कठै; मेरो मास्टरी !

चितवन/’२ असार-

सर ! लौकालाई अङ्ग्रेजीमा के भन्छन् ?
मेरो रिसको पारो चढ्छ, पुन्पुरो तात्छ
घिरिम्लालाई के भन्छन् भन्त ?
विद्यार्थी निचोरिन्छ निबुवाझैँ
लौ, खा । मैले विजयको निसान छाप लगाउछु दाहिने / देब्रे गालामा क्रमश :
हत्केलाको छाप प्रष्टिने गरि
वरपरका अरु काम्छन् थर्थरी
जसरी काम्छन् भुइचालोमा बिजुलीका खम्बा ।
पाठयोजना, शैक्षिक सामग्री , कार्ययोजना , प्रविधिको प्रयोग ,बालमनोविज्ञान,पाठ्यक्रम
सबैले एक्कासि घाँटी थिच्छन्
सिंहले अर्नाको थिचेझैं ।
यो रुग्ण र वृद्ध काया
भाउन्न चल्छ ।
झन झन पछि झन् तन्नेरी बन्नु रे
भनाइ र गराइमा कहाँ हुन्छ तादम्यता?
जाबो पाँच वर्ष काट्न यो सकस!
यत्रतत्र दकसै दकस
कतिन्जेल चल्छ यो पाराले ?
किन हेप्छन् हँ साराले !
मेरो मास्टरी पतन हो वा विचार ?
कठै; मेरो मास्टरी !

(कृष्ण सुदामा नयाँ कमलकुसुम मावि भोजाड चितवनका शिक्षक हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *