शिक्षाको राजनीति गर्नुको सट्टा शिक्षामा राजनीति भयो


काठमाडौं /१० चैत – नेपालको शैक्षिक अवस्था, विवेकशील साझापार्टीको शैक्षिक एजेण्डा र अबको शिक्षा कस्तो हुनु पर्छ लागायत विविध विषयमा खबर एजुकेशन डटकमले विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंशः

नेपालको शैक्षिक अवस्थालाई यहाँहरुको पार्टीले कसरी हेरेको छ ?
नेपालको शैक्षिक अवस्था अहिले दिशाविहिन छ । देशको शैक्षिक अवस्था र नीतिलाई हेर्ने हो भने विद्यार्थीलाई किन पढाईरहेका छौं भन्ने सवालमा हामीले खासै उत्तर पाउन सकिन्नँ । यो पुरानै देखि चलि आईरहेको कर्म काण्ड जस्तो, सबैले पढिराछन् त्यहि भएर पढेको हो भन्ने हिसाबबाहेक अरु कुनै नयाँपन नभएको, र यसमा शिक्षालाई प्रभावकारी र उत्पादनमूलक र परिणाममूखी बनाउने दायित्वबाट अभिभावक देखी लिएर शिक्षक, स्थानीय तह, नेतृत्व व्यक्ति आदि सबैजना चुकेको देखिन्छ ।

राजनितिक पाटोबाट हेर्ने हो भने सधै विकास र निर्माणका कार्यहरुमात्र देखिन्छ तर शिक्षा कहिलै पनि राजनितिक एजेण्डा बनेन, यसमा विवेकशील साझापार्टीको के छ ?
यदि राजनीतिलाई बुझ्ने हो र समृद्धि विकास नै नेतृत्वले चाहने हो भने शिक्षा क्षेत्रलाई प्राथमिकता दिनुप¥थ्यो । तपाई संसारको कुनै पनि विकसित देशको बारेमा अध्ययन गर्नहोस्, ती सबैले शिक्षा क्षेत्रहरुमा प्राथमिकता दिईरहेका छन् ।

समृद्धिको पहिलो खुड्किला भनेकै शिक्षा हो । जबसम्म शिक्षा क्षेत्रमा लगानी हुन्न र त्यसलाई प्राथमिकतामा राख्नुहुन्न, तबसम्म देशले समृद्धिको पथको यात्रालाई तय गर्न सकिदैंन । हाम्रो मूल समस्या के हो भने हामीले शिक्षाको राजनीति गर्नुको सट्टा शिक्षामा राजनीति ग¥यौं । शिक्षामा विश्वविद्यालयदेखि न्यायालयसम्म भागबण्डा र राजनीति हुन थाले पछि शिक्षा क्षेत्र विकास हुन सकेको छैन । आजको दिन सम्म पनि हाम्रो नेतृत्वले शिक्षाको महत्वलाई बुझ्न सकेन । जुन विडम्बनाको कुरा हो ।

यस विषयमा मैले शिक्षा क्षेत्रका केही दिग्गज व्यक्ति, मन्त्री तथा शिक्षा सरोकारवालाहरुसँग कुराकानी गर्दाखेरी तपाईहरुले बनाउने योजनामा भिउ टावर प्राथमिकतामा पर्छ, विभिन्न रोजगारी कार्यक्रमहरु प्राथमिकतामा पर्छ, सांसद विकास कोष भनेर विभिन्न संस्थाहरुलाई रकम प्रदान गर्ने भन्ने विषय प्राथमिकतामा पर्छ तर विद्यालय भवन निर्माणमा, शिक्षाका विषयहरुमा राम्रो नीति तथा योजना किन गर्दैनन् भन्दाखेरी शिक्षा क्षेत्रमा लगानी गर्दा अहिलेको अहिले नै परिणाम नआउने र वर्षौ समय लाग्ने भन्ने वैचारिकता देखियो । यसर्थ, नेतृत्वमा त्यो धैर्य धारण नभएकाले र शिक्षा क्षेत्रमा दूरदर्शिता नभएको कारणले समस्या भएको देखिन्छ ।

शिक्षा क्षेत्र विकास सम्बन्धि तपाईहरुको कुनै योजना छ?
हामीले शिक्षालाई प्रमुख एजेण्डामा राखेर देशको शिक्षालाई अब बदल्नुपर्छ भन्दै नेतृत्व लिने हिम्मत गरी अघि बढ्दै आएका छौं । हाम्रो प्रमुख एजेण्डा भनेकै प्रत्येक विद्यार्थीको शिक्षा गुणस्तर र निःशुल्क हुनुपर्छ भन्ने विषय हो । जात, धमर्, क्षेत्र र समुदायको नाममा राजनीति गर्दा हामी अलि छिटो पनि पुगिन्थ्यो होला, हाम्रो मास अहिले चर्को पनि भईसक्थ्यो होला तर हामीले त्यस्तो गरेनौं । हामी सचेत छौं, हामीले चुनौतीपूर्ण बाटो अपनाएका छौं ।

शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो भन्दै त्यसमा हामीले आवाज उठाएका छौं । अहिले पनि हामीले त्यसको वकालत गर्दै त्यस सम्बन्धि सचेतनामूलक कार्यक्रम चलाईरहेका छौं ।

अरु पार्टीले विभिन्न भातृ संगठनहरु खेलेर विदार्थी, शिक्षक जोडिएर राजनिति गर्दै आइरहेका छन तर शिक्षा कहिलै पनि राजनितिक एजेण्डा बनेन । तपाईहरु पनि याहिबाटो हो की फरक छ ?
विभिन्न संघसंस्थाले विद्यालय खोले, विद्यार्थी संगठन खोले, तर शैक्षिक एजेण्डा भने खासै कुनैमा पनि देखिएन । कुनै पनि प्राध्यापकले आजसम्म शिक्षाको गुणस्तर बढ्नुपर्छ, र कलेजमा पुस्तकालय भएन भनेर आन्दोलन गरेको सायदै सुनेको होला । विद्यार्थीले पनि आजसम्म यो पुस्तकालय भएन, पाठ्यक्रम बदल्नुप¥यो, शिक्षकहरुको अध्यापन शैली राम्रो भएन भनेर पनि आन्दोलन गरेका छैनन् । जबकि पेट्रोलको मूल्य बढ्दा उनीहरुले टायर बाल्छन, आफ्नो पार्टीको नेतालाई जिताउन चुनाव गर्छन्, विभिन्न आन्दोलन गर्छन् ।

हामीले अहिले कुनै पनि शैक्षिक संस्थाहरुसंग मिलेर भातृ संगठन खोलेका पनि छैनौं । किनकि हामी अलि फरक ढंगबाट शैक्षिक एजेण्लाई ल्याउन प्रयास गरीरहेका छौं । अहिले स्कूल तथा विश्वविद्यालयमा हुने राजनीति एउटा राजनीति नभई दलनीति र गुटनीति हो । दलीय स्वार्थबाट तिनीहरु प्रेणित छन् । विद्यार्थीको स्वार्थ, समाजको उत्थान र प्रगतीको विषयमा कहिंकतै पनि समेटीएका छैनन् । यदी राजनीति हुने हो भने यस विषय आवाज उठ्थ्यो । तर, दलनीति र गुटनीतिका कारण यस विषयमा ध्यान पुगेको देखिन्न ।

शिक्षा क्षेत्रमा गुणस्तर प्रदान गर्न र शिक्षामा राजनीतिकरण हुन नदिन तपाईहरुले के–के गर्दै आईरहनु भएको छ ?
हामीले अहिले गर्न सक्ने भनेकै शिक्षाको मूल विषयलाई एजेण्डा मानेर त्यस सम्बन्धि सम्बन्धित पक्षहरुमा सचेतनामूलक कार्यक्रम चलाउनु नै हो । हामी अहिले भर्खरै दल खोलेर संगठन निर्माणमा छौं । एक सामाजिक अभियन्ता भएसँगै राजनीतिक क्षेत्रमा लागेकोले विभिन्न देशविदेश घुमेर त्यहाँको शिक्षक सरोकारवालाहरुसँग भेटघाट गरेर व्यक्तिगत रुपमा शिक्षाको एजेण्डा बनाएर अगाडी समेत ल्याएका छौं। ताकि, हामी सरकारमा पुगेपछि त्यस कुराहरुलाई सहज रुपमा लागू गर्न सकियोस् ।

हामीले कुनै पनि शैक्षिक माफियाहरुबाट आजसम्म एक पैसा पनि लिएका छैनौं । हामी त्यति नैतिक र शाहस राख्छौं कि भोलिका दिनमा ति रिपोर्टहरुलाई पेश गर्न सकियोस् । यहाँ जसले पढाउन सक्तैन तिनीहरुले आफ्नो राजनैतिक कार्यकर्ता राखेर काम गर्न लगााएका छन् । यिनीहरुलाई हामीले हटाउन त सक्छौं नि ! हामीले वैकल्पिक राजनीति गर्छौं तर दलनीति र गुटनीति भने गर्दैनौं ।

पछिल्लो समयमा संस्थागत र सार्वजनिक विद्यालयमो विभाजन देखाइएको छ, यो आवश्यक छ ?
यसबारे स्पष्ट भन्नुपर्दा यदि सार्वजनिक विद्यालय पनि नीजि विद्यालय जस्तै व्यवस्थित र राम्रो हुने हो भने सबैले सार्वजनिक विद्यालय नै रोज्छन् होला, अहिले मान्छेहरु बाध्यताले पनि आफ्ना छोराछोरीहरुलाई नीजि विद्यालयमा पढाईरहेका छन् । नीजि विद्यालयका प्रधानाध्यापक पनि दक्ष नै देखिन्छन् । खासै कुनै पनि पार्टीमा लागेको उनीहरु देखिंदैनन् ।

संस्थागत तथा सार्वजनिक दुवैमा शिक्षाको गुणस्तर सुधार्न के गर्नु पर्ला ?
सााुदायिक तथा सार्वजनिक दुवैमा शिक्षा स्तरलाई सुधार्न प्रमुखतयाः यि तीन कुराहरु सुध्रन आवश्यक छ ।

सरकारले सार्वजनिक विद्यालय कमजोर भयो र यसलाई बन्द गर्नुपर्छ भन्ने नीतिलाई अगाडी सार्ने भन्दा पनि त्यसलाई अझ गुणस्तरिय र सबल बनाउने नीति ल्याउन सक्नुपर्छ । ताकि, अब नीजि किन चाहियो र भन्न सकुन् । यसका लागि सबैभन्दा पहिले नीतिगत सुधार नै चाहिन्छ ।

त्यससँगसँगै नेतृत्व र नेतृत्वको नियतमा पनि भर पर्छ । किनकि अहिले विभिन्न नेतृत्वकर्ताहरुले भर्खरका विद्यार्थीहरुलाई आफ्ना पार्टीलाई जिताउन जुन झण्डा बोकाएर राजनीतिकरण गरेका छन्, त्यो भन्दा नराम्रो अरु के होला ! त्यसविरुद्ध पनि लाग्ने अभियानमा हामी छौं । तसर्थ, अहिलेको शिक्षाको अवस्थालाई परिवर्तन गर्न नीति, नेतृत्व र नियत यि तीन कुराहरुमा राम्रोसँग सुधार्नुपर्छ ।

त्यस्तैगरि, हामीले अब खराब र दक्ष नभएका र आफ्नो स्वार्थका लागि मात्र काम गर्ने शिक्षक तथा प्रधानाध्यापकहरुलाई निष्काशन गर्ने तथा दलीय नीति, भागबण्डा नीति खारेज गर्ने योजना बनाईरहेका छौं ।

अर्को कुरा भन्नुपर्दा संरचनामा परिवर्तन पनि चाहिन्छ । अहिलेको अवस्थामा पनि देशको ७८ प्रतिशत विद्यालयहरुमा कम्प्यूटर पुगेको छैन, ६५ प्रतिशत बिजुली पुगेको छैन, २८ प्रतिशत विद्यालयमा कक्षाकोठा छैन, १६ प्रतिशत विद्यालयमा शौचालय छैनन्, २९ प्रतिशत छात्रा शौचालय छैन । अतः यि जुन भौतिक संरचनाहरु छन्, ती संरचनाहरुलाई पनि नितान्तः सुधार गर्न आवश्यक देखिन्छ ।

कुनै पनि विद्यार्थीले यो विद्यालय वा कलेजमा पढेर राम्रो गर्छु र शिक्षकहरुलाई पनि यो विद्यालयमा पढाएर राम्रो हुन्छु भन्ने विश्वास उनीहरुमा देखेको पाईदैन । यसले पनि शिक्षालाई परिवर्तन गर्न सकिंदैन । त्यसकारण संरचनागत रुपमा विद्यालयको भवनदेखि लिएर, लाईब्रेरी, कक्षाकोठाको उचित व्यवस्था गरेर विद्यार्थी तथा शिक्षक दुवैलाई मैलै यो ठाउँमा आएर राम्रो गरेकोछु, र यो क्षेत्रमा लागेर भविष्य बनाउन सक्छु है भन्ने कुराको अनुभूति त्यो विद्यालय र कलेजले दिलाउन सक्नुपर्छ ।

पाठ्यक्रम, पढाउने विधि र परीक्षा प्रणलीलाई कसरी हेर्नु भएको छ ? यसमा सुधारको खाँचो हो ?
नेपालमा ५० प्रतिशत शिक्षक तथा प्राध्यापकहरु पढाउन नसक्ने, सामान्य ज्ञान समेत नभएका अयोग्य छन्, यसमा अनुसन्धान गर्ने हो भने यो होईन भन्ने अवस्था पनि छैन । यसले गुणस्तरिय विद्यार्थी उत्पादन गर्न नसक्ने हुँदा यसमा शिक्षकको नै दोष देखिन्छ ।

यसका साथै देशले पाठ्यक्रममा पनि परिवर्तन गर्न जरुरी छ । अहिले २१ औं शताब्दीको विद्यार्थीलाई २० औं शताब्दीको शिक्षकले १९ औं शताब्दीको पाठ्यक्रम १८ औं शताब्दीको विधिबाट पढाईरहेका छन् । यस्तो भन्नुको तात्पर्य अहिले पाठ्यक्रलाई पनि बदल्न जरुरी छ । अहिलेको पाठ्यक्रमलाई हेर्ने हो भने ८० प्रतिशत विषयहरु त अनावश्यक छन् । यसको अर्थ पाठ्यक्रममा विद्यार्थीहरुलाई सिर्जनात्मक तथा क्रियाशील बनाउने सीपमूलक र परिणाममूलक विषयहरु समावेश नै गरिएको छैन ।

साथै, त्यहि पाठ्यक्रलाई शिक्षकहरुले पढाउने विधि पनि प्रभावकारी छैन । शिक्षक कक्षाकोठामा आयो पुरोहितले चण्डी पाठ पढ्ने गरी खर्रर पढायो र हिँड्यो । यसबाट कति विद्यार्थीले के सिके, कसरी बुझे त्यसमा खासै शिक्षकहरुले ध्यान पु¥याएको देखिँदैन । त्यसमा शिक्षकले एकदमै सुधार्नु आवश्यक छ ।

अब नेपालमा परीक्षा कै कुरा गर्नुपर्दा यो एउटा कर्मकाण्ड जस्तो मात्रै भएको देखिन्छ । पास भए पुग्ने र प्रमाण पत्रका लागि मात्र परीक्षा हुने किसिमको पाईन्छ । विद्यार्थीले कति कुरा जानेका र बुझेका छन्, त्यो कुराहरुमा अभिभावक तथा शिक्षकहरुको ध्यान छैन बरु उल्टै परीक्षामा चीट चोर्न लगाएर हुन्छ कि घुस खुवाएर हुन्छ, जसरी हुन्छ पास गराउने कुरामा बढी चासो देखाएको पाईन्छ । तसर्थ यि समस्यामा हामीले क्रमिक रुपमा परिवर्तन वा समाधान गर्दै जाने हो भने शिक्षा क्षेत्रलाई हामी आमुल रुपमा सुधार्न सक्छौं ।

त्यसो हो भने विश्वविद्यालयले अब कस्तो खालको पाठ्यक्रम बनाउनुपर्छ जस्तो लाग्छ ?
विद्यालय तथा विश्वविद्यालयले आजको समयले के मागेको छ, समाजले, बजारले र देशले के मागेको छ, त्यो अनुसारको विषयलाई अध्ययन गरेर विभिन्न ज्ञान, सीप प्रदान गर्न सक्ने विषयहरु पाठ्यक्रममा समावेश गर्न सक्नुपर्छ ।

