सूर्य ग्रहणका दिन सार्वजनिक विदाको माग


काठमाण्डौं/९ पुस– दक्षिण एसियाली ज्योतिष महासंघले सूर्य ग्रहणका दिन सरकारसँग सार्वजनिक विदाको माग गरेको छ ।
यो साताको विहीबार बिहान खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ । शास्त्रीय नियम र वैज्ञानिकविद् अनुसार पनि ग्रहणका समयमा बाहिर जान हानिकारक हुन्छ भन्दै घरमै बस्न सुझाव दिएको छ । अफिस र विद्यालयको समय परेकाले पनि दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समितिले विदाको आग्रह गरेको हो ।
सबै धर्म र सम्प्रदायले ग्रहणलाई मान्ने भएको हुनाले बिदा दिन सरकारसँग आग्रह गरेको दक्षिण एसियाली ज्योतिष महासंघका महासचिव सुरेश चन्द्र रिजालले बताए । यो साताको विहिबार बिहान करिब दुई घन्टा ४९ मिनेट लामो ग्रहण लाग्ने छ । करिब ६ वटा ग्रहहरू एकैस्थानमा रहेर ग्रहण लाग्ने हुनाले पनि यस वर्षको सूर्य ग्रहणलाई विशेष रूपमा हेरिएको छ । यसलाई एकदमै दुर्लभ खगोलिय घटना मानिएको छ । नेपाली समयअनुसार बिहान ८ बजेर ४२ मिनेटमा सुरू हुने ग्रहण १० बजेर ४१ मिनेटमा समापन हुने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *