व्यवस्थापनका विभिन्न कोर्समध्येको एक हो ब्याचलर इन इनफरमेशन टेक्नोलोजी अर्थात बीआईएम । त्रिभुवन विश्वविद्यालय अन्तर्गत दुई दर्जनभन्दा बढी कलेजमा व्यवस्थापन संकाय अन्तर्गत अध्यापन हुने यो कोर्सले व्यवस्थापनसँगै सूचना प्रविधिको क्षेत्रलाई समेट्छ ।
प्रविधिको प्रयोग अहिले हरेक क्षेत्रमा आवश्यक भइसकेको छ । प्रविधिको सहयोग बिना कुनै पनि क्षेत्रमा काम गर्न असम्भव जस्तै बनेको छ । यस्तो अवस्थामा प्रविधिको सही प्रयोग गर्न सक्ने सीपसँगै त्यसलाई व्यवस्थापन गर्नका लागि कुशल व्यवस्थापकीय सीप सिकाउने कोर्सका रुपमा बीआईएमलाई लिन सकिन्छ । प्रविधिको अत्यधिक प्रयोग र त्यसलाई सही व्यवस्थापन कसरी गर्ने त भन्ने ज्ञान यो कोर्सले दिन्छ ।
पुरानोबानेश्वरस्थित कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एण्ड इन्फर्मेशन टेक्नोलोजीका काउन्सुलर सुनिल बादलका अनुसार बीआईएम आईटी र व्यवस्थापन विषयको सम्मिश्रण भएको विषय हो । आईटी र व्यवस्थापन दुवै विषयको बारेमा ज्ञान हासिल गर्न सक्ने भएकाले विद्यार्थीहरु जुनसुकै क्षेत्रमा पनि जान सक्ने बताए । विद्यार्थीहरुले व्यवस्थापनका विषय लिएर पनि पढ्न सक्छन् भने आईटीका विषय लिएर पनि अध्ययन गर्न सक्नछन् ।
बीआईएम ४ वर्षे कोर्ष हो । जसमा ८ सेमेस्टर हुन्छ । प्रत्येक सेमेस्टरमा २ वटा आईटी कोर्ष, त्यसै अनुसार म्यानेजमेन्ट कोर्स र एनालाइटिकल सपोर्टका कोर्सहरु पढाइ हुन्छ ।
बीआईएम आईटी र व्यवस्थापन विषयको सम्मिश्रण भएको हुँदा विद्यार्थीहरुले आईटी र व्यवस्थापन कुनै पनि क्षेत्रमा हात हाल्न सक्छन् । आईटी प्लस म्यानेजमेन्टको विषय भएको हुँदा बीआईएमको पढाई सकेपछि विद्यार्थीहरु जुनसुकै क्षेत्रमा पनि जान सक्ने बादलले बताए ।
अन्य विषयभन्दा यो विषय पढेका विद्यार्थीहरुले अध्ययन पश्चात सजिलै रोजगार प्राप्त गर्न सक्ने बादलले दाबी गरे । यो विषय अध्ययन गरेका विद्यार्थीहरुले नेटवर्किङ, वेवपेज, डाटाबेस तथा सफ्टवेयर बनाउन सक्षम भइसकेका हुन्छन् । जसले गर्दा उनीहरुले विद्यार्थीहरु विरोजगार बस्नु पर्दैन् । त्यसैले गर्दा पनि यो विषयतर्फ विद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ ।
कस्ता विद्यार्थीहरुले पढ्ने ?
आईटी र व्यवस्थापन विषयमा रुचि भएका विद्यार्थीका लागि यो उपयुक्त विषय हो । जुनसुकै संकाय पढेका विद्यार्थीहरुले पनि पढ्न पाउँछन् । कक्षा १२ को परीक्षामा सी ग्रेडभन्दा माथि ल्याएका र त्रिभुवन विश्वविद्यालयले लिने सिम्याटको परीक्षा उत्तीर्ण भएपछि यो विषय पढ्न पाइन्छ ।
कति लाग्छ त खर्च ?
शुल्कको कुरा गर्दा कलेज अनुसार फरक–फरक शुल्क तोकिएको हुन्छ । कलेजले दिने सेवा सुविधा अनुसार कलेजले शुल्क निर्धारण गरेको पाइन्छ । यो विषय अध्ययन गर्नका लागि सामान्यतया ५ देखि ६ लाख रुपैयाँ लाग्छ ।
के छ त स्कोप ?
बीआईएम पढेका विद्यार्थीहरुले भविष्यमा थुप्रै क्षेत्रमा जान सक्छन् । यो विषय अध्ययन गरेका विद्यार्थीहरु भविष्यमा सफ्टवेयर इन्जिनियर, सफ्टवेयर प्रोग्रामर, सिस्टम एनलाइसिस, क्रिएटिभ डिजाइनर, मल्टिमिडिया डिजाइनर, बैंक संगठन, सफ्टवेयर डेभलपर, मार्केटिङ अफिसर लगायतका क्षेत्रहरुमा रोजगारी प्राप्त गर्न सक्ने अर्किड इन्टरनेशनल कलेजकी एलिश श्रेष्ठले बताइन् । उनका अनुसार विद्यार्थीहरुलाई इन्टर्नसिप गराईने हुँदा सीप सहितको ज्ञान प्राप्त गर्न सक्छन् ।
कुन–कुन कलेजमा हुन्छ त पढाइ ?
नेपालमा सन् २००० देखि सुरु भएको बीआईएम विषयको अध्यापन त्रिभुवन विश्वविद्यालयसँग सम्बन्ध लिई कान्तिुपर कलेज अफ म्यानेज्मेन्ट एण्ड इन्फर्मेशन टेक्नोलोजी कलेजले सबैभन्दा पहिलो पढाउन सुरु गरेको हो । त्यसपछि अन्य विश्वविद्यालयहरुले पनि यो विषय पढान थालेका हुन् । सुरुमा पोखरा र काठमाडौं विश्वविद्यालयमा बीसीआईएम र पूर्वाञ्चल विश्वविद्यालयमा बीआईटीका नामले यो कोर्ष पढाई सुरु गरेको थियो । त्रिभुवन विश्वविद्यालयमा भने बीआईएम विषयका रुपमा यो विषय पढाई भइरहेको छ । त्रिभुवन विश्वविद्यालयले यो बीआईएम विषय अध्यापनका लागि १५ वटा कलेजहरलाई सम्बन्ध दिएको छ । त्रिभुवन विश्वविद्यालयले प्रत्येक कलेजमा बीआईएमका लागि सीट संख्या समेत तोक्ने गरेको छ ।