यस सन्दर्भमा एउटा रोचक कुरा के छ भने हिजोका जमानामा विद्यार्थी ज्ञान र तथ्यहरु संकलन गर्न मात्र विद्यालयमा जाने वा शिक्षकहरुलाई भेट्ने गर्दथ्यौं । तर विगत् २०/३० वर्षदेखी हेर्ने हो भने विद्यार्थीलाई चाहेको ज्ञान गुगलमा खोजेर वा पुस्तक पढेर पनि पाईन्छ । अहिलेको अवस्थामा पढाईकै लागि नै विद्यार्थी किन विद्यालय जाने, किन कलेज धाउने ? यो त घरमै बसेर पढ्न सकिन्छ नि! भन्ने अहिलेको प्रमुख प्रश्न रहेको छ । यसका साथै, कतिपय देशहरुमा अहिले घरमै बसेर पनि पढाउने विधि सुरु गरिसकेको छ, जसले गर्दा स्कूल तथा कलेज बन्द हुन थालेका पनि छन् । विभिन्न शिक्षाविद्का अनुसार सन् २०५० सम्ममा त सबै स्कूल, कलेजहरु बन्द हुन्छन् भन्ने पनि छ ।

उच्च शिक्षाका लागि अधिकांश विद्यार्थी अहिले विदेश अध्ययन मै जाने परिपाटी छ, यसलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
यस विषयबारे कुरा गर्नुपर्दा सबैभन्दा समस्या त राजनीतिमा देख्दछु । साथै, अधिकांश विद्यार्थी कामको शिलशिलामा मात्र विदेश जाने र केही कम विद्यार्थीहरु मात्र पढ्न नै जाने भनेर विदेशीएका देखिन्छन् । यो सब देशमा एउटा सम्भावनाको माहोल बनाउन नसक्ने नेतृत्वका कारण पनि यस्तो समस्या सिर्जना भएको देखिन्छ । र अर्को कुरा, यसमा विश्वविद्यालयको पनि कमजोरी देखिन्छ । विश्वविद्यालयले दिने शिक्षा उत्पादन र परिणाममुखी नभएकाले गर्दा एक दिन पनि स्कूल नगएका र पढाईमा कमजोर विद्यार्थीलाई समेत पास गराएको देखिन्छ, यस्तो किसिमको लापरवाहीका कारण पढाईमा अब्बल उनीहरुमा आत्मविश्वासको कमि र देशको विश्वविद्यालयप्रति असन्तुष्टि र अविश्वास पैदा भएको देखिन्छ । यसकारण पनि विद्यार्थीहरुको बाध्यात्मक रुपमा विदेश जाने क्रम बढ्दो छ ।

अन्तमा के भन्न चाहानु हुन्छ ?
अन्तमा, भन्नुपर्दा देशको कुनै पनि क्षेत्रमा विकास तथा परिवर्तन गर्न सबैभन्दा पहिला त्यस देशको शिक्षास्तर र शिक्षा नीति राम्रो हुनु जरुरी छ । राजनीतिको कुर्सीमा बस्नेहरुले शिक्षाको महत्वलाई बुझ्नुपर्छ र शिक्षालाई प्राथमिकता दिनुपर्छ । शिक्षा नै हरेक समस्याको समाधान हो, जस्तै के कुरा गर्न हुने र के कुरा गर्न नहुने भन्ने कुराको चेतना, विवेक ज्ञान तथा हल नै शिक्षाले दिने हँुदा राजनीतिले समाधान गर्न नसककेका समस्या शिक्षाले गर्न सकिन्छ । बेरोजगार, असमानता, हत्या र हिंसा यि सबै समस्याको समाधानको रुपमा गहिरिएर हेर्ने हो भने एक मात्र उपाय शिक्षा हो ।

समृद्ध सुखी र खुसी के ले दिन्छ भन्दा शिक्षाले दिन्छ । तसर्थ, अहिलेको हाम्रो प्रमुख प्राथमिकता भनेकै शिक्षा हो, शिक्षा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *