काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलमा नमुना राष्ट्रसङ्घ छलफल कार्यक्रम सम्पन्न

काठमाडौँ /१० माघ – काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलले आयोजना गरेको ३ दिने नमुना राष्ट्रसङ्घ छलफल कार्यक्रम एमयुएन ३।० सम्पन्न भएको छ । माघ ५ गते शुक्रवार एक समारोहबिच समुद्घाटन भएको कार्यक्रम ३ दिने चलेको थियो ।


कार्यक्रमको उद्घघाटन इजरायलका लागि नेपालका पूर्व राजदूत डा. अञ्जन शाक्यले गरेका थिए । उनले उद्घघाटन सत्रमा बोल्दै भने ‘भोलिका कर्णधार आजका विद्यार्थी नै हुन् र यी विद्यार्थीहरूमा समस्या समाधानको मानसिकता अभिवृद्धि गराउनु पर्नेमा स्कुलको भूमिका अपरिहार्य छ ।’ यस्तो नमुना छलफलले विद्यार्थीहरूको सोच विश्वव्यापी बनाउन सहयोग गर्नुका साथै विश्वको वातावरण, विकास, सामाजिक, आर्थिक, राजनीतिक साथै सङ्कट निरूपण र निराकरणका उपायका बारेमा समेत ज्ञान हासिल गर्नमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सम्झना खरेलले प्रज्ञा कुञ्ज विद्यालयले सधैँ नै युग सापेक्ष र व्यावहारिक शिक्षा दिने गरको र यसै क्रममा तीन दिने कार्यक्रमले विद्यार्थीहरूमा समय सापेक्ष शिक्षा तथा समय अनुकूल ज्ञान, सीप र व्यवहारको विकास हुने बताए । विद्यार्थीहरूमा विश्वव्यापी चासो बढाएर आत्मविश्वासका साथ जीवन उपयोगी शिक्षा संवाहन गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजक सल्लाहकार अल्मुनाई अद्वैत थापाको भनाई थियो ।


एमयुएन कार्यक्रममा २६ देशहरूको प्रतिनिधित्व गर्दै १२० जना विद्यार्थीहरूले वातावरण, मानव अधिकार, स्वास्थ्य, अर्थ तथा वाणिज्य साथै अन्तर्राष्ट्रिय सुरक्षा, प्रेस लगायतका विविध विषयमा छलफल गरेका थिए । यूथ थिङकर्स सोसाइटीका सह–संस्थापक क्षितिज भट्टराईको प्रमुख आतिथ्यमा ६ वटै कमिटीका विशिष्ट वक्ता, हरेक कमिटीका सभापति र संयोजक विद्यार्थीहरूलाई पुरस्कृत गरिएको विद्यालयले जनाएको छ ।


विद्यालयका प्राचार्य सुनीता पौडेलले विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकास गर्न यस्ता कार्यक्रमहरू नियमित रूपमा गर्ने र नयाँ पुस्तालाई त्यसको जिम्मेवारी दिँदै उनीहरूमा सामुदायिक सहयोगको भावना जागृत गराउन सधैँ उद्धत रहेको बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *