सरोज बस्नेतसहित ४० जना पुरानै घर फर्किए, इक्यानका अध्यक्षले गरे भव्य स्वागत


काठमाण्डौं/१४ पुष– सरोजकुमार बस्नेतसहित ४० जना शैक्षिक परामर्श व्यवसायीहरू पुनः इक्यानमा प्रवेश गरेका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष विष्णुहरि पाण्डेले उनीहरूलाई सोमबार डिल्लीबजारस्थित इक्यानको कार्यालयमा अविर, खादा र प्रमाणपत्र सहित स्वागत गरेका छन् ।
पाण्डेले बस्नेतलाई इक्यानको सल्लाहकारको जिम्मेवारी समेत दिई प्रमाणपत्र प्रदान गरेका छन् । साथै अन्य सबै नयाँ सदस्यलाई प्रमाण पत्र वितरण गरे ।
ठूलो टिमलाई एकैसाथ स्वागत गर्दै अध्यक्ष पाण्डेले अब सबै एकजुट भएर अगाडि बढ्नु पर्ने बताए । ‘यो जुट्ने बेला हो, त्यसैले सबै एकैठाउँ उभिनु पर्छ, नीतिगत तहदेखि हरेक काममा अब एकजुट भएर अगाडि बढ्नुपर्छ,’ अध्यक्ष पाण्डेले भनेका छन् ।
कार्यक्रममा बोल्दै महासचिव शेषराज भट्टराईले उहाँहरू केही समय भ्याकेसनमा जानु भएको र फेरि फर्किएर घर आउनु भयो भन्दै स्वागत गरेका छन् ।
सरोज बस्नेतले हिजोका दिनमा जे जस्तो गल्ती भए पनि अब आगामी दिनमा मिलेर अगाडि बढ्ने दृढता व्यक्त गरे । साथै आफूहरूलाई इक्यानले गरेको स्वागतबाट निकै खुसी भएको समेत बताएका छन् ।
आगामी पुस २६ गते हुन गईरहेकोे साधारण सभा भव्य बनाउन सबै मिलेर अगाडि बढ्नुपर्ने उनले बताए । ‘पेन्सिलमा पनि इरेजर हुन्छ, केही गल्ती भए मेट्नुपर्छ, हामी मानिसले पनि कहिले काँही काम गर्दा गल्ती हुन सक्छ त्यसैबाट पाठ सिकेर अगाडि बढ्ने हो,’ बस्नेतले थप भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *