले त्यो कुराले हामीलाई फेरी असर पारेको छ र नियमित परीक्षा सञ्चालन र परीक्षाफल प्रकाशित गर्ने कार्यमा समेत यसले फेरी बाधा पर्ने परिस्थिति सिर्जना भएको छ र यसले कति हदसम्म बाधा पु¥याउँछ भन्ने भोलीका दिनमा मात्र भन्न सकिनेछ ।
सिटिइभिटीले उत्पादन गरेको जनशक्तिलाई कसरी समिक्षा गर्नुभएको छ ? उत्पादित जनशक्तिले रोजगार पाएका छन् ?
यसको हामीले मात्र नभएर राज्यले नै मूल्याङ्कन गरेको कुरा हो । वर्तमान सरकारको प्रधानमन्त्रिले २०७४ साल फागुन तीन गते प्रधानमन्त्रीको पद भार गरिरहँदा खेरी उहाँले यो देशमा ७० प्रतिशत विद्यार्थीको पहँुच प्राविधिक शिक्षामा पु¥याउने र दोस्रो हरेक स्थानीय तहसम्म अर्थात् ७५३ पालिका सम्म पनि सिटिईभिटीबाट समन्वय सहमती लिएर प्राविधिक शिक्षा विस्तार गर्नुपर्छ भन्ने धारणा राख्नुभएको थियो । प्राविधिक शिक्षाको विस्तार जति गर्न सकिन्छ त्यत्ति नै यसबाट उद्यामशीलता र रोजगार सिजर्ना गर्न मद्दत प¥याउने हुँदा आर्थिक गतिविधि यसबाट सम्भव छ ।
सिटिइभिटीबाट जति पनि विद्यार्थीहरुले सीप सिकेका छन्, ती सीप सिकेका विद्यार्थी कहिँ न कहिँ उद्यम तथा रोजगारी गरिरहेको पाईएका छन् । यसरी हामीबाट उत्पादित जनशक्तिहरु कति सम्म रोजगारीको रुपमा काम गरिरहेका छन् भन्ने सन्दर्भमा केही वर्ष अगाडी गरिएको अनुसन्धानबाट कम्तिमा ७५ प्रतिशतको रुपमा उद्यमशीलता तथा रोजगारीमा पाएको देखिन्छ । यसमार्फत् उत्पादित जनशक्ति सबै क्रियाशील नै छन् बेरोजगार छैनन्, स्वरोजगार नै छन् । उनीहरु सबै स्वदेश जाँदा होस् वा विदेश जाँदा आफ्नो उन्नत स्तरको काम गरिरहेका छन् । जसले गर्दा रेमिटेन्स भित्र्याउन समेत सहयोग पु¥याईरहेको छ, तसर्थ हामीले गरिरहेको काममा अहिले सम्म हामी सन्तुष्टि नै छौं ।
त्यस्तै, शिक्षा मन्त्रालयले पनि हामीसँग जस्तै गरेर प्राविधिक शिक्षाको पहुँच पु¥याउन ईभेन्ट जस्ता विभिन्न कार्यक्रमहरु चलाईरहेका छन् ।
यसरी प्राविधिक शिक्षा अहिकोे आवश्यकता भएको हुँदा प्रविधिक शिक्षालाई अझ गुणस्तर हुनुपर्छ र नयाँ ढङ्गबाट यस कार्यक्रलाई अगाडी बढाउनु पर्छ भनेर हामी लागिरहेका छौं ।
देशभरि प्राविधिक शिक्षालाई विस्तार गर्नुपर्छ भनेर लागिरहेको बेला सिटिइभिटी आफैले देशमा कुन–कुन जनशक्ति कहाँ–कहाँ आवश्यकता परेको छ भनेर प्रक्षेपण गर्नु भएको छ ?
त्यस्ता थुप्रै प्रक्षेपण तथा कार्यहरु सिटिईभिटीले गर्दै आईरहेको छ । गत वर्ष गिरीराजमणी पोखरेल शिक्षामन्त्री हुँदाखेरी डा. राजेन्द्र अधिकारीको संयोजकत्वमा एउटा कार्यदल बन्यो । जसअन्तर्गतको कार्यदलले स्कील म्यापिङ्ग गरी कुन ठाउँमा कस्तो र कति जनशक्ति आवश्यकता परेको हो भन्ने विषयमा अध्ययन गरेर त्यसको विवरण शिक्षा मन्त्रालयसम्म पनि पु¥याएको थियो ।
सिटिइभिटीलाई अहिलेसम्म पनि कतिपय विद्यार्थी अभिभावकहरुले विश्वास गर्न नसकिरहेको अवस्था छ । सिटिइभिटीको कोर्ष पढेपछि यसबाट भविष्य बन्छ भन्ने कुराको प्रत्याभूति गर्न नसकिरहेको अवस्था छ ?
सर्टिफिकेट लेबलको हामी १० कक्षा देखी लिएर तीन वर्ष सम्मको कोर्ष चलाउँछौं । कसैले डिप्लोमा फार्मेसी भनेका छन् र कसैले पीसीएल नर्सिङ भन्छन्ं । यो एक प्राविधिक शिक्षा भएकोले यसबाट डिप्लोमा तहको कार्यक्रम हुन्छ भन्ने मान्यता रहेको छ । यो भनेको खासगरी ईन्टरमिनेट लेबलको पढाई हो । जसबाट विद्यार्थीहरुले हायर एजुकेशन, ब्याचलर, मास्टर र मेडिकल समेतमा पढ्न पाईरहेका छन् । साथै, विदेशमा गएर युनिभर्सिटी कोर्षमा पीएचडी पनि गरीरहेका छन् । त्यसैले यो मान्यताप्राप्त छैन भन्ने पनि छैन । तर सिटिइभिटीले साधारण शिक्षालाई भन्दा पनि बढी प्राविधिक शिक्षालाई प्राथमिकता दिएको हुनाले र पढाईको पाटाहरु अलि फरक ढङ्गबाट सञ्चालन हुने हुँदा पनि यसको कम बुझाईका कारणले पनि सो कुराको प्रत्याभूत गर्न नसकेको हुन सक्छ ।
प्राविधिक शिक्षाको पाठ्यक्रम स्ट्रक्चर यहाँहरुले कसरी निर्माण गर्नुहुन्छ ?
सिटिईभिटीको पाठ्क्रम महाशाखाले जनस्तरबाट कुन विषयको पाठ्यक्रम कुन विषयको लागि निर्माण गर्ने भन्ने कुराको माग अनुरुप नै दक्ष तथा अनुभवी व्यक्तिहरुसँग छलफल गरि पाठ्यक्रमको डिजाईन गरेर नै विभिन्न विषयको पाठ्यक्रम निर्माण गरिन्छ । कुनै पनि ठाउँमा उद्योग तथा व्यवसायमा कस्तो जनशक्तिको माग भईरहेको छ, त्यो कुराको अध्ययन गरेर पाठ्यक्रम तयार पारेर हामी बजारमा लान्छौं ।
सिटिईभिटी बाट सम्बन्धन प्राप्त सबै शैक्षिक संस्था राम्रोसँग सञ्चालन भईरहेका छन् भन्ने पनि हुँदैन, यो अवस्थामा अझै ती संस्थाहरुलाई सुध्रन र मोनिटरिङ गर्नका लागि केके कार्यक्रम सञ्चालन भईरहेको छ?
हामीे हरेक साल ती सबै संस्थाहरुलाई नियमित मोनिटरिङ सुपरभिजन गर्दै लगिरहेका छौं । सम्भवतः चलेका संस्थाहरुमा युनिभर्सिटीले दिएका ब्याचलर लेभलका कार्यक्रमहरु र सिटिईभिटीले आफ्नो मातहतमा चलाउने संस्थाहरुमा मोनिटरिङ गर्छ । सिटिईभिटी मात्र होला जसले हरेक साल संस्थाहरुको भिजिट गर्छ । हरेक साल ती संस्थाहरुको मोनिटरिङ सुपरभिजन टिमले दिएको रिपोर्टको आधारमा त्यस संस्थालाई निरन्तरता दिने कि नदिने भन्ने निर्णय हुन्छ , यसले गर्दा कतिपयले हरेक साल नै सिटिईभिटीले किन मोनिटरिङ सुपरभिजन गर्नुपर्छ र ! एक चोटी गरेपछि भईहाल्छ नि भनेर पनि प्रश्न उठ्ने गर्छ, तर पनि हामीले हरेक साल नै सिटिईभिटीका कार्यक्रमलाई प्रभावकारी रुपमा बढाउन हरेक साल मोनिटरिङ सुपरभिजन गर्दै आईरहेको छौं । र मर्जको कुरा गर्दा अहिले जुन हिसाबले बैंकहरुको मर्ज हुँदै गईरहेको छ , त्यसरी नै शिक्षा क्षेत्र पनि मर्ज गर्ने कुरा लाई अघि सारेको छ । तर, हामीसँग मर्जको प्रक्रिया पनि त्यति चलेको छैन र यदी कुनै संस्था नीतिको ढङ्गले मर्ज गरेर जाने भनेर आयो भने त्यो अवसर पनि प्रदान गर्न सकिन्छ ।
संस्थाहरुलार्ई सम्बन्धन दिँदा कसरी दिनु भएको छ ?
यो निजीको पाटो भएका कारण सम्बन्धनको कुरा आउँदा अलि विवाद पनि आउने गर्छ । यसले गर्दा सिटिईभिटीको आलोचना पनि गर्ने गर्दछ । जसले गर्दा सम्बन्धन लामो समय अवरुद्ध पनि भएर बसेको छ । २०६८ मा केही एप्लीकेशन पनि आएका थिए । तर ती सम्बन्धनकै चरणमा छन, सम्बन्धन स्वीकृति पाएका छैनन् ।
त्यसैगरी २०६९ सालमा फेरि त्यसरी नै सम्बन्धनका लागि निवेदन ल्याएका थिए । र ती माग गरेका १६ सय ९४ निवेदन अहिले पनि सिटिईभिटीमा पेन्डिङ भएर बसेका छन् । ती सबैलाई सम्बन्धनको प्रक्रियामा लगिसकेको अवस्था छैन तर जति पनि निजी संस्थाहरुले सम्बन्धन प्राप्त गर्न निवेदन दिएका छन् ती सबैलाई सम्बन्धन दिने र धेरै संस्था विस्तार गर्ने भन्दा पनि जति पनि आवद्ध संस्था छन् तिनीहरुलाई चाहिँ गुणस्तरीय बनाउँदै लैजाने भन्ने प्रक्रियामा हामी लागेका छौं । तर, केही संस्थालाई भने तिनको परिस्थिती बुझेर मर्का नपार्ने गरी सम्बन्धन स्वीकृति भने दिने प्रयासमा छौं ।
निवेदन दिइसकेका संस्थाहरुलाई कहिले सम्म र कसरी सम्बन्धन दिनुहुन्छ ?
सम्बन्धन सबैलाई दिने भन्ने हुँदैन, नीतिगत ढङ्गले निर्णय गरे पछि मात्र सम्बन्धन खुला गरेर जाने हो र जुन संस्थाले पूर्वाधार पूरा गरेको छ , जसले प्रशासनिक प्रक्रिया पूरा गरेको छ, जसले गुणस्तरीयता सुनिश्चितताको अवस्था सिर्जना गरेको छ, जसले भौतिक संरचना पूरा गरेको छ र जुन कानूनी हिसाबले चलेको छ, ती संस्थाहरुलाई लिएर सकेसम्म यही वर्षमा नै भर्ना लिने मिल्ने गरी सम्बन्धन दिने हाम्रो सोच छ । तर, यसका लागि भने मन्त्रालय काउन्सिल आदि देखी लिएर सम्बन्धित सबै पक्षको सहयोगको खाँचो छ ।
अन्तमा कोभिड १९ महामारीको अवस्थामा छात्रवृत्ति र परीक्षालाई कसरी व्यवस्थित गर्दै आईरहनुभएको छ ?
परिस्थिति अनुसार नै अहिले भर्चुअल प्रक्रियामा कार्यक्रम अघि बढिरहेको छ तर, प्रक्रियालाई पूरै रुपमा अवरुद्ध गर्ने भन्ने हुँदैन । तर, इन्र्टनसिप हुनुपर्ने कुरामा परिस्थिति हेरेर तत्काल निर्णय गर्दैसम्भव भएसम्मको सबै कार्यक्रमलाई निरन्तरता दिनेछौं ।
एक डेढ महिना सम्मको परीक्षा वा कार्यक्रमहरुलाई त हामीले क्यालेण्डरमा मेण्टेन गर्दै लैजानेछौं तर पाँच छ महिना सम्म नै लम्बियो भने हामीलाई त्यसले ठूलो असर गर्छ । तर पनि समग्रमा सबै ठाउँका कार्यक्रमलाई समस्या नहुने गरी निरनतरता दिने कार्ययोजनामा लागेका छौं ।