१२३ स्थानीय तहका करिब ५ हजार शिक्षकको दरबन्दी मिलान

काठमाडौं/२६ मंसिर– देशभरका १ सय २३ स्थानीय तहबाट ४ हजार ८ सय ५२ दरबन्दी तथा राहत अनुदान कोटा अन्य स्थानीय तहमा हस्तान्तरण हुने भएका छन् । शिक्षा मन्त्रालयले शिक्षक दरबन्दी तथा राहत अनुदान कोटाको बाँडफाँड तथा पुनर्वितरण गरेसँगै बढी भएका शिक्षकलाई मिलान गर्दै अर्कोमा स्थानान्तरण गरिने छ ।
त्यस मध्ये १४ जिल्लाको ३ हजार ३ सय ५९ शिक्षक दरबन्दी तथा राहत अनुदान कोटा अन्य जिल्लाका स्थानीय तहमा हस्तान्तरण हुनेछ १५ जिल्लामा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा १ हजार ४ सय ९३ दरबन्दी तथा राहतमा कार्यरत शिक्षकको मिलान हुनेछ । यस्तै, १ सय ५ जनालाई एक प्रदेशबाट अर्को प्रदेशको स्थानीय तहमा हस्तान्तरण गरिने भएको छ ।
यसैगरी, हाल देशभर कायम रहेको साविकमा रहेको महिला परियोजनाको १ हजार २ सय ६५ दरबन्दी समेत गरी प्रावि तर्फ ८० हजार १ सय ७६, निमावि तर्फ १६ हजार २ सय ४४, मावि तर्फ १२ हजार ७ सय २५ र साविकको उमावि तर्फ २ हजार दरबन्दी भित्रै रहेर स्थानीय तहमा मिलान गरिने छ ।
प्रावि तर्फको राहत अनुदान कोटा २१ हजार ८ सय ७१, निमावि तर्फ ९ हजार ६ सय ९, मावि तर्फ ६ हजार ८ सय ९८ र साविकको उमावि तर्फ ४ हजार दरबन्दी स्थानीय तहगत रुपमा समायोजन गरिने भएको हो ।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले आगामी शैक्षिक सत्र शुरु हुनु अगाडि नै यो काम सम्पन्न गर्न स्थानीय तह तथा जिल्ला समन्वय समितिहरुलाई अनुरोध गरेका छन् । सम्बन्धित स्थानीय तहले दरबन्दी तथा राहत अनुदान कोटा स्थानीय तह भित्र एक विद्यालयबाट अर्को विद्यालयमा मिलान गर्ने छ ।
बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले मन्त्रिपरिषद्बाट दरबन्दी मिलानको निर्णय भएको सार्वजनिक गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *