प्रदेश राजधानी भएको खुसीयालीमा पठन–पाठन नै बन्द, स्थानीयद्वारा विरोध

काठमाण्डौं/२८ पुष– प्रदेशको राजधानी हेटौंडा भएको खुसीयालीमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ क्षेत्र भित्रका सम्पूर्ण विद्यालयहरूको पठन–पाठन आज बन्द गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नं. ६ कार्यालयले हिजो भएको प्रदेश नं ३ को नाम वाग्मति र राजधानी हेटौंडा हुने घोषणा सँगसँगै त्यसको खुसीयालिमा त्यहाँको निजी तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गर्ने सूचना प्रकाशित गरेको थियो ।
वडाको उक्त निर्णयलाई स्थानीय सरोकारवालाहरूले भने नसुहाउने कार्यको संज्ञा दिएका छन् । विद्यार्थीको पठनपाठनमै प्रभाव पार्ने गरी खुसीयाली मनाउने विषय नभएको भन्दै उनीहरुले आश्चर्य जनाएका छन् ।
‘यो नित्तान्त राजनीतिक कुरा हो, यसमा विद्यार्थीको पठनपाठन रोक्नै पर्ने आवश्यकता नभएको’ भन्दै एक जना शिक्षकले आश्चर्य मान्दै भने । साना विषयलाई लिएर विद्यालयमा कतै पढाई हुने र कतै बन्द हुने गर्दा समाजमा नराम्रो सन्देश जाने भन्दै शिक्षामा स्थानीय तहले मनपरी गरेको एक शिक्षकले आरोप लगाए ।
तर वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईंले प्रदेश नं.३ को राजधानी हेटौंडा बन्ने निर्णय ऐतिहासिक विषय भएको र विद्यार्थीले पनि थाहा पाउन जरुरी रहेकाले यसको उपलक्ष्यमा खुसीयाली मनाउन पठन पाठन बन्द गर्नुको निर्णय उचित रहेको बताएका छन् ।
सो क्षेत्र भित्र आज ३ वटा सामुदायिक र ३ वटा निजी विद्यालयमा पठन–पाठन बन्द भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *