शिक्षा क्षेत्रमा उल्लेखनीय उपलब्धि, ३५ हजार विद्यालय सञ्चालनमा

काठमाडौं/३० मंसिर– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै जारी गरेको “राष्ट्रिय शिक्षा नीति २०७६” मा नेपालको शिक्षा क्षेत्र उल्लेखनीय उपलब्धि प्राप्त भएको उल्लेख गरिएको छ ।
विद्यार्थी भर्नादर, विद्यालयको संख्या, प्राविधिक व्यावसायिक क्षेत्र सञ्चालन भइरहेका कार्यक्रमहरु, निजी क्षेत्रको योगदान लगायतका कुराहरुलाई आधार मानेर नेपालले शिक्षा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको नीतिमा उल्लेख गरिएको छ । विगतमा भएका लगानी र शैक्षिक पूर्वाधारको विकासबाट नेपालले वर्तमान अवस्थामा शिक्षा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकेको हो ।
शिक्षा नीतिमा उल्लेख भए अनुसार पूर्व प्राथमिक शिक्षामा कुल भर्नादर ८४.७ प्रतिशत पुगेको छ । प्रारम्भिक बालविकासको अनुभव सहित कक्षा १ मा भर्ना हुने बालबालिकाको प्रतिशत ६६.९ पुगेको शिक्षा नीतिमा उल्लेख गरिएको छ । प्राथमिक तह (कक्षा १ देखि ५), आधारभूत तह (कक्षा १ देखि ८) र माध्यमिक तह (कक्षा ९ देखि १२ को खुद भर्नादर क्रमश : ९६.९ प्रतिशत, ९२.७ प्रतिशत र ४६.४ प्रतिशत पुगेको छ । कक्षा ५ र कक्षा ८ सम्मको टिकाउ दर क्रमशः ८९.६ प्रतिशत र ७७.९ प्रतिशत रहेको छ । आधारभूत तथा माध्यमिक तहमा ७२ लाख १४ हजार ५ सय २५ विद्यार्थी भर्ना भई अध्ययन गरिरहेका छन् । प्रारम्भिक बाल विकास तथा शिक्षामा ९ लाख ७४ हजार बालबालिका अध्ययनरत छन् ।
लैङ्गि समता सूचकाङ्क आधारभूत तह र माध्यमिक तहमा क्रमशः ०.९८ र १.०१ रहेको छ । विद्यालय दोहो¥याउने दर आधारभूत तह (कक्षा १–५) मा ३.८ प्रतिशत र आधारभूत तह (कक्षा ६–८) मा ४.४ प्रतिशत तथा माध्यमिक तह (कक्षा ९–१०) मा ३.७ प्रतिशतमा झरेको छ ।
मुलुकभर सार्वजनिक र निजी लगानीका गरी ३५ हजार ५५ वटा विद्यालयहरु स्थापना भई सञ्चालनमा रहेका छन् । शिक्षामा पहुँच बढाउन वैकल्पिक तथा खुला शिक्षाका अवसरहरु उपलब्ध छन् । अभिभावकको लगानी परिचालन गरी निजी क्षेत्रले नेपालको विद्यालय शिक्षामा करिब २३ प्रतिशत विद्यार्थीहरुलाई सेवा प्रवाह गरिरहेको छ ।
वि.सं.२०६८ को जनगणनामा १५ वर्षमाथिको जनसंख्याको साक्षरता ५८ प्रतिशत रहेको थियो भने आ.व.०७५/७५ मा १५ देखि २४ वर्ष उमेर समूहको साक्षरता ८८.६ प्रतिशत पुगेको छ । हालसम्म ५१ जिल्लाहरु साक्षर जिल्ला घोषणा भइसकेका छन् । सरकारले वि.सं.२०७६ लाई “साक्षर नेपाल वर्ष” को रुपमा घोषणा गरेको छ ।
अनौपचारिक शिक्षा तथा आजीवन सिकाइको अवसर विस्तार गर्नका लागि २ हजार १ सय ५१ वटा सामुदायिक सिकाइ केन्द्रहरु स्थापना भई सञ्चालनमा आएका छन् । यसैगरी, उच्च शिक्षामा सहजै देखिने भर्नादर करिब १५ प्रतिशत पुगेको छ । नेपालमा ११ वटा विश्वविद्यालय र ६ वटा स्वास्थ्य विज्ञान सम्बन्धी प्रतिष्ठानहरु सञ्चालन भइरहेका छन् । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय र योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना हुने क्रममा छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत हालसम्म ४५ वटा बहु/प्राविधिक शिक्षालय, ३ सय ९७ वटा प्राविधिक शिक्षा प्रदायक सामुदायिक विद्यालय र ४ सय २९ वटा निजी लगानीका प्राविधिक शिक्षालय सञ्चालनमा रहेका छन् । त्यसैगरी, माध्यमिक शिक्षा (कक्षा ९–१२) का ४ सय ३४ वटा सार्वजनिक प्राविधिक तथा व्यावसायिक शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । अहिले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्रदायक संस्थाहरुको संख्या १ हजार ३ सय ५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *