विद्यालयका अध्यक्ष, प्रअ र शिक्षक विरुद्ध मुद्दा दायर

काठमाडौं/६ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको लागि आवश्यक विज्ञान सामग्री खरिदमा अनियमितता गरेको अभियोगमा रुपन्देहीको श्री हाजी ऐनायतुल्लाह सामुदायिक उच्च माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र शिक्षक विरुद्ध मुद्दा दायर गरेको छ ।
विद्यालयलाई विज्ञान सामग्री खरिदको लागि जिल्ला शिक्षा कार्यालय रुपन्देहीले आ.व ०७२/०७३ मा प्राप्त ६ लाख ५० हजार बाट खरिद गरेको भनिएका विज्ञान सामग्री मध्ये २ लाख ८२ हजार ३ सय ८४ बराबरको सामग्रीहरु विद्यालयमा नभेटिएको र निकासा रकम मध्ये ५ लाख १० हजार विज्ञान सामग्री खरिदको लागि पेश्की तथा भुक्तानी भएको र बाँकी १ लाख ४० हजार कसकसलाई कुन कुन शीर्षकमा भुक्तानी गरियो त्यसको अभिलेख नभएकाले उनीहरु विरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमालुद्दिन खाँ, तत्कालिन विज्ञान शिक्षक (हालका प्रअ) महमुद आलम खाँ तथा पूर्व प्रअ तथा हालका अंग्रेजी शिक्षक श्रीकान्त दुवे विरुद्ध हिनामिना गरेको ४ लाख २२ हजार ३ सय ८४ रुपैंया बिगो सहित मुद्दा दायर गरिएको छ ।
आयोगका अनुसार शिक्षक भर्नामा अनियमितता, विज्ञान सामग्री खरिद, शिक्षक नियमावली विपरीत विना अभिभावक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको र भवन निर्माणको रकम हिनामिना गरेको उजुरी परेपछि अनुसन्धान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *