आज उधौली, धान्य पूर्णिमा अनि योमरी पूर्णिमा पर्व मनाईंदै

काठमाडौं/२६ मंसिर– आज किराँत राईहरुको सबैभन्दा ठूलो चाड उधौली धुमधामका साथ मनाईंदैछ । पर्वत श्रृंखलाको लेकतिर बसोबास गर्ने किराँत समुदाय जाडोको याममा बेसी अथवा तलतिर झर्ने र न्यानो बढेसँगै लेकतिर लाग्छन् र अन्नबाली भित्राई खुसीयाली मनाउनुु यो चाडको सूचक हो । किराँतको मुुख्य चाडको रुपमा स्थापित यो पर्वलाई लिम्बुहरुले चासो तङनाम, किराँतले याख्खाहरुले चासुवा र किराँत सुनुवरहरुले फोलस्याँदर भन्ने गर्छन् । आज भित्राएको नयाँ अन्नवाली आफ्ना देवीदेवता, पितृलाई चढाएर न्वागी पुजा गरिन्छ । साकेला नाच उधौली पर्वको विशेष आकर्षण हो ।

यसैगरी नयाँ धान भित्राएको खुशीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा मनाउँदैछन् । नेवार समुदायको ठूलो चाडका रुपमा मनाइने यस चाडमा नयाँ धानबाट बनेको चामलको पिठाले योमरी बनाउने प्रचलन गरेको छ । चामलको पिठो, चाकु र तिलबाट योमरी बनाइन्छ भने कसैकसैले खुवाबाट पनि योमरी बनाउने गर्छन् । नेवारी समुदायमा आजको दिन गर्भवती चेलिबेटी काँहा गर्भमा रहेको बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरुको घरमा तिल र चाकु भरिएको योमरी सगुन पठाउने चलन रहेको पाइन्छ ।

त्यस्तै, आज धानको पनि विधिपूर्वक पूजाआजा गरी धान्य पूर्णिमा पर्व मनाईंदैछ । मंसिरमा धान भित्राएपछि शुल्क पूर्णिमामा धान, गणेश, कुल देवता, गोठ देवता, महालक्ष्मी लगायत देवताको पूजाआजा गरी नयाँ भित्राएको धान कुटेर चामल बनाई त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी, मालपुवा बनाएर चढाउने परम्परा रहेको छ । आज नवअन्नप्राशनका लागि राम्रो दिन समेत मानिन्छ । आजको दिन काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, चम्पादेवी लगायतका स्थानमा मेला समेत लाग्दछ ।

Related image

Leave a Reply

Your email address will not be published. Required fields are marked *