शिक्षक महासङ्घको महाधिवेशन हुँदै : अलमलमै आबद्ध घटक संगठन

काठमाडौँ /४ बैशाख – नेपाल शिक्षक महासङ्घले दोस्रो राष्ट्रिय महाधिवेशनको मिति बैशाख १०,११ र १२ गतेलाई तय गरेको छ । पटक पटक सारिएको महाधिवेशनको मितिमा बैशाख ६,७ र ८ गते गर्न भनिएपनि यसलाई केही दिन सारेर यही बैशाख १०,११ र १२ गते गर्ने निर्णय गरेको हो ।


४० भन्दा बढी जिल्लाहरूमा अधिवेशन सम्पन्न गरेर महासङ्घले राष्ट्रिय महाधिवेशन गर्न लागेको जनाएको छ । तर, महासङ्घमा आवद्ध ठुलो घटक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनले भने १० गतेको महाधिवेशनका विषयमा निर्णय गरिसकेको छैन । केही दिन अगाडी प्रदेश अध्यक्षहरूले सहभागी नहुने भन्दै विज्ञप्ति जारी गरेपछि नेपाल राष्ट्रिय शिक्षक संगठनले यसबारे अलमलमा पेको छ । यसबारे निर्णय गर्न बैशाख ७ गते राष्ट्रिय समितिको बैठक समेत बोलाएको छ ।


महासङ्घले २०७८ मा जिल्लाबाट पठाइएको नामावलीकै आधारमा महाधिवेशन गर्ने तयारी गरेपछि नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश अध्यक्षहरूले सहभागी नहुने भन्दै दबाब दिएका छन् । उनीहरूले २०७८ पछि शिक्षण पेशामा प्रवेश गरेका शिक्षकहरूलाई पनि सहभागी गराउनुपर्ने माग राख्दै २०७९ र २०८० गरी दुई वर्षको नविकरण नगर्न र नविकरण वापतको रकम नपठाउन आफू मातहतका शिक्षकहरूलाई आग्रह गरे ।


नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव हंसबहादुर शाहीले बैशाख ७ गते बस्ने बैठकले महाधिवेशनमा भाग लिने वा नलिने भन्ने बारे निर्णय गर्ने बताए । उनले २०७८ सालमा सार्वजनिक गरेको नामावली अनुसार महाधिवेशनमा भाग नलिन प्रदेश अध्यक्षहरूले विज्ञप्ति जारी गर्नु भएको छ । त्यसबारे बैशाख ७ गते मात्रै बैठक बसेर निर्णय लिन्छौँ । अहिले नै मैले व्यक्तिगत रूपमा भन्ने अवस्था छैन ।


त्यसैगरी अर्को घटक संगठन नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले २०७८ सालमा जिल्लाले पठाएको विवरणका आधारमा जिल्ला अध्यक्षहरू चयन गर्ने तयारीमा महासङ्घ रहेको बताउँदै तत्कालीन विवरणमा विद्यालय कर्मचारीहरूको विवरण झुट रहेको बताए । उनले यही बैशाख १०,११ र १२ गते महाधिवेशन गर्न लागिएपनि कर्मचारीहरूकै विवरण झुट रहेकोले यसलाई सच्याउनुपर्ने उनको तर्क छ ।


राष्ट्रिय महाधिवेशनलाई केन्द्रीत गरेर पदस्वपनका निम्ति केन्द्रबाट अध्यक्ष र महासचिवको हस्ताक्षर भएको प्रमाणित प्रतिलिपि बाहिर ननिकाल्ने सर्तमा सबै आबद्ध संगठनहरूको सहमतिमा उक्त विषय संस्थाका अध्यक्षहरूलाई उपलब्ध गराउने भनिएतापनि सो उपलब्ध नगराई सामान्य सल्लाह मार्फत सामाजिक सञ्जाल मार्फत जानकारी गराइएको भन्दै तिवारीले विरोध गरे ।


नेपाल शिक्षक संघका महासचिव ज्ञानेन्द्र रावलले नेपाल शिक्षक महासङ्घको राष्ट्रिय महाधिवेशन १० गते हुने निर्णय भएको बताए । यसबारे सबै आबद्ध घटक संगठनहरूको सहमति रहेको बताउँदै आधिकारिक रूपमा कसैको पनि लिखित विमति नआएकोले १० गते नै हुने बताए । उनले धेरै शिक्षकहरूले महाधिवेशन गर्न दबाब दिएका कारण जसरी पनि १० गते हुनेमा जोड् दिए । साथै महासङ्घको अध्यक्ष पदका लागि संघले कसलाई पठाउने भन्ने बारेमा बैशाख ८ वा ९ गते बैठक बसेर निर्णय गरिने समेत जानकारी दिए ।


यता नेपाल शिक्षक महासङ्घले महाधिवेशनको उद्घाटन बैशाख १० गते ११ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा सम्पन्न हुने जानकारी दिँदै अधिवेशन सम्पन्न गर्न बाँकी रहेका जिल्लाहरूलाई यथाशीघ्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ । साथै महाधिवेशनका लागि जिल्ला अधिवेशनबाट चुनिएका जिल्ला अध्यक्ष र विधान बमोजिम कायम हुने सङ्ख्याको राष्ट्रिय महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिको नाम र विवरण लेखी बैशाख ७ गते भित्र राष्ट्रिय समितिमा पठाउन भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